काठमाडौं । अमेरिका र इजरायलले गत साता इरानका तेल डिपोहरूमा गरेको हवाई आक्रमणपछि केही क्षेत्रहरूमा कालो रंगको वर्षा भइरहेको समाचार सार्वजनिक भएको छ ।
सञ्चारमाध्यमका रिपोर्टहरूमा यसलाई ‘एसिड रेन’ (अम्लीय वर्षा) भनिएको छ । स्थानीयका अनुसार, वर्षाको पानी कालो देखिएको छ । त्यसमा तेलको जस्तो पत्र देखिएको र भवन र सवारीसाधनहरूमा जमिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
केही मानिसहरूले टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या भएको गुनासो गरेका बताइएको छ ।
इरानको ‘रेड क्रिसेन्ट सोसाइटी’ले आक्रमणपछि हुने वर्षा अत्यन्तै खतरनाक र अम्लीय हुन सक्ने भन्दै चेतावनी दिएको छ ।
कालो वर्षा किन भइरहेको छ ?
वायुमण्डलबाट प्रदूषण हटाउने एक प्रमुख माध्यम वर्षा हो । हावामा ठूलो मात्रामा रहेका प्रदूषकहरू वर्षासँगै जमिनमा आउँछन् । तेल डिपोहरूमा भएको आक्रमणपछि वातावरणमा उच्च मात्रामा धुवाँ र प्रदूषकहरू फैलिएका हुन सक्छन् । जसका कारण वर्षा हुँदा त्यस्ता प्रदूषकहरू जमिनमा आउँछन् । जसले गर्दा कालो वर्षाको स्थिति बनिरहेको छ ।
विज्ञहरूका अनुसार, उक्त वर्षामा हाइड्रोकार्बन, सूक्ष्म कणहरू र पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बनजस्ता खतरनाक पदार्थहरू हुन सक्छन् । ‘पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन’ यस्ता रसायनले क्यान्सर बढाउने जोखिम रहने बताइन्छ ।
तेल डिपोहरूमा लागेको आगोबाट सल्फरडाइअक्साइड र नाइट्रोजनडाइअक्साइड जस्ता ग्यासहरू पनि ठूलो मात्रामा निस्कन्छन् । यी ग्यासहरूले हावामा रासायनिक प्रतिक्रिया गरेर सल्फ्युरिक एसिड र नाइट्रिक एसिड बनाउँछन् । यी एसिडहरू वर्षाको पानीमा घुलेपछि त्यही वर्षा ‘एसिड रेन’ वा अम्लीय वर्षा हुन जान्छ ।