अहिले वैश्विक तनावको सीमा कहाँ सारिने हो भन्नेमा सिङ्गो मानव जगतको चिन्ता बढ्दो छ । अमेरिकासहित युरोपीय देशले विश्व तनावको यो सीमारेखा एशिया महादेश भित्रसम्म धकेल्न चाहन्छन् ।
तर एशियाका महाशक्तिहरू तनावको यो सीमारेखा युरोपतिरै फिर्ता पठाउन चाहिरहेका छन् । यसले महाशक्तिका बीचमा अहिले धकेलाधकेलको अवस्था सिर्जना गराइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथि हमला गरिने हालैका अभिव्यक्ति यही तानातान र धकेलाधकेलको चित्कार हो । पहिलो विश्वयुद्ध खेपेको युरोप विश्वयुद्धको पीडा र भार कति दर्दनाक र भयाबह हुन्छ भन्ने आफैले भोगिसकेको छ ।
त्यसैले त दोस्रो विश्वयुद्ध अमेरिका र युरोप मिलेर एशिया महादेशतिर धकेलिदिएका थिए । तात्कालीन सोभियत रूस एक्लैले लगभग पूरै बोझ बोक्नु र झेल्नुपरेको थियो । प्रजातान्त्रिक शक्तिभन्दा समाजवादी कम्युनिष्ट शक्ति मुख्य दुश्मन भएको भन्दै हिटलरका सेनालाई सोभियत लालसेनामाथि जाइलाग्न उस्काएका थिए ।
परिणामतः दोस्रो विश्वयुद्ध मूलतः जर्मनीका नाजी शासक हिटलरको फौज र सोभियत रूसका स्टालिनको नेतृत्वमा रहेको लालसेना बीच हुन गएको थियो । दोश्रो विश्वयुद्ध अन्त्यको श्रेय पनि तात्कालिन रूसी शासक स्टालिनको हातमा परेको थियो । तर अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमाथि परमाणु बम खसालेर दोस्रो विश्वयुद्धको अन्त्य गराएको जिकिर गरिरहेको थियो ।
अहिले यही पारमाणविक हतियार निर्माण गरिरहेको भनेर अमेरिकाले एशियाली देश इरानमाथि हमला गर्ने बहनाबाजी बनाउँदै यसका युद्धक पानीजहाज अरब सागरतिर पठाइसकेको छ । अरब सागर महादेशीय भूभागका हिसाबले एशिया महादेश हो ।
हाल अरब सागरमा तैनाथी गरिँदै गरेका अमेरिकी सेना, युद्धक पानीजहाज तथा आधुनिक बन्दोबस्तीका सामान तेस्रो विश्वयुद्धको झल्को दिने तयारीका साथ भइरहेको छ । सुरूका दिनमा युक्रेनमाथि हमला गर्न रसियाको जुन युद्ध तयारी र परिचालनको दृश्य देखिन्थ्यो, सोही परिमाणमा आज इरान हमलाका लागि अमेरिकाको तयारी देखिन्छ ।
यस्तो सङ्गीन अवस्थाका बीच रूस तथा चीनका युद्धपोत इरानको अब्बास बन्दरगाहमा संयुक्त सैन्य अभ्यासका लागि जुटिरहेका छन् । यसलाई ब्रिक्स देशका गठबन्धनको सामूहिक सामुद्रिक सैन्य अभ्यास भनी सहभागी देशले बताएका छन् ।
कतै अमेरिका एशिया दहनका लागि अरब सागरभित्र घुस्न लागेको त होइन भन्ने आशङ्काले गहिरो घर गरेपछि एशियाली शक्ति राष्ट्रहरू एकजुट हुन थालिसकेका छन् । तर यो सामुद्रिक सैन्य अभ्यासलाई मित्रराष्ट्र बीचमा नियमित हुने गरेको संयुक्त सैन्य अभ्यासका रूपमा अभिव्यक्त गरिएको छ ।
राजनीतिक विश्लेषकहरू यो अनुमानमा पुगेका छन् कि अब तेस्रो विश्व अनिवार्य झैं हुन गएको छ । तर यो युद्ध कुन भूमिमा लड्ने भनी तय हुन बाँकी छ । एशियाली देशले युरोप वा अमेरिकी भूमिमा यो युद्ध होओस् भन्ने चाहेको देखिन्छ भने अमेरिकी तथा युरोपीय देशहरूले एशियाली भूमिमा यो युद्ध जबर्जस्त थोपर्न प्रयास जारी राखेको सहजै अनुभूत हुन्छ ।
अहिले रसियाले युरोपीय भूमिमा अघि बढाएको युक्रेन युद्धको मोडलसँगै अमेरिकाले इरान युद्धको अर्को मोडल खडा गर्न चाहेको देखिन्छ ।
भेनेजुएलामाथिको अमेरिकी कमाण्डो अट्याक र राष्ट्रपति मादुरोको सैन्य अपहरणलाई भने अमेरिकी महादेशमा वासिङ्गटनको दाादागिरीको निरन्तरता देखाउन गरिएको सैन्य तथा नवऔपनिवेशिक हर्कतका रूपमा लिइएको देखिन्छ ।
हाल विश्वमा महाशक्ति राष्ट्रहरूले महायुद्धको सीमा र भूमिको खोजी गरिरहेको सर्वसााधरणलाई पनि सामान्य ज्ञानजस्तै बनिसकेको छ ।