नेपालमा भन्दा पहिले नै बंगलादेशमा जेन–जी विद्रोह भएको थियो । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएको निर्वाचनमा लामो समय प्रमुख विपक्षी रहेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले दुई तिहाइभन्दा बढी स्थानमा जितेको घोषणा गरिएको छ ।
संसद्का २९९ स्थानमा बीएनपी र उसका सहयोगीहरूले कम्तीमा २१२ सिट जितेका छन् भने विपक्षी जमात–ए– इस्लामी र उसका सहयोगीहरूले ७७ सिट जितेका छन् ।
शेख हसिनाको सरकारविरुद्ध आन्दोलन गर्ने युवाको पार्टीले पनि जमातसँग गठबन्धन गरी चुनाव लडेको थियो । बीएनपी करिब दुई दशकपछि सत्तामा फर्किएको छ ।
बीएनपीको जितले बङ्गलादेशमा अस्थिरता अन्त्य गर्ने अपेक्षा अन्तर्राष्ट्रिय समुदायले गरेको छ । सम्भवतः बीएनपीका नेता तारिक रहमान प्रधानमन्त्री बन्नेछन् । उनका पिता जियाउर रहमान र आमा हसिना बाजेद बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्री अर्थात् कार्यकारी प्रमुख थिए ।
यसैले १७ वर्षको निर्वासनपछि फर्केका तारिक बङ्गलादेशको सत्ताका लागि नौला भने होइनन् ।
बङ्गलादेश पाकिस्तानबाट सन् १९७१ मा अलग भएपछि स्वतन्त्रता संग्रामका हस्तीहरू शेख मुजिवुर रहमान र जियाउर रहमानकै परिवारको शासन रहेको छ भन्नु अत्युक्ति हुँदैन । यद्यपि, केही वर्ष हुसेन महम्मद एर्सादले पनि शासन गरेका थिए । निर्वाचित वा सैनिक शासन जे भए पनि लोकतान्त्रिक भने हुन सकेको छैन ।
यसैले बीएनपीको सरकार बनेपछि बङ्गलादेशको लोकतन्त्र फस्टाउला भन्ने विश्वास गर्न सकिँदैन । तर, धार्मिक कट्टरपन्थी र अराजक समूहको गठबन्धनले चुनाव जितेको भए सम्भवतः शान्ति र स्थिरता पनि थप जोखिममा पर्ने थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बीएनपीका नेतालाई शीघ्रतापूर्वक बधाई दिनुको कारण पनि सम्भवतः यही हो ।
बीएनपी र अहिले संसदमा दोस्रो स्थान हासिल गर्ने धार्मिक कट्टरपन्थी जमात पहिले सत्तामा रहँदाका सहयात्री हुन् । शेख हसिनाको अपेक्षाकृत धर्मनिरपेक्ष तथा अल्पसङ्ख्यक समुदायप्रति उदार शक्ति र राष्ट्रवादी तथा धार्मिक कट्टरपन्थी समूहबीच बङ्गलादेशको राजनीतिमा प्रतिस्पर्धा रहिआएको छ ।
यसैले बीएनपी स्वयमको छवि कट्टरपन्थी नभए पनि आगामी सरकार अल्पसङ्ख्यकप्रति असहिष्णु र अनुदार हुनसक्ने जोखिम भने बलियो देखिन्छ ।