• फाल्गुन २७ २०८२, बुधबार

‘ए विचरी त, छोरी पो रैछे……!’

फाल्गुन २७ २०८२, बुधबार

उनी जन्मँदा
घरमा लड्डु फुटेन,
ढोका अगाडि बत्ती बलेन,
बरु कसैले बिस्तारै भन्यो—
“छोरी पो रहिछ…..!”
त्यही वाक्य
उसको पहिलो परिचय बन्यो,
र पहिलो चोट पनि ।

उसलाई
सानैदेखि सिकाइयो—
हिँड्दा आवाज नआओस्,
हाँस्दा धेरै नहाँसोस्,
बोल्दा सीमाभित्र बोलोस्,
र सपनामा पनि
अरूको इज्जत नटुटोस् ।

दाईले नयाँ कापी पाउँथ्यो,
उसले दाईको पुरानो इतिहास बोक्थी ।
दाई भविष्य ठानिन्थ्यो,
ऊ त समाजले बनाएको
अनन्त ‘तयारी’ मात्र ।

ऊ आमासँगै हुर्किइ,
भान्साको धुवाँमा आँखा डढाउँदै,
पानीका गाग्रीमा
आफ्नो उमेर तौलिँदै,
र चुल्होको आगोमा
सपना उमाल्दै ।

कसैले सोधेन—
“तँ के बन्न चाहन्छेस् ?”
सबैले भने—
“यसरी बस, उसरी हाँस,
यसरी सह, उसरी झुक ।”

उसको शरीर
समाजको सम्पत्ति बनाइयो,
उसको हाँसो
इज्जतको मापन बनाइयो,
र उसको मौनता
चरित्रको प्रमाण ।

ऊ हुर्किंदै जाँदा
उसको संसार सानो बनाइयो,
तर अपेक्षा
आकाशभन्दा ठूलो ।

छोरी हुँदा
इज्जतको जिम्मा,
बुहारी हुँदा
घरको बोझ,
आमा हुँदा
त्यागको मूर्ति,
र नारी हुँदा
सधै परीक्षा ।

रात परेपछि
उसको बाटो छोट्याइयो,
लुगा नापियो,
हाँसो तौलियो,
र दोष
पहिले नै उसकै झोलामा हालियो ।

कसैले उसको पीडा छोएर सोधेन,
“तिमी ठीक छौ ?”
सबैले औंला ठड्याएर भने—
“तिमी किन यस्तो ?”
कतिपय नारी
चुल्होमै जले,
कतिपय नारी
चुप्पीमै मरे,
कतिपय नारी
आँखाभित्रै बगिन्,
र कतिपय
समाचारको शीर्षक बनिन् ।

तर
हरेक नारी
पीडामात्र होइन ।

ऊ आमा हो—
जो भोकै बसेर
सन्तानलाई पेटभरि खुवाउँछे ।
ऊ छोरी हो—
जो आफ्नै सपना बेचेर
बुवाआमाको निद्रा किन्छे ।

ऊ बहिनी हो—
जो आफै डराएर पनि
दाईलाई साहस दिन्छे ।
ऊ नारी हो—
जो हजार चोटपछि पनि
भोलि बाँच्ने आँट गर्छे ।
आज
ऊ प्रश्न गर्न थालेकी छे ।
“मेरो शरीर मेरो हो कि समाजको ?”
“मेरो जीवन मेरो हो कि परम्पराको ?”
“मेरो मौनता गुण हो कि डर ?”
ऊ अब
कवितामात्र होइन,
आन्दोलन बन्दै छे ।
ऊ अब
सहनशीलताको नाममा
सहनैपर्ने बाध्यता तोड्दै छे ।

ऊ कलम बोक्दै छे,
माइक समात्दै छे,
हल सम्हाल्दै छे,
खेत जोत्दै छे,
र भविष्य लेख्दै छे ।

ऊ अझै पनि
थाक्छे, रुन्छे,
भत्किन्छे ।
तर अब
टुक्रा आफै जोड्छे,
र ऐनामा हेरेर भन्छे—
“म कमजोर छैन,
म त इतिहासले थिचिएको शक्ति हुँ ।”

एक दिन
नारी दिवस मात्र होइन,
नारी जीवन नै
उत्सव हुनेछ ।
जहाँ छोरी जन्मिँदा
घर उज्यालो हुनेछ,
जहाँ नारी हाँस्दा
शंका होइन, सम्मान हुनेछ,
जहाँ उसको मौनता
कमजोरी होइन,
र उसको आवाज
विद्रोह होइन—
अधिकार हुनेछ ।

त्यो दिन
नारी
केवल सहने पात्र होइन,
समाज बदल्ने
मुख्य पात्र हुनेछ ।
किनकि ऊ
देशभन्दा पुरानो पीडा बोकेकी छे,
तर भविष्यभन्दा ठूलो
आशा पनि ऊ नै हो ।