काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका ४ मन्त्रीहरूले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा उत्रिएकाहरुको मतगणना जारी छ ।
ऊर्जा मन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदिश खरेल, शिक्षामन्त्री महावीर पुन र खेलकुद मन्त्री बब्लु गुप्ता चुनावी मैदानमा उत्रिएका हुन् ।
चारजनामध्ये सञ्चारमन्त्री जगदीश खरेल र खेलकुद मन्त्री बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन् । ऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो पार्टीबाट मैदानमा छन् भने शिक्षामन्त्री महावीर पुन स्वतन्त्र उम्मेदवारका तर्फबाट मैदानमा उत्रिएका हुन् ।
प्रारम्भिक मतगणनाले सिरहा-१ मा रास्वपाका उम्मेदवार तथा पुर्व खेलकुद तथा युवा मन्त्री बब्लु गुप्ता १५ सय ९९ मतसहित स्पष्ट अग्रता लिन सफल भएका छन् ।
यस्तै उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामसुन्दर चौधरीले ३ सय ५६ र एमालेका रामाशंकर यादवले १५८ मत पाएका छन् ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार तथा पूर्वमन्त्री महावीर पुनले फराकिलो अग्रता निकालेका छन् । हालसम्म आठ हजार ९७५ मत गणना हुँदा पुनले तीन हजार ७४० मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी देखिएका नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले एक हजार ५२८ मत मात्रै ल्याउँदा एक हजार ३२० मतसहित नेपाली कम्युनिस्ट पार्टीका अर्जुनकुमार थापा तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले एक हजार २८८ मत मात्रै पाएका छन् ।
यता लामो समय कांग्रेसनिकट्स्थ रहेर पनि सरकार छोडेर रास्वपा उम्मेदवार बनेका सञ्चार तथा सूचना मन्त्री खरेललाई ललितपुर-२ का मतदाताले भारी मत दिएका छन्।
उनले ३ हजार १९९ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ४९३ मत पाएका छन् । नेकपा एमालेका प्रेमबहादुर महर्जन ४०७ मतसहित तेस्रो स्थानमा छन् । प्रारम्भिक नतिजाले खरेलको जिततर्फ बलियो संकेत गरेको देखिन्छ ।
काठमाडौं-३ मा भने पूर्वऊर्जामन्त्री घिसिङलाई पछि पार्दै रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् ।
पाण्डे १८७५७ मत ल्याएर विजयी भएका छन् भने घिसिङले १११७१ मत ल्याएका थिए