• चैत्र ३ २०८२, मंगलवार

समानुपातिक सांसद बन्ने माैका नपाएपछि प्रकाश सपुत फर्किए गीतसंगीतमै

चैत्र २ २०८२, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट संसद्को यात्रा तय गर्ने गायक प्रकाश सपूतको चाहना पूरा नहुने देखिएको छ । रास्वपाले समानुपातिक सांसदमा निर्वाचित गर्न ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ । उक्त सूचीमा प्रकाशको नाम समावेश छैन ।

आइतबार (चैत १) रास्वपाले समानुपातिक सांसदको नाम आयोगमा बुझाएको हो । प्रकाशको नाम नअटाउँदा अभिनेत्री रीमा विश्वकर्मालाई भने रास्वपाले सिफारिस गरेको छ । रीमा सांसद हुने पक्का हुँदा प्रकाशको सम्भावना सकिएको छ ।

प्रकाशलाई रास्वपाले दलित कोटाबाट समानुपातिकतर्फ उमेदवार बनाएको थियो । तर, प्रत्यक्षतर्फ विजयी भएका महिला सांसदको संख्या थोरै छ । यही कारण महिलाको कोटामा परिपूर्ति गर्नुपर्ने अवस्था हुँदा सूचीमा रहेका धेरै पुरुष उमेदवार सांसद हुन नसक्ने अवस्था आएको हो ।

सांसद बन्ने संकेत नदेखेपछि प्रकाशले तीन दिनअगाडि नै आफू सांगीतिक यात्रामा फर्किएको बताएका थिए । उनले लेखेका थिए, “चैते दसैँ मेलैमा…! बागलुङ समाजको निमन्त्रणामा यही मार्च ३१ तारिख पहिलोपटक आयरल्यान्ड आउँदै छु है ! समय मिलाउँदै गर्नु ! रमाइलो गरौँला ! दुःखसुख साटौँला ।”