• फाल्गुन २३ २०८२, शनिबार

सुनसरी-३ मा भगवती चौधरीप्रति मत परिवर्तन नगर्ने अडानमा मतदाता

फाल्गुन ३ २०८२, आईतवार

सुनसरी । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा एमालेका उम्मेदवार भगवती चौधरीले आफ्नो सक्रियता बढाएकी छिन् ।

निवर्तमान सांसद समेत रहेकी चौधरीका पक्षमा जनलहर बढेसँगै उनी यतिबेला आफ्नो निर्वाचन क्षेत्रका जनताबिच सल्लाह र सुझावहरु संकलनमा ब्यस्त छिन् ।

शनिबार मात्रै चौधरीको सक्रियतामा दुहवी नगरपालिका वडा नं. ९ मा ५२ जना महिलाहरुले एकसाथ नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई संवोधन गर्दै उम्मेदवार चौधरीले समाज रुपान्तरण र महिला सशक्तिकरणका लागि राजनीतिमा महिला सहभागीता अपरिहार्य भएको बताइन् । एमालेले महिलाहरुको हक अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको जिकिर गरिन् ।

‘एमाले विचार, सिद्धान्त र जनताको पक्षमा उभिएको पार्टी हो, लैङ्गिक समानता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रका पक्षमा उभिएको पार्टी हो । महिलाहरुलाई राज्यका सबै क्षेत्रमा अवसर दिन एमाले प्रतिबद्ध छ ।’ उम्मेदवार चौधरीले भनिन् ।

पार्टी प्रवेश गर्दै महिलाहरुले आफूहरु एमालेले अंगिकार गरेको राष्ट्र, राष्ट्रियता, स्वाधिनता, जाति, वर्ग, समुदायको उत्थानका सिद्धान्त र विचारबाट प्रभावित भएको तथा नेतृ चौधरीले महिला सशक्तिकरणका सवालमा निर्वाह गर्नुभएको भूमिकाबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताए ।

त्यसो त, सुनसरी क्षेत्र नं. ३ मा चौधरीप्रति जनताको उत्साहजनक समर्थन रहेको छ । सामाजिक कामसँगै राजनीतिमा उदाएकी चौधरीले साढे तीन वर्ष सांसद तथा करिब ५ महिना मन्त्री भएर आफ्नो क्षेत्रका लागि गरेका कामबाट मतदाता सन्तुष्ट देखिएका छन् ।

निर्वाचन क्षेत्रको इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका, गढी तथा बर्जु गाउँपालिकाका गाउँगाउँ जनताका गुनासा र समस्याहरु पहिचान गर्न जाँदै गर्दा मतदाताहरुले सकारात्मक प्रतिक्रियासँगै पुनः एक पटक निर्वाचित गराएर पठाउने प्रतिबद्धता नै व्यक्त गरेपछि उम्मेदवार चौधरी पनि उत्साहित देखिएकी छिन् ।

चौधरीले स्थानीय विकासका एजेण्डासँगै उद्यमशीलता, युवा स्वरोजगार र आत्मनिर्भर अर्थतन्त्र जस्ता जनप्रिय एजेण्डाहरु अगाडी सारेकोले यो क्षेत्रका मतदाताहरु मत परिवर्तनको विपक्षमा देखिएको एमाले निर्वाचन क्षेत्र नं. ३ परिचालन समितिका संयोजक लिलम बस्नेतले बताए ।