• फाल्गुन २३ २०८२, शनिबार

मुस्लिम समाजमा रहेको कयामत बारेको महत्वपूर्ण कुरा के हो ?

माघ २८ २०८२, बुधबार

कयामतको बारेमा सबभन्दा महत्वपूर्ण कुराको बारे चर्चा गर्नु आजको समयमा अति आवश्यक भइसकेको छ । किनकि आज समाजमा अनेक खालका भ्रम सिर्जना भइरहेका छन् । कसैले कयामतको निसानी दज्जालको फित्नालाई बुझ्छन् । कसैले कयामतको निसानी सूर्य पश्चिमबाट उदाउनुलाई बुझ्छन् । कसैले कयामतको निसानी अरब हराभरा हुनुलाई बुझ्छन् । कसैले कयामतको निसानी भनेर ठुलो आवाजलाई बुझ्छन् ।

यही बुझाइका कारण आज उम्मतमा भ्रम सिर्जना भएको छ । उनीहरुलाई थाहा नै छैन कि वास्तवमा कयामतको बारेमा महत्वपूर्ण कुरा के हो । त्यही भ्रमलाई हटाउन र वास्तविकता समाज सामु पस्किने आशयले यो लेख लेखिएको छ ।
कयामतको बारेमा पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लाहो अलैहे व आला आलेही वसल्लमको एक हदीस शरीफ यहाँ साझा गरिँदैछ । जसले गर्दा उम्मत र समाजलाई बुझ्न सहज हुनेछ ।

हजरत मोहम्मद मुस्तफा सल्लाहो अलैहे व आला आलेही वसल्लमको फरमान छ सुनन इब्ने तिर्मिजी हदीस नं. २२६० यसमा लेखिएको छ कि “अनस इब्ने मालिक रजि अल्लाह भन्नुभयो कि रसूलुल्लाह सल्लाहो अलैहे व आला आलेही वसल्लमले फरमाउनुभयो कि ‘मानिसहरु समक्ष यस्तो समय (जमाना) आउनेछ, जब आफ्नो दीनमाथि धैर्यधारण गरी आस्थावान रहनु हातमा आगोको डल्लो समात्नु सरह हुनेछ ।’ हो यस हदीसमा कयामतको सबभन्दा महत्त्वपूर्ण कुरा उल्लेख गरिएको छ । जसलाई विस्तृत रुपमा यसरी बुझ्न सकिन्छ ।

अब माथि उल्लेखित यस हदीस शरीफमा लेखिएका शब्द शब्दमाथि जोड दिनुस् र मनन गर्नुहोस् । आखिर यस हदीस शरीफमा के बताउन खोजिएको हो । सोच्नुस् आखिर कुन विषयमा चेतावनी दिएर सचेत गराउन खोजिएको छ । यो केवल चेतावनी मात्र होइन । यहाँ कुनै आइलाग्ने सानो समस्या र सानोतिनो पीडाको बारेमा जानकारी गराउन खोजिएको होइन ।

यहाँ यस हदीसमा आगोबाट पोल्ने कुरा गरिएकोछ अर्थात् अलिकति आगोले पोल्दा कति दुखाइ हुन्छ हामीले बेलाबेलामा कुनै न कुनै क्षण महसुस गरेकै छौं होला । आगोले पोल्दाको त्यो पीडा कति असैह्य हुन्छ यो त आगोबाट पोल्नेहरुलाई सोध्दा थाहा हुन्छ । कहिलेकाहीँ कारणवश हाम्रो हात वा जिउमा कुनै आगोको सानो टुक्रा उछिट्टिएर आइहाल्यो भने हामीले त्यसलाई जतिसक्दो छिटो फाल्न खोज्छौं । ताकि आफूलाई त्यसको तापबाट बचाउन सकौं होइन र । यही कुरा बुझाउन खोजिएको छ यसमा कि इमान र आस्थामाथि कायम रहन यस्तो हुनेछ कि आस्थामा रहनु भन्दा आस्था त्याग्नु बढी उचित र सहज महसुस गरिनेछ ।
अब हदीस शरीफमा दिन खोजेको सन्देश के छ त्यो बुझौं । भनिएको छ त्यो समय आउने छ, जब इमानका साथ आस्थावान हुनु सहज हुनेछैन । अर्थात् आफूलाई त्यस अवस्थामा अडिग राख्न गाह्रो हुनेछ । गुनाहबाट बच्न गाह्रो हुनेछ । आँखा झुकाएर हिंड्न सहज हुनेछैन । हराम कार्यलाई नकार्न सहज हुनेछैन ।

इमान र आस्थाको साथबाट छुट्टिएर एक्लै बस्न गाह्रो भएकोले अवस्थासँग सम्झौता गर्न सहज महसुस गरिने छ । जसलाई इमानवालाले राहत ठान्नेछन । कसैलाई गुनाह (पाप) को तर्फ जबरजस्ती तानिने छैन । बरु वातावरण यस्तो बनाइने छ । जसलाई तपाईं हामीले कहिले फेसन, सोच, आधुनिक प्रविधि, आर्थिक कारोबारको रुपमा ट्रेन्ड भनी स्वीकार गर्न बाध्य हुनेछौं । कहिले रील्स, टिकटक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममार्फत् फैलिएको भिडियो सन्देशलाई क्रेज ठानेर रमाउने छौं ।

टीभी सिरियल र फिल्महरुमार्फत् इस्लाममा निषेध गरिएका कृयाकलापलाई सामान्य र माइनर कुरा भनी दर्शाइने छ । अनि तपाईं हामीले आफूलाई जोगाउन सक्नु गाह्रो हुनेछ । संक्षेपमा यस हदीसको खुलासा भन्नुपर्दा एक यस्तो वातावरण निर्माण गरिने छ । जहाँ तपाईं हामीलाई गलत र हराम कुरा एकदमै सामान्य रूपमा दर्शाइने छ । सत्य बोल्नेलाई एक्लो बनाइने छ । जायज कुरा उठाउनेहरुलाई दबाउने प्रयास गरिने छ । आस्थावान रही हराम कार्य र इस्लाममा निषेधित रहेका कार्यलाई नगर्नेलाई पछौटेपनको सिकार, ओल्डफैशन भनिने छ ।

झुठ बोल्नेलाई सत्यवादी र सत्य बोल्नेमाथि शंका गरिने छ । अपराधीको जयजयकार हुनेछ । निर्दोषलाई सताइने छ । अरुको हक खानेलाई इमान्दार ठानिने छ । सत्य पराइ र झुट आफ्नो लाग्न थाल्ने छ । एकतालाई नकारात्मक दृष्टिले हेरिने छ । लज्जा र हया गर्दा बेइज्जती महसुस हुन थाल्ने छ । अश्लीलतासँग निकटता बढ्न थाल्ने छ । रोग र महामारीको डरत्रास सृजना गरी औषधिको कारोबारलाई बढावा दिइने छ । तब त्यस्तो घडी र परिस्थितिमा मानिसले मानसिक दबाब महसुस गर्नेछन् । यो सोचेर कि म त समाजमा एक्लै भएँ । यही एक्लोपनको दबाबमा आएर थाक्ने छौं । अनि आफूलाई त्यही माहोल र त्यही परिवेशमा मिलाउनका लागि आस्थासँग सम्झौता गरिहाल्ने छन् ।

भयावह र डरलाग्दो कुरा यो होइन् कि उम्मत (समाज) ले आफ्नो आस्था छाडिदिने छन् । डराउनु पर्ने कुरा त यो छ कि मानिसहरुमा आस्था नाम मात्रको बाँकी रहने छ । धार्मिक नाम त हुनेछन् तर व्यवहारमा धार्मिक आस्था हुनेछैन । कयामतको समय केवल बाहिरी परिवर्तन हुनेछैन, त्यसबेला त भित्री इमान पनि प्रभावित हुनेछ । हो यही कुरा सबभन्दा बढी चिन्ताजनक र महत्वपूर्ण छ । जब इमान प्रभावित हुनेछ तब गलत चाहिँ सही लाग्न थाल्ने छ । इमान र आस्था बेकार लाग्न थाल्ने छ ।

अहिलेको अवस्था र माहोललाई नियाल्दा यस्तो अवस्था सृजना भइरहेको छ । रील्स, टिकटक र इन्स्टाग्राम मार्फत् अश्लीलता फैलाइँदै छ । टीभी सिरियल र फिल्महरुमार्फत् इस्लाम र अन्य समुदायमा निषेध र हराम गरिएका कार्य मुस्लिम समुदायलाई लक्षित गरी बनाइएका टीभी सिरियलमार्फत् जस्तै : रक्सी सेवनलाई अपरक्लास मुस्लिम परिवारमा सामान्य रहेको देखाइँदै छ । फिल्महरु मार्फत् महरम र गैर महरमको अवधारणालाई तोड्न गर्लफ्रेन्ड ब्यायफ्रेण्ड र लिभइन रिलेशनशिपलाई आम गरिँदैछ ।

विभिन्न प्रलोभनमा बैंकिङ्ग कारोबार र रकम लेनदेनमार्फत् व्याज लिनु र दिनुलाई आम्दनीको सहज श्रोत भन्न थालिएको छ । अनलाइन गेमहरुमार्फत् जुवा खेल्न र खेलाउन थालिएको छ अर्थात बेटिङ गरिन्छ । अनि पुरुष मात्रै होइन महिला समेत यस जुवामा भागिदार बनिरहेकी छिन् र अनलाइन जुवामा जितेको रकमबाट बडो गर्वका आमाबुवा समेत मोज गरी रमाइरहेका छन् ।

प्राचीन उपचार पद्धति र आयुर्वेदिक विधामा शरीरलाई स्वस्थ्य बनाउन आवश्यक मानिने रुघाखोकी र ज्वरो जस्ता शारीरिक उतारचढावलाई सामान्य र स्वाभाविक भनिन्छ । तर औषधिका ठुल्ठूला व्यापारीहरुले त्यसलाई पनि भयावह रोग महामारीको रुपमा अफवाह फैलाएर आफ्नो कारोबार चम्काउँदै छन् । अहिले डाइबिटिज, थाइराइड ब्लडप्रेसर जस्ता रोगको रोकथामका उपाय अपनाउनुको सट्टा तिनलाई नाप्ने, चेक गर्ने मेसिन घर घरमा हुनु सौभाग्यको रुपमा देख्न सकिन्छ ।
झुठ बोल्नेलाई नेतृत्वकर्ता स्वीकार गरिँदै छ । सत्य बोल्नेलाई टार्गेट गरी निरुत्साहित गरिँदैछ । अश्लीलतालाई संस्कृतिसँग जोडिँदैछ । अपराधीको जयजयकार गरिँदैछ, निर्दोषलाई सताइने र थिच्ने काम गरिँदैछ । सानासाना कुरालाई नै हेर्ने हो भने पार्टी र भोजमा बसेर खाना खानेलाई घृणाको दृष्टिले हेरिन थालिएको छ ।

शरीर ढाक्ने लुगा लगाउनेलाई लोअर क्लास र मिडिल क्लास भनी तिरस्कार गरिँदैछ । संयुक्त परिवारमा आमाबुवा, हजुरआमा, हजुरबासँग बस्नेलाई व्यक्तिगत स्वतन्त्रता (पर्सनल प्राइवेसी स्पेस) छैन भनी खिल्ली उडाइँदै छ, होइन र । यिनै कारणले आजित भएर मानिसले आफ्ना आस्थाबाट टाढा हुँदैछन् । मुस्लिम मात्रै होइन अन्य समुदायका मानिस पनि आफ्ना आस्था छाड्दै नास्तिक हुन थालेछन् ।

तथापि यतिका संघर्ष र चुनौतीका बावजुद इमान र आस्थामाथि कायम रहनेहरुका लागि अल्लाहको विशेष रहमत र कृपा हुनेछ । इमान र आस्थामाथि अडिग र कायम रहन जति बढी कष्ट र विघ्नबाधा आउने छ, मानिस अल्लाहको नजिक त्यति उत्कृष्ट हुनेछ । इमान र आस्थामाथि कायम रहनका लागि तपाईंले गर्ने हर साना ठुला प्रयासको अल्लाहले मूल्याङ्कन गर्नेछ । तसर्थ कयामतको बारेमा हदीस शरीफमा उल्लेख गरिएको सन्देश यो हो कि कयामत तब सम्म कायम हुँदैन, जबसम्म उम्मत (समाज) ले इमान र आस्थालाई आगोको डल्लो ठानेर फाल्दैन ।