काठमाडौं । भारतीय औषधि नियामक निकायले त्यहाँका करिब ९० प्रतिशत कफ सिरप निर्माताहरूको जाँच गरेको छ । उक्त जाँचका क्रममा धेरै मामिलाहरूमा गम्भीर कमजोरी र लापरबाहीहरू बाहिर आएको भारतको औषधि नियामक निकायका प्रमुखले बताएका छन् ।
मुम्बईमा ११औँ ग्लोबल फर्मास्युटिकल्स क्वालिटी सम्मेलनलाई सम्बोधन गर्दै भारतका ड्रग्स कन्ट्रोलर जनरल राजीव रघुवंशीले भने, “हामीले गम्भीर अवज्ञाका मामिलाहरूमा कडा कारबाही गर्यौँ । उल्लेख्य संख्यामा कफ सिरप उत्पादन (म्यान्युफ्याक्चरिङ) बन्द गरिनेछ भन्ने हामीलाई विश्वास छ ।”
कुनै समयसीमाको उल्लेख नगरी उनले कफ सिरप निर्माणसँग सम्बन्धित कमजोरीहरूलाई सुधार गरिने बताए ।
रघुवंशीका अनुसार, नियामकले करिब ११ सय कफ सिरप निर्माताहरूको जाँच गरेको थियो । यस अवधिमा निर्माण प्रक्रियामा त्रुटिहरू, कच्चा पदार्थको जाँच गर्नमा असफलता र गलत तरिकाले निर्माण वा प्रोसेसिङ गरिएको फेला परेको हो ।
नियामक अधिकारीहरूका अनुसार, यी बाहेक १२ सय ५० अन्य औषधि निर्माताहरूकोमा पनि जाँच गरिएको थियो । यद्यपि, यस पूरा प्रक्रियामा कुन–कुन निर्माण कम्पनीहरू सामेल थिए वा कति निर्माताहरूले नियम तोडेको पाइयो भन्ने जानकारी दिइएको छैन ।
अक्टोबर २०२५ मा ‘डाइएथिलिन ग्लाइकोल’बाट दूषित कफ सिरप ‘कोल्ड्रिफ’का कारण भारतमा २४ बालबालिकाको मृत्यु भएको थियो । उक्त घटनापछि जाँच सुरु गरिएको थियो । ‘कोल्ड्रिफ’, तमिलनाडुस्थित श्रीसन फर्मास्युटिकल्स नामक कम्पनीले बनाउने गर्दथ्यो ।
भारतको औषधि उद्योग करिब ४२ अर्ब डलरको छ । साना निर्माताहरूको बाहुल्यता रहेको यस उद्योगमा विगत केही वर्षदेखि गुणस्तरलाई लिएर गम्भीर प्रश्नहरू उठिरहेका छन् । सन् २०२२ देखि अहिलेसम्म मध्य एसिया र अफ्रिकामा भारतका खराब औषधिका कारण १४० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ । रोयटर्स