• चैत्र १ २०८२, आईतवार

इराकस्थित अमेरिकी दूतावासमाथि मिसाइल हमला

फाल्गुन ३० २०८२, शनिबार

काठमाडौं । इराकका अधिकारीहरूका अनुसार राजधानी बगदादमा रहेको अमेरिकी दूतावासको हेलिप्याडमा एउटा मिसाइल खसेको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार मिसाइल दूतावास परिसरभित्र बनेको हेलिप्याडमा खसेको छ ।

इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरनजिकै रहेको सी–र्‍याम एयर डिफेन्स सिस्टमसँग सम्बन्धित एउटा युनिटलाई आज मिसाइलले निशाना बनाएको हो । अहिलेसम्म यस हमलाको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन ।

यद्यपि, इरान समर्थित सशस्त्र समूह इस्लामिक रेसिस्टेन्सले यसअघि पनि धेरैपटक इराकमा रहेका अमेरिकी ठेगानाहरू, सैन्य अखडाहरूलाई निशाना बनाउँदै आएका छन् ।

यो संगठन धेरै इरान समर्थित इराकी मिलिसिया समूहहरूको गठबन्धन हो । यी समूहहरूले इरानका पूर्वसर्वोच्च नेता अली खामेनीईको मृत्युको बदला लिने कसम समेत खाएका छन् ।

रिपोर्टका अनुसार शुक्रबार ‘इस्लामिक रेसिस्टेन्स इन इराक’ले एउटा बयान जारी गर्दै जसले अमेरिकी सैन्य वा गुप्तचर कर्मचारीहरूलाई समात्न वा निशाना बनाउन जानकारी दिनेलाई एक लाख डलर पुरस्कार दिने भनेको थियो ।

यूएईमा रहेका अमेरिकी अखडाहरूलाई निशाना बनाउनेछौँ : इरानी सेना

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले संयुक्त अरब इमिरेट्समा रहेका अमेरिकी अखडाहरूलाई अब निशाना बनाइने बताएको छ । यो भनाइ इरानको खार्ग टापुमा अमेरिकाले गरेको हमलापछि आएको हो ।

तस्निम न्युज एजेन्सीका अनुसार, रिभोलुसनरी गार्डले इरानसँग आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रको रक्षा गर्ने अधिकार रहेको बताएको छ । त्यसैले, उसले ती स्थानहरूलाई निशाना बनाउन सक्छ, जहाँबाट अमेरिकी मिसाइल हमलाहरू गरिएका छन् ।

यूएईका केही सहरहरूमा रहेका बन्दरगाह, डक र त्यहाँ तैनाथ अमेरिकी सैनिकका ठेगानाहरू सम्भावित लक्ष्य हुन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

रिभोलुसनरी गार्डले कुनै पनि सम्भावित हमलामा उनीहरूलाई क्षति नपुगोस् भनेर यूएईका बासिन्दाहरूलाई बन्दरगाह, डक र अमेरिकी सैन्य क्षेत्र नजिकका इलाकाहरू खाली गर्न अपिल गरेको छ । अलजजिरा