मस्को । युक्रेनका पूर्वऊर्जामन्त्री जर्मन गालुश्चेन्कोलाई देश छोड्न खोजेको आरोपमा पक्राउ गरी हिरासतमा लिइएको छ । उनीमाथि ऊर्जा क्षेत्रमा भएको ठूलो भ्रष्टाचार काण्डमा संलग्न भएको आरोप पनि लगाइएको छ ।
युक्रेनको राष्ट्रिय भ्रष्टाचार विरोधी ब्यूरोले एक विज्ञप्तिमा यो जानकारी दिएको छ । ब्यूरोले एक विज्ञप्तिमा भनेको छ, ‘पूर्व ऊर्जामन्त्रीलाई मिडास मुद्दाको एक भागको रूपमा हिरासतमा लिइएको छ ।’ यो कदम युक्रेनको ऊर्जा क्षेत्रमा भ्रष्टाचारको व्यापक अनुसन्धानको एक हिस्सा हो, जसले गत वर्ष ठूलो राजनीतिक संकट निम्त्यायो । प्रारम्भिक अनुसन्धान जारी छ ।
गालुश्चेन्को युक्रेनी राष्ट्रपति जेलेन्स्कीका नजिकका मन्त्री थिए । सेप्टेम्बर २०२५ मा, उनीमाथि अवैध रूपमा १०० मिलियन डलर कमाएको र विदेशमा पैसा लुकाएको आरोप लगाइएको थियो । फलस्वरूप, राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको अनुरोधमा गत वर्ष कार्यवाहक र पूर्व ऊर्जामन्त्री दुवैले राजीनामा दिएका छन् । यद्यपि दुवैले भ्रष्टाचार गरेको आरोप भने अस्वीकार गरेका छन् ।
अन्वेषकहरूले युक्रेनको आणविक ऊर्जा प्लान्टहरू सञ्चालन गर्ने एनर्गोएटम सहित राज्य–स्वामित्व भएका कम्पनीहरू मार्फत लगभग १०० मिलियन डलर हिनामिना भएको बताएका छन् । प्रमुख सुविधाहरूको सुरक्षा बलियो बनाउन कामको भुक्तानी गर्दा पैसा हिनामिना गरिएको आरोप छ । हाल यक्रेन रुससितको लडाइँमा रहेको छ ।