काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनीहरूबिच भेटघाट भएको हो ।
भेटवार्तामा नेपाल र चीन बिचको द्विपक्षीय सम्बन्धका विविध आयाम र आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा दुई देश बिचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने र विद्यमान सहयोगका क्षेत्रहरूलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री कार्की र राजदूत माओमिङबिच नेपालमा सञ्चालित विकास आयोजनाहरू, आर्थिक सहकार्य र दुई देशबिचको साझा चासोका मामिलामा विचार आदान प्रदान भएको मन्त्रालयले जनाएको छ ।
भेटमा चिनियाँ राजदूत झाङले प्रधानमन्त्री कार्कीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको विकास र स्थिरतामा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत जनाएको बताइएको छ ।
भेटमा दुवै पक्षले नेपाल र चीनबिचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा नयाँ उचाइमा पुर्याउने सङ्कल्प समेत व्यक्त गरेका छन् ।
फागुन १ गते नेपाल आएका नवनियुक्त राजदूत झाङले आफ्नो कार्यभार सम्हालिसकेका छन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेललाई ओहदाको प्रमाणपत्र बुझाएर शिष्टाचार भेटघाट गर्न लागेका हुन् । बिहीबार उनले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।