वसन्त ऋतुको आगमनसँगै प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाडमध्ये एक होली मनाइन्छ । “रङहरूको पर्व” भनेर यो पर्वलाई असत्यमाथि सत्यको विजय र आपसी प्रेम–सद्भावको रूपमा मनाइने गरिन्छ ।
होलीका दिन मानिसहरू अबीर, लोला तथा विभिन्न रङहरू एकअर्कालाई लगाएर खुशी साटासाट गर्छन्। पुराना रिस–राग बिर्सेर मित्रता सुदृढ गर्ने अवसरका रूपमा पनि यस पर्वलाई लिइन्छ। गाउँ–सहर जहाँसुकै हाँसो, गीत, नृत्य र रमाइलो वातावरण देख्न पाइन्छ।
होलीले जात, वर्ग, उमेर र लिंगको भेदभाव हटाउँदै सबैलाई एउटै रंगमा रंगाउने सन्देश दिन्छ। यो पर्वले सहिष्णुता, मेलमिलाप र सद्भावको भावना विकास गर्छ। रङहरूको पर्व होली केवल रमाइलो मात्र होइन, सकारात्मक सोच र सामाजिक एकताको प्रतीक पनि हो।
विशेषगरी नेपाल र भारतमा धुमधामका साथ मनाइने होली रंग, उमंग र भाइचारा सुदृढ गर्ने पर्व हो। तर असावधानीले यस पर्वको रमाइलो दुखद घटनामा परिणत हुन सक्छ। त्यसैले “सुरक्षित होली, सभ्य होली” भन्ने सन्देशका साथ स्वास्थ्य, वातावरण र सामाजिक मर्यादालाई ध्यानमा राख्दै होली मनाऔँ।