• फाल्गुन २३ २०८२, शनिबार

एप्स्टिनसँग जोडिएका सबै फाइल खाेलिनु पर्ने अमेरिकी पूर्वमन्त्री हिलारी क्लिन्टनकाे भनाई

फाल्गुन ५ २०८२, मंगलवार

काठमाडौँ । अमेरिकी पूर्वविदेशमन्त्री तथा डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले एप्स्टिनसँग जोडिएका महत्वपूर्ण कागजात लुकाउन खोजेको आरोप अमेरिका सरकारमाथि लगाएकी छिन् ।

बर्लिनमा वार्षिक विश्व मञ्च कार्यक्रममा सहभागी हुन आएकी हिलारीले बीसीसँग भनिन्, ‘ सबै फाइल बाहिर निकाल्नुपर्छ । तर, उनीहरू ढिलो–ढिलो गरी अघि बढिरहेका छन् ।’ ह्वाइट हाउसले भने विगतको डेमाक्रेटिक पार्टीको सरकारको दाँजोमा डोनाल्ड ट्रम्प प्रशासनले पीडितहरूका धेरै काम गरेको दाबी गरेको छ ।

एप्स्टिन फाइल प्रकरणमा हिलारी क्लिन्टनका पति तथा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकाेपनि नाम मुछिएको छ । यस विवादमा संसदीय समितिमा बयान दिन तयार रहेको क्लिन्टन दम्पतीले जनाएका छन् । बिल क्लिन्टन फेब्रुअरी २७ मा र हिलारी क्लिन्टन एक दिन अघि समितिमा उपस्थित हुनेछन् ।

१९८३ मा जेराल्ड फोर्डपछि कुनै पनि पूर्वराष्ट्रपतिले संसदीय समितिमा बयान दिलन लागेको यो पहिलो घटना हो ।
एप्स्टिन फाइलमा धेरै पटक उल्लेख भएका बिल क्लिन्टनले उनीसँग चिनजान रहेको स्विकारेका छन् । तर दुई दशकअघि नै सम्पर्क टुटेको दाबी गरेका छन् । एप्स्टिन पीडितहरूले क्लिन्टनमाथि कुनै आपराधिक आरोप लगाएका छैनन्, र क्लिन्टन दम्पतीले त्यसबेला एप्स्टिनको दुर्व्यवहार बारे आफूहरुलाई कुनै जानकारी नभएको दाबी गरेका छन् ।
क्लिन्टन दम्पतीले बन्द कोठामा होइन, सार्वजनिक सुनुवाइमार्फत बयान दिन माग गरेका छन् ।

“हामी उपस्थित हुन्छौं, तर हाम्रो विचारमा सुनुवाइ सार्वजनिक हुनु राम्रो हुन्छ,” हिलारीले बीबीसीसँग भनिन् ।
केही समयअघि रिपब्लिकन सांसद् तथा संसदीय समितिका अध्यक्ष जेम्स कोमरले क्लिन्टन दम्पतीले बयान दिन “ढिलाइ” गरेको आरोप लगाउँदै, उनीहरु आरोपबाट भागेको टिप्पणी गरेका थिए ।

‘म चाहन्छु, यो प्रक्रिया निष्पक्ष होस्, सबैलाई समान व्यवहार गरियोस्,’ हिलारीले भनिन्, ‘हामीसँग लुकाउन केही छैन । हामीले बारम्बार सबै फाइल सार्वजनिक गर्न माग गरेका छौं । घामको किरण नै उत्तम कीटनाशक हो भन्नेमा हाम्रो विश्वास छ।’
हिलारीले आफूले एपस्टाइनकी सहयोगी घिसलेन म्याक्सवेललाई ‘केही पटक’ मात्र भेटेको बताइन् ।
एप्स्टिन फाइलमा सयौं पटक नाम आएका राष्ट्रपति ट्रम्प पनि एपस्टाइनसँग कुनै गलत काम नगरेको र दशकौंअघि सम्पर्क तोडिसकेको दाबी गर्दै आएका छन् । एप्स्टिनका पीडितहरूले पनि ट्रम्पमाथि आपराधिक आरोप लगाएका छैनन् ।
बीबीसीसँगको प्रश्नमा ट्रम्पले भने, “मसँग लुकाउने केही छैन। यी फाइलहरूले मलाई निर्दोष देखाएका छन् । ‘
अमेरिकी न्याय विभागले हालै एप्स्टिन सम्बन्धी लाखौँ कागजात सार्वजनिक गरेको छ । यो कदम एप्स्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट कार्यान्वयन गर्ने प्रक्रियाअन्तर्गत आएको हो, जसले विभागलाई अनुसन्धानसम्बन्धी कागजात सार्वजनिक गर्न बाध्य बनाएको थियो ।

न्याय विभागले सबै कागजात सार्वजनिक गरिसकेको दाबी गरे पनि, उक्त ऐनका सह–लेखक रिपब्लिकन सांसद थोमस मासीलगायतले यो काम अझै अपूर्ण रहेको बताएका छन् । उनले अनुसन्धानको आन्तरिक मेमोसमेत सार्वजनिक गर्न दबाब दिएका छन् । एप्स्टिनको २०१९ मा न्यूयोर्कको जेलमा रहस्यमय मृत्यु भएको थियो । उनी नाबालिगलाई यौन शोषणमा संलग्न गराएको अभियोगमा पहिल्यै दोषी ठहर भइसकेका थिए ।

क्यारेबियन क्षेत्रमा रहेका भव्य रिसोर्टहरूमा लगेर किशोरीहरुलाई हाइप्रोफाइल व्यक्तिहरूसँग यौनजन्य गतिविधमा संलग्न गराउने गरेको आरोप उनीमाथि थियो । किशोरीहरूको उजूरीपछि यस विषयमा छानविन गरिएको थियो ।