• फाल्गुन २३ २०८२, शनिबार

नयाँ संसद भवनमा आगामी संसद अधिवेशन चलाउने तयारी

फाल्गुन ८ २०८२, शुक्रबार

काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिएका छन्। भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उनले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिएका हुन् ।

अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षा अनुसार नभएको उल्लेख गर्दै निर्माणको तिब्रता नदेखिएको स्पष्ट पारे । यद्यपि, पछिल्लो समय केही प्रगति भएको उनको भनाइ छ ।

उनले सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ धेरै पटक निर्देशन दिइसकेको बताए । उनले केही दिन अघि मात्रै सहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको जानकारी दिए ।

अध्यक्ष दाहालका अनुसार सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार हुनुपर्ने छ ।
निर्वाचन पछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको उनकाे भनाइ छ ।

उनले भने, ‘हामीलाई जुन तरिकाले जुन स्तरबाट यो बन्नुपर्‍थ्याे, त्यो स्तरबाट अझै स्पिड आइसकेको छैन । किनभने अब करिब सदन चल्ने कुरा त निधो नै भइसक्यो । अब दुई-चार दिन तलमाथि होला नत्र भने अब सदन चल्ने स्थितिलाई इलेक्सन भएपछिको स्थिति । अब त्यो सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ हामीले पहिले देख्न धेरै पटक निर्देशन दिइयो । अब अहिले लास्ट पटक आएर दिएको निर्देशन अनुसार अलिकति काममा प्रगति भएको त पाइएकै छ । उहाँहरूसँग अहिले कुरा गर्दाखेरि पनि हामी दिन्छौँ भनेको बेलामा हामी दिन्छौँ भन्ने खालको कुरा प्रतिबद्धता जाहेर गर्नुभएको छ ।”

नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै अध्यक्ष दाहालले फिनिसिङ र अन्य प्राविधिक पक्षहरूमा पनि ध्यान दिन आग्रह गरेका छन् । आगामी अधिवेशनसम्म मुख्य हलहरू हस्तान्तरण हुनेमा उनले आशा व्यक्त गरेका छन् ।