• फाल्गुन २३ २०८२, शनिबार

मत परिवर्तनको लहर कति साधक ?

फाल्गुन २ २०८२, शनिबार

फागुन लागिसक्यो । कुनै अप्रिय राष्ट्रिय अवरोध आएन भने फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनका लागि मतदान भइसकेको हुनेछ । मतदान हुँदैन भन्ने चर्चा छैन । बरू अहिले मत परिवर्तनको चर्चा निकै व्यापक छ ।

यस पटक सबै राजनीतिक पार्टीले आफ्नो साङ्ठनिक मतले जित्ने भन्दा पनि ‘परिवर्तित मत’ जसको पक्षमा आउँछ, उसैले जित्ने देखिरहेका छन् । मत माग्न हिँडेका उमेदवार पार्टीका मतमा विश्वस्त देखिFदैनन् । उनका आँखा र लगाव परिवर्तित मततिर छ ।

कुनै पार्टीको गढ वा किल्ला अबका दिनमा रहने देखिँदैन । विचारका नाममा ध्रुवीकृत पुराना किल्ला घिसिने, भासिने, खिइने र ‘मर्ज’ हुने प्रक्रियामा छन् । किनकि ती विचार निर्मित किल्लाका हर्ताकर्ता रहेका शीर्ष नेता भुरेटाकुरे सामन्तजस्ता हुँदै गए । पार्टीलाई आफ्नो मुख्यौली वा बिर्ता ठान्न थाले ।

आमजनताको तीन चार पुस्ता बितिसक्दा पनि उही अनुहार र उही भाषण अविराम देखापरिरहे । यसले जनतामा वाक्कदिक्क पैदा गरिदियो । अर्कोतिर, पार्टीमा हैसियतको स्थायित्वले नेतालाई नयाँ रजौटाका रूपमा स्थापित गरिदियो । गणतान्त्रिक मर्यादाअनुरूप पदीय आचरण र रूपान्तरणको माग गर्दा उल्टै ‘गाथगादी’ ताकेको अर्थलाग्ने सङ्गीन र पाशविक व्यवहार गगरियो । फलतः एकाएक नातिपनाति पुस्ताले जिउँदो बाजेबज्यैलाई उनीहरू रजगज गरिरहेका घरमा आगो झोसिदिने अवस्थासम्म पुग्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना हुन पुग्यो ।

गणतन्त्र ल्याउँदा फ्याँकिएको राजतन्त्रको मूल नकरात्मक विरासत भनेको नमर्दासम्म सत्तामा टाँसिइरहनु हो । यो सामन्ती सत्ताको आँखामा सकारात्मक विरासत होला । तर गणतन्त्रको आँखामा पार्टीभित्र पुनर्जीवन पाई मौलाउँदै र झाँगिदै जान थालेको ‘पार्टी राजतन्त्र’को नकारात्मक र अस्वीकृत विरासत हो । गणतन्त्रमा यस्तो विरातलाई नयाँ रूपमा निरन्तरता दिने कुरा स्वीकार्य र क्षम्य दुवै थिएन ।

तथापि पार्टीका नेता, जसले आफूलाई गणतन्त्रको मसिहा भनेर थाकेनन्, उनैले गणतन्त्रको वास्तविक मर्मबोधसहित गणतन्त्रको स्वत्व वा आत्मालाई व्यवस्थापकीय प्रणालीमा ढाल्न चाहेनन् । यसले आज जेन्जी आन्दोलन निम्त्याउँदै ‘पार्टी राजतन्त्र’लाई अस्तित्व रक्षाको अवस्थामा धकेलिरहेको छ ।

विडम्वना ! गणतन्त्र स्थापना गर्ने दल र तिनका नेताभित्र आत्मिक रूपान्तरण हुन नसक्दा आजका दिनमा ती आमअस्वीति र वहिष्करणमा परिसकेका छन् । आज तिनको पराजय आजीवन सत्तामा रहने राजतन्त्रको नवीकृत विरासतको अन्त्यसँग अभिन्न जोडिएर आएको छ ।

गणतन्त्र ल्याउन अथक मेहनत गरेका योद्धा आजका दिनमा यो दुर्दशा टुलुटुलु हेरेर बस्न अभिषप्त छन् । ती योद्धाले सत्तालिप्सा र परिवारवादको मोहमा ‘जसरी पनि सत्तामा रहने’ गठबन्धन संस्कृतिको निर्माण नगर्न र गणतान्त्रिक स्वत्वलाई प्रणालीमा ढाल्न अविश्राम सजग बनाइरहे ।

पञ्चायतकालीन ३० वर्षको जति समय प्रजातन्त्रवादी र गणतन्त्रवादीले पनि त बिताए । यसको निर्मम समीक्षा इतिहासले मात्र गर्नु पर्ने हो ? नेता र पार्टीले गर्नु पर्दैन ? सायद यहीनेर होला ‘सच्चिने’ भन्नुको मर्म !

यो अवधिमा नयाँको आधार बनेन । गणतन्त्र वा प्रजातन्त्रको मात्रै भए पनि जग बसेन । बरू सत्ता प्रणालीमा एकछि अर्को गर्दै पुरानो विरासतको हास्यास्पद पुनरावृत्ति हुँदै गए । पार्टीभित्र २०० वर्ष पुरानो महाराजा, राजा र युवराजाको स्थानमा नेता र शीर्ष नेताको महाजालसहितको ‘पार्टी राजतन्त्र’ को पुनरावृत्ति हुनगयो । सबैलाई आजीवन पद, पदक, विभूषण र सम्मान !

उता प्रजातन्त्रिक र गणतान्त्रिक सत्ता धरापमा पर्दै गयो । यसलाई बचाउन मिलिजुली भागबण्डाको गठबन्धन सत्ता स्थापना भयो । यो भनेको राजा–राणाको १०४ वर्षे पुरानो अस्वीकृत द्वैध सत्ताको पुनरावृत्ति थियो । केही नौलो कुरा थिएन ।

फागुनको निर्वाचनपछि अबका दिनमा सत्तामा उदय हुने संभावना रहेकाहरूले पनि यही पुनरावृत्ति अङ्गीकार गरेमा उनीहरू एक अवधिभन्दा पर जानसक्ने संभावना नै छैन । ती भनेका ‘पार्टी राजतन्त्र’ र गठबन्धन सत्ताका कुरा नै हुन् । अब त ‘बाजेलाई फाल्ने डोको’ सबैको घरघरमा छ ।

मत परिवर्तनको तात्कालिक लहरले मात्र अब उदाउने शक्तिका चाहनालाई मलजल गरिरहने छैन । यसका लागि उनीहरूको स्पष्ट नीति, योजना र कार्यक्रम आउनु जरूरी छ । आज देखिएको प्रचारको लहर, वाहवाही र लोकप्रियता आफैमा नीति विचार र कार्यक्रम होइनन् ।

गणतन्त्रको आवरणमा मौलाउँदै आएको पार्टी राजतन्त्रविरूद्ध नयाँ पुस्ताको पहल र विद्रोहले सबैलाई जबर्जस्त घिसारेर अघि बढाएको त छ । तर नयाँ पुस्ताले पुराना पुस्ताले गरेको गल्ती र विचार विहीनताको अभ्यासलाई जनताले माफी दिने छैनन् भन्ने कुरा समयमै बुझ्‌नु पर्छ ।

वर्तमानमा गल्ती र कमी कमजोरी निरन्तर दोहर्‍याउँदै आएका पुराना दल र तिनका व्यवहारलाई जनतामा फैलिएको जनचेतनाले अस्वीकार गरिदिएको छ । आवधिक निर्वाचनको २ वर्ष अगावै आजको चुनावी सरगर्मी त्यत्तिकै निम्तिएको होइन । यसमा ‘लातोंका भूत, वातोंसे नही मानता’ भन्ने उखानको गहिरो मर्मसहित चरितार्थ हुन गएको छ ।

यी सबैका बाबजुद नेपालमा कस्तो खालको सत्ता स्थापना हुँदैछ भन्नेमा धेरैको चासो छ । पुराना र ‘टेस्टेड’ का ठाउँमा नयाँ सापेक्ष परीक्षा हुन बाँकी रहेका अनुहार दल चुनावी अग्रमोर्चामा छन् । तथापि नेपाली जनताले भूराजनीतिक प्रभावलाई पनि गम्भीरताका साथ लिइरहेका छन् । नेपाली जनता कसैद्वारा निर्देशित शासनसत्ताका विरूद्धमा छन् ।

नेपालमा भूराजनीतिक चलखेल नेपाल र नेपालीको हितमा छैन पनि । तर देशको भौगोलिक अवस्थितिले यो बाध्यात्मकता सिर्जना गरिदिएको छ । एकले अर्कालाई दलाल भनिहाल्ने र शासकले पनि सत्ता जोगाउन आफ्नो अनुकूल वैदेशिक शक्ति केन्द्रको दलाली गरिहाल्ने दुई ‘जुम्ल्याहा प्रवृत्ति’ नेपालमा विद्यमान छन् ।

मत परिवर्तनसँगै मतदाताले यस कुरामा सजग रहँदै खबरदारीको आफ्नो जिम्मेवार भूमिकालाई कहिल्यै बिर्सनु हुँदैन । नीति, विचार र कार्यक्रममा प्रष्टताका साथै राजनीतिक विकृति र विसङ्गतिको पुनरावृत्ति पनि सैह्य हुनु हुँदैन । यसपछि मात्र मत परिवर्तनको लहर आफैमा सार्थक र साधक दुवै हुनसक्छ ।