काठमाडौं । इरान युद्ध र होर्मुज जलमार्गमा जारी तनावका बीच विश्वका प्रमुख शक्ति राष्ट्रहरूबीचको मतभेद सतहमा आएको छ ।
एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना सहयोगी राष्ट्रमाथि दबाब बढाइरहेका छन् भने अर्कातर्फ जर्मनी, फ्रान्स र चीनले फरक–फरक अडान लिँदै यो संकट अमेरिकाका लागि थप चुनौतीपूर्ण बनाइदिएका छन् ।
ट्रम्पका प्रमुख मित्र राष्ट्रले होर्मुजमा आफ्ना युद्धपोत पठाउन अस्वीकार गरिदिएका छन् । नेटो राष्ट्रहरूको भूमिकाबारे जर्मनीले यसमा नेटोको कुनै भूमिका नरहेको स्पष्ट पारेको छ ।
सोमबार जर्मनीले होर्मुज जलमार्ग सुरक्षामा यूएईको पनि कुनै भूमिका नरहेको स्पष्ट पारेको छ । ब्रसेल्समा युरोपेली संघका विदेश मन्त्रीहरूको बैठकअघि जर्मन विदेशमन्त्री जोहान वाडेफुलले यस महत्वपूर्ण समुद्रीमार्गको जिम्मेवारी नेटोले सम्हालोस् भन्ने पक्षमा जर्मनी नरहेको बताएका छन् ।
यद्यपि, होर्मुज नाकाबन्दीका लागि केही जिम्मेवार व्यक्तिमाथि भने प्रतिबन्ध लगाउन सकिने उनले बताएका छन् । ट्रम्पले नाटोले सहयोग नगरेमा यसको भविष्य खराब हुन सक्ने धम्की दिँदै आएका छन् । सबैभन्दा पहिले इटली, अस्ट्रेलिया र जापानले आफ्ना जहाज होर्मुजमा नपठाउने घोषणा गरिसकेका छन् ।
हमला रोक्न इरानी राष्ट्रपतिलाई म्याक्रोंको आग्रह
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग फोनवार्ता गर्दै हमला रोक्न आग्रह गरका छन् । म्याक्रोंले इरानद्वारा क्षेत्रीय देशहरूमा प्रत्यक्ष वा प्रोक्सीमार्फत गरिने हमला अस्वीकार्य रहेको बताए ।
उनले अनियन्त्रित सैन्य बढोत्तरीले पूरै क्षेत्रलाई अराजकतामा धकेल्ने बताएका छन् । फ्रान्सले आफ्ना युद्धपोत पठाउन पहिले नै अस्वीकार गरिसकेको छ ।
चीनले के भन्यो ?
यसैबीच, चीनले पनि ट्रम्पको होर्मुज खुलाउन सहयोग गर्ने प्रस्तावमा समर्थन जनाएको छैन । यसका लागि चीनले सहयोग नगरेमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको प्रस्तावित शिखर वार्ता टार्न सक्ने संकेतसमेत ट्रम्पले दिएका थिए ।
विज्ञहरुका अनुसार, चीनमा ऊर्जा संकटको असर सीमित छ । किनकि, उसले वर्षौंदेखि तेल भण्डारण बढाउँदै आयातका स्रोतहरुमा विविधता ल्याएको छ । इरानले होर्मुजबाट ती ट्यांकरलाई मात्र जान दिने बताएको छ, जसले तेल व्यापारको भुक्तानी चिनियाँ मुद्रा युआनमा गर्छन् ।
ट्रम्पलाई साथ नदिने प्रमुख देशले के भने ?
जापानले होर्मुजमा नौसैनिक एस्कर्ट मिसन पठाउने कुनै योजना नभएको बताएको छ । यसैगरी, अस्ट्रेलियाले युद्धपोत पठाउन अस्वीकार गर्दै सीमित हवाई सहायता र रक्षा सहयोगमा मात्र जोड दिएको छ । बेलायतले पनि युद्धपोत नपठाएर ड्रोन र प्राविधिक सहायता मात्र सीमित राखेको छ ।
यस्तै, फ्रान्सले पनि अमेरिकी नेतृत्वको मिसनबाट दूरी बनाउँदै व्यापक युरोपेली वा रक्षात्मक मिसनको कुरा गरेको छ । जर्मनीले नेटोले होर्मुजको जिम्मेवारी नलिने र जर्मनीको सैन्य भूमिका रहनेमा शंका व्यक्त गरेको छ । दक्षिण कोरियाले पनि अहिलेसम्म युद्धपोत पठाउनेबारे कुनै प्रतिबद्धता जनाएको छैन । क्यानाडाका तर्फबाट पनि प्रधानमन्त्री कर्नीले आफ्ना युद्धपोत नपठाउने बताएका छन् ।
इटालीले आफू इरान–इजरायल युद्धमा नघुस्ने घोषणा गरेको छ भने स्विट्जरल्यान्डले युद्धपोत त के, आफ्नो हवाई क्षेत्रसमेत अमेरिकी सैन्य गतिविधिका लागि बन्द गरिदिएको छ । यसैगरी, स्पेनले इरानमाथि भएको अमेरिकी–इजरायली हमलाको निन्दा गर्दै इजरायली राजदूतलाई देश छाड्न भनेको छ ।
विश्वव्यापी तेल संकट र कूटनीतिक दबाब
इरानले होर्मुज मार्ग बन्द गर्नाले विश्वको करिब २० प्रतिशत तेल आपूर्ति प्रभावित भएको छ । यसले गर्दा सोमबार १६ मार्चमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १०५ डलर पुगेको छ ।
ट्रम्पको कमजोर हुँदै गएको स्थिति
विश्लेषकका अनुसार, इरान युद्ध लम्बिँदै जाँदा ट्रम्पले घरेलुस्तरमा इन्धनको मूल्य वृद्धि र मुद्रास्फीतिका कारण राजनीतिक विरोधको सामना गर्नु परिरहेको छ ।
यसबाहेक, अमेरिकी सर्वोच्च अदालतको हालैको फैसलाले उनको एकतर्फी ट्यारिफ लगाउने अधिकार सीमित गरिदिएपछि चीनसँगको व्यापार वार्तामा पनि उनको स्थिति कमजोर भएको छ ।