काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेसकियनले अमेरिका र इजरायलसँग भइरहेको युद्ध अन्त्य गर्न तीन महत्वपूर्ण सर्तहरू राखेका छन् ।
पेजेसकियनले सोसल मिडिया प्लेटफर्म एक्समा लेख्दै युद्धमा भएको क्षतिपूर्ति दिइएमा, भविष्यमा कुनै पनि आक्रमणविरुद्ध ठोस अन्तर्राष्ट्रिय ग्यारेन्टी दिइएमा र इरानका वैध अधिकारहरूलाई मान्यता दिइएमा मात्र द्वन्द्व समाप्त हुनसक्ने बताएका छन् ।
“रुस र पाकिस्तानका नेताहरूसँगको कुराकानीमा मैले यस क्षेत्रमा शान्ति कायम राख्न इरानको प्रतिबद्धता पुनः पक्का गरेको छु,” उनले भनेका छन्, “यो युद्ध, जुन यहुदी शासन र अमेरिकाको कारणले सुरु भएको हो, इरानका कानुनी अधिकारहरूलाई मान्यता दिइएमा, हर्जाना दिइएमा र भविष्यमा आक्रमणबाट बचाउनका लागि अन्तर्राष्ट्रिय ग्यारेन्टी हुँदा मात्र रोक्न सकिन्छ ।”
अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव अहिले सम्पूर्ण विश्व अर्थव्यवस्थामा देखिन थालेको छ । तेल र ग्यासका मूल्यहरू तीव्र रूपमा बढिरहेका छन् ।
वैश्विक बजारहरूमा मुद्रास्फीति बढ्ने आशंका बढ्ने आंशका गरिएको छ । स्ट्रेट अफ होर्मुजमा तनाव र प्रतिबन्धहरूका कारण तेल ट्यांकरहरूको आवतजावत प्रभावित भएको छ, जसले ऊर्जा आपूर्तिमा दबाब बढाएको छ ।
युद्ध दोस्रो हप्तामा प्रवेश गरिसके पनि अहिलेसम्म तनाव कम हुने कुनै संकेत देखिएका छैन । इरानले आफू खाडीक्षेत्रमा शान्ति चाहे पनि यसका लागि जिम्मेवार देशहरूलाई जवाफदेही ठहराउन आवश्यक रहेको स्पष्ट पारेको छ ।
यो द्वन्द्व अमेरिका र इजरयलले इरानविरुद्ध २८ फेब्रुअरीमा संयुक्त आक्रमण गरेका थिए । यसको जवाफमा इरानले पनि इजरायलका धेरै सहरहरूमा ड्रोन र मिसाइल आक्रमण गर्नुका साथै जोर्डन, इराक र खाडीका देशहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई पनि निशाना बनायो ।
यी घटनाहरूपछि सम्पूर्ण मध्यपूर्वमा तनाव तीव्र रूपमा बढेको छ ।