काठमाडौँ l पाँच दशक लामो राजनीतिक विरासत, पूर्वउपप्रधानमन्त्रीको ओहोदा र राष्ट्रियताको सवालमा सधैँ खरो उत्रने छविले चिनिएका नेता भीम रावलको संसद् यात्रा रोकिएको छ ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत अछाम–१ को मतपरिणाम यस पटक उनको पक्षमा देखिएन । झिनो मतले उनी पराजित भए ।
शनिबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रावल नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर स्वाँरसँग ५२६ मतको अन्तरले पराजित भए ।
पराजित भएलगत्तै रावलले दिएको प्रतिक्रियाले भने उनी चुनाव हारे पनि मनोबलमा रत्तिभर नडगमगाएको सन्देश दिएको छ । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि रावलले सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत पराजयलाई सहजतापूर्वक स्वीकार गरेका छन् ।
आफूले प्राप्त गरेको १० हजार २२३ मतलाई अंकगणित मात्र नभई जनताको अमूल्य सम्पत्तिको रूपमा उनले व्याख्या गरे ।
‘अछामी जनताले देखाएको गहिरो माया र समर्थन मेरो हृदयमा अटल रूपमा रहेको छ,’ रावलले भनेका छन्, ‘यही समर्थनको परिणामस्वरूप निर्वाचनको अन्तिम क्षणमा तपाईंहरूको अमूल्य १० हजार २२३ मत प्राप्त गरेको छु । ५२६ मतले म तपाईंहरूको आवाजलाई संसदमा औपचारिक रूपमा प्रस्तुत गर्न नसक्ने भएको छु ।’
रावलले प्राविधिक रूपमा चुनाव हारे पनि आफ्नो राजनीतिक एजेन्डा नहारेको दाबी गरे । ‘मैले यो देशको हित र अछामी जनताको भावना अनुरूप नीति निर्माण तहमा अगाडि बढ्ने जुन सङ्कल्प गरेको थिएँ, त्यो सङ्कल्पबाट म रत्तिभर पनि विचलित छैन,’ उनले भने ।