झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी तथा विपन्न वर्गको हितलाई नेकपा एमालेले सधै प्राथमिकतामा राख्दै आएको बताएका छन् ।
झापाको दमकमा तीन पाङ्ग्रे सवारी चालकहरूसँगको भेटघाटका क्रममा बुधबार अध्यक्ष ओलीले सरकारको नीति कोही पनि नागरिक भोकै बस्न नपर्ने र भोकै मर्न नपर्ने सुनिश्चिततामा केन्द्रित रहेको उल्लेख गरेका हुन् ।
उनले भने- ‘हामी यस्तो व्यवस्था बनाउन प्रतिबद्ध छौं, जहाँ कसैले अभावका कारण ज्यान गुमाउन नपरोस् ।’
सो अवसरमा ओलीले स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गरी ३५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था गरिएको उल्लेख गरे भने झापामा पूर्वाधार र विकास निर्माणका कामलाई तीव्रता दिइएको दाबी गरे । ओली आज विराटनगरमा एक कार्यक्रम सम्पन्न गरेपछि आजै काठमाडौं फर्किने बताइएको छ ।