• चैत्र १ २०८२, आईतवार

बाटो बिराएको नेपाली वामपन्थ

फाल्गुन ३० २०८२, शनिबार

फागुन २१ को निर्वाचनपछि नेपालको वामपन्थ विरासतमाथि गम्भीर प्रश्न उठेको छ । अबका दिनमा वामपन्थ संसदको ‘मार्जिन कर्नर’ मा उपस्थित हुनेछ । यो भनेको के नेपाली वामपन्थ संसदीय सङ्ग्रहालयमा थान्को लाग्दै गएको हो त ?
अबका दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाध रूपमा आवधिक शासनमा रहने र नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षमा रहने भएपछि वामपन्थबारे गम्भीर प्रश्न उठेको हो ।
एकताका छिमेकी देश भारतको पश्चिम बङ्गालमा एकछत्र राज गरिरहेको वामपन्थ अहिले पत्तासाफ भएको छ । त्यहाँ वास्तविक संसदीय पार्टीहरू अस्तित्वमा आएका छन् ।

नेपालमा पनि यसअघि लगभग दुईतिहाई मत भएको वामपन्थ अबका दिनमा ‘स्विप आउट’ हुँदै गइरहेको छ । रास्वपाको पक्षमा देखिएको सुनामीयुक्त जनसमर्थनले पनि त्यही कुरा जनाइरहेको छ ।

यसरी वामपन्थी पत्तासाफ हुनुमा के कारणले काम गरेको होला भनेर अहिले खोजीनिति हुनु अस्वाभाविक होइन । किनकि वामपन्थ विश्वमा एक सिङ्गो वैकल्पिक सत्ता र प्रणाली हो । यसलाई पुँजीवादी शासन प्रणालीको विकल्पका रूपमा लिइन्छ पनि ।
नेपालको राजनीतिक सन्दर्भमा पनि नेपाली वामपन्थले वैकल्पिक सत्ताको दुहाइ नदिएको भने होइन । तर अभ्यासमा जाँदै गर्दा यसले संसदीय बाटो नै अङ्गीकार गर्न पुगेपछि संसदीय व्यवस्थाको हिस्सा बन्न पुग्यो ।

जनताले यो कुराको राम्रो गरी छनक पाए । त्यसपछि नबदलिएको व्यवस्थाममा उक्त व्यवस्थाका सापेक्ष उत्तम पृष्ठपोषक शक्ति र पार्टीलाई नै निर्वाचनमार्फत् छनौट गरे ।
प्रतिस्पर्धाका हिसाबले प्रादुर्भाव कालदेखि नै वामपन्थी आन्दोलन हरबखत प्रजातान्त्रिक वा लोकतान्त्रिक शक्तिभन्दा श्रेष्ठ हुन सकेन । संसदीय प्रतिस्पर्धामा सापेक्ष श्रेष्ठता पनि हासिल गर्न नसक्ने अनि नयाँ वैकल्पिक व्यववस्था पनि दिन नसक्ने भएपछि ‘न त हाँसको न त बकुल्लाको चाल’ हुनु स्वभाविक नै थियो ।

बेलाबखत नेपाली जनमानसले विकल्पका रूपमा साथ दिने गरे पनि योग्य र सक्षम नेतृत्व कहिल्यै पनि पाउन सकेनन् । वामपन्थी आन्दोलन जहिले पनि लर्खराउने र संसदीय भडखालोमा लड्न पुग्ने नै गरिरह्यो ।

विजातीय वर्गको सोचका कारण संसदीय व्यवस्थाको हिमायति पनि हुन नसक्ने र आफ्नै सर्वहारा वर्गीय सोच र सामर्थ्यमा उभिन र गतिलिन पनि नसक्ने भएपछि वामपन्थको हालत यसो हुनु अन्यथा पनि होइन ।

अर्को महत्वपूर्ण कुरा, वामपन्थी आन्दोलन कहिल्यै एकजुट हुन सकेन । फुट, विभाजन र आन्तरिक कलह यसको स्वत्व ननै हुन् कि भन्ने झैं अवस्थामा हरदम देखापरिरहे । यसलले पनि जनतामा अविश्वास र विभाजन ल्याइरह्यो ।

बलाबखतमा संसदीय व्यवस्थाको अगुवाइ गर्ने मौका पाए पनि संसदीय पार्टी र तिनले खडा गरेको परिपाटीभन्दा सिन्कोभर यताउति सर्न र नयाँपन आउने गरी केही पनि काम गर्न पनि सकेनन् । सिर्जनशीलता र नयाँ वा भिन्नपन वामपन्थी दीर्घामा पनि देखा परेन ।

नेता र पार्टी नेतृत्वमा दूरदर्शिता देखिएन । बरू सम्वोत्मक अनुराग र त्यसका अभिव्यक्ति मात्र युद्ध र आन्दोलनहरूमा देखा परे । यसले नयाँ पुस्थामा वामपन्थप्रतिको विश्वास र समर्थनमा ह्‌वात्तै उतार ल्याइदियो ।

अवस्था परिवर्तन माात्रका कुरा पनि वामपन्थका लाागि अब हावादारी भाषणममा सिमित हुन पुगे । वामपन्थी पार्टी यसका नेताहरूका लागि आजीवन रोजगारी, कमाइखाने भाँडो र स्थायी जागिर हुन गयो । सत्ता र भत्ताको शान जनताले स्पष्ट अनुभूत गरे । वर्ग र वर्गीयताका कुरा अब ढोंगमा परिणत हुन गयो ।
वास्तवमा वामपन्थी भनेको विचार, आचार र व्यवहारमा सादगिपन हो । जनताको जीवनस्तर र वामपन्थी नेताको जीवनस्तर रैती र राजाको जस्तो आकाश पातालको फरक हुनु आफैमा स्वीकार्य हुन सक्दैन ।

त्यसमाथि संस्कार र व्यवहारमा निरन्तर आइरहेको स्खलन र संसदीय नेता तथा पार्टीहरूले अबलम्बन गर्दै आइरहेको आचार विचारभन्दा कुनै पनि मानेमा भिन्नता नदेखिएपछि नयाँ पुस्ताले साथ छाडिदिनु आाश्चर्यको कुरा होइन ।
भ्रम कहाँनेर हुन गयो भने अघिल्लो पुस्ता स्वयम् आान्दोलनमा सहभागी भएकाले नेता तथा तिनका आचरण निवर्गीय हुँदा पनि साथ छाडेनन् । जसोतसो साथ दिइ नै रहे । ती पुस्ताका कार्यकर्ता, समर्थक र शुभचिन्तकले आलोचना पनि गरि नै रहे ।

तर नयाँ पुस्ता यस कुरामा सहमत हुन सकेनन् । नयाँ पुस्ताको मत निर्णायक हुने अवस्थामा आइपुग्यो । परिणामतः फागुन २१ को हालत सतहमा घटित हुन गयो । बाटो विराएको वामपन्थले आजका दिनमा यही कटु यथार्थता भोग्न विवश भएको छ ।
संसदमा अबका दिनमा प्रजातान्त्रिक लोकतान्त्रिक शक्ति र पार्टीहरू नै सत्ता र प्रतिपक्षमा रहने अवस्थालाई नकार्न सकिदैन । जस्तो आजका दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा र नेपाली काङ्ग्रेस प्रतिपक्षमा रहेको छ ।

वामपन्थी आदोलन र शक्तिको उज्यालो भविष्यका लागि नयाँ लहर आउनु जरूरी हुन गएको छ । होइन भने विचार र ढङ्ग दुवै निमिटयान्न हुँदाका बखत समय र परिस्थितिले नेपाली वामपन्थलाई पनि संसदीय सङ्ग्रहालयको एक कुनामा कार्ल मार्क्सले भने झैं ‘चर्खा र बञ्चरोसँगै’ थन्किन र सङ्ग्रहित अवशेषका रूपमा रहन स्वाभाविक बनाइदिने निश्चित छ ।