• फाल्गुन २३ २०८२, शनिबार

मोरङ—४ मा १८ जनासित प्रतिष्पर्धा गर्दै तेस्रोलिंगी नूमा लिम्बू

माघ २७ २०८२, मंगलवार

काठमाडौं । नूमा लिम्बू ‘चञ्चला’ सङ्घर्षले खारिएकी पात्र । उनीसँग सुनाउने खुसीभन्दा पीडाका कथाहरू धेरै छन् । सानै उमेरमा बुबाआमा गुमाएकी टुहुरी, त्यसमाथि फरक लैङ्गिक पहिचान बोकेर हुर्किनु परेको जीवन । उनले समय र समाजसँग निरन्तर कुस्ती खेल्दै आफूलाई यहाँसम्म ल्याइन् । नूमा उमेरले ३९ वर्षकी भइन् ।

मोरङको बबिया बिर्ता (हाल रङेली नगरपालिका) को परालले छाएको एक झुपडीभित्र जन्मिएकी थिइन्, नूमा । उमेरले काँचो, मनले मायाको तिर्खा पिएको त्यो बाल्यकालमा नै उनको काँधबाट मायाका हातहरू छुट्टिए । पहिले आमाबुबाको निधन, त्यसपछि समाजको ठेलमठेल । “माया दिने सबै गुमे, अनि म आफैलाई पनि गुमाउँदै थिएँ,” उनी भन्छिन् ।

जीवन त्यत्तिकै हरेस खाएर सकिने थियो, यदि एक दिन विराटनगरको एक गैरसरकारी संस्थाको कार्यक्रममा उनी आफूजस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू भेटेकी नहुँदी हो त । त्यहीँबाट सुरु भयो पहिचानको आत्मस्वीकृति, जीवनको पुनः परिभाषा, र आफूजस्तै धेरैलाई उज्यालो देखाउने यात्रा ।

आफूजस्तै भिन्न पहिचान भएका समुदायसँग घुलमिल हुँदै कोशी प्रदेशको झापा, दमकमा ‘लिड नेपाल’ संस्थामार्फत् विभेद, तिरस्कार र घृणाको अन्त्यका लागि उनले आवाज उठाइन् । तर विडम्बना, उनी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारकर्मी भनिनेहरूबाटै हेपिइन् । अधिकारकर्मी भनिएकाहरूले उनको आवाज दबाउने काम गरे ।

नीति निर्माण तहमा पुगेर राजनीति गर्नुपर्ने बेला आफ्नै समुदायमाथि किन शोषण ? नूमाले यो प्रश्न पटक–पटक उठाइन् । युएसएआईडीको अनुदान बन्द भएपछि ती समूहहरूले उनलाई बाइकट नै गरे । त्यसपछि उनले युएसएआईडीको ८ करोड रुपैयाँ गायब बनाइएको तथ्य सार्वजनिक गरिदिइन् ।

नूमाले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा उजुरी दिइन् । जेनजी आन्दोलनअघि नै दिएको उक्त उजुरीमा प्रशासन कार्यालयले हालसम्म पनि कुनै सुनुवाइ गरेको छैन । त्यसपछि उनले संस्थाको पारदर्शिता र जबाफदेहिता माग गर्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिइन् ।

आयोगले पटक–पटक पत्र पठाउँदा पनि अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ मार्फत् ब्लु डायमन्ड सोसाइटीकी कार्यकारी निर्देशक सुवेन ढकाल (मनिषा) ले पत्र त बुझिन् । संस्थाभित्रका अनियमितता लुकाउन उल्टै नूमालाई नै कारबाही गर्नुपर्ने मागसहित मनिषाले उच्च अदालत पाटनमा मुद्दा दायर गरिन् ।

तर उच्च अदालत पाटनले सूचना उपलब्ध गराउने आयोगको निर्णयलाई सदर गरिदिएको छ । सो आदेश आयोगमा पठाउने तयारी भइरहेको उच्च अदालत पाटनले जनाएको छ ।
जेनजी आन्दोलनको मुल माग नै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु थियो । तर ब्लू डायमन्ड सोसाइटीले जेनजी आन्दोलनका मागलाई धज्जी उडायो । यति हुँदाहुँदै पनि जवाफदेहिता र पारदर्शिताका लागि नूमाले आफ्ना पाइला रोकेकी छैनन् ।

लैङ्गिक समानता, दिगो विकास र महिलाको सशक्तीकरण सम्बन्धी दक्षिण एसियाली स्तरको दुई साता लामो आवासीय तालिम कार्यक्रममा नेपालकी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारकर्मी चञ्चलाले यसैवर्ष सहभागिता जनाइन् ।

उनी टियुआई फ्युचर शेपर्स ग्लोबल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटन नवप्रवर्तनकर्ता कार्यक्रममा आधिकारिक रूपमा छनोट समेत भएकी छन् ।

यो कार्यक्रम अन्तर्राष्ट्रिय समावेशी पर्यटन सङ्घ र टियुआई केयर फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको हो । यसको उद्देश्य कानुनी सुरक्षाको पहुँच अझै सीमित रहेका मुलुकहरूका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक उद्यमीहरूलाई सशक्त बनाउँदै समावेशी पर्यटन प्रवद्र्धन गर्नु हो । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिमा उपस्थिति नहुनु नै कमजोरी भएको अनुभूति उनले गरिन् ।

यही महसुसपछि ब्लू डायमण्डका संस्थापक अध्यक्ष तथा पहिलो संविधानसभा सदस्य सुनिलबाबु पन्तले नूमा सहितका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई विभिन्न राजनीतिक दलमा आबद्ध गराउन पहल गरे । तर दलहरूले आश्वासन मात्रै दिए ।

अन्ततः पन्तको संरक्षकत्व र सल्लाहमा जेनजी आन्दोलनपछि नयाँ दलको उदय भयो समावेशी समाजवादी पार्टी । निर्वाचन आयोगमा दल दर्ता भयो र फागुन २१ गते हुने निर्वाचनमा यस दलका समानुपातिकतर्फ १५ जना र प्रत्यक्षतर्फ ६ जना कमान्डर चुनावी मैदानमा उत्रिएका छन् ।
भरखर खुलेको पार्टी, राजनीतिमा नयाँ अनुहारहरू, र पुराना तथा नयाँ शक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती नुमा सहित सबै उम्मेदवारसामु छ । नूमा मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छिन् । उनलाई नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे र पूर्वमन्त्री अमनलाल मोदीजस्ता चर्चित अनुहारसँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

निर्वाचन क्षेत्र नम्बर ४ मा नूमासँगै १९ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । उनीसँग एमालेका जीवन घिमिरे, रास्वपाका सन्तोष राजवंशी, राप्रपाका माधवप्रसाद आचार्य, जसपा नेपालका तवरेज अखतर आलम, जनमत पार्टीका जीवनकुमार गुप्ता, श्रम संस्कृति पार्टीका कृष्णकुमार अटल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का हरिबहादुर बस्नेत, आम जनता पार्टीका अशोक शर्मा, सहित १६ वटा दलका र ३ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
तर उनी आत्तिएकी छैनन् । सामाजिक सञ्जालमार्फत् मतदातासँग भोट मागिरहेकी छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख १९ हजार २५५ मतदाता छन् । उनी आफूसहित प्रत्यक्षतर्फका ६ उम्मेदवारलाई सर्वसम्मत निर्वाचित गराइदिन प्रतिष्पर्धी दलहरूसँग सहयोगको अपिल पनि गरिरहेकी छिन् ।

कोशी प्रदेशको ओखलढुङ्गाबाट पिंकी राई, लुम्बिनी प्रदेशको रुपन्देही–२ बाट देवेन्द्रबहादुर खत्री (मधु), काभ्रेपलान्चोक–१ बाट विनोद लामा (कोनिका), काठमाडौँ–१ बाट सुरेन्द्र पाण्डे र काठमाडौँ–१० बाट पूर्णचन्द्र पौडेल प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।

१६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा क्षेत्रमा समर्थन गरिदिन नूमाले दलहरूसँग अनुरोध गरिरहेकी छन् । उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि गर्नुपर्ने कामको सूचीसमेत तयार गरिसकेकी छन् । चुनावअघि आश्वासन दिने र चुनावपछि फर्केर नहेर्ने विगतका जनप्रतिनिधिको तितो अनुभव उनी आफै भोगेकी छन् ।

त्यही भएर उनी आश्वासन होइन, पूरा गर्न सकिने काम मात्रै सुनाइरहेकी छन् । समुदायको नाममा समुदायमाथि शोषण गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनु र देशबाटै भ्रष्टाचार निर्मूल पार्नु उनको मुख्य लक्ष्य हो । उनी यिनै मुद्दा बोकेर चुनावी मैदानमा होमिएकी छन् ।

नतिजा फागुन २१ गतेको मतदानपछि मात्रै आउनेछ, र त्यो सुखद नै हुने उनको प्रक्षेपण छ । यद्यपि दुःख र पीडाले भरिएको नुमाको जीवनमा फागुन २१ ले खुसी नदिए पनि उनलाई खासै पिरोल्ने छैन, किनकि उनी सधै खुसीको आशा मात्रै गर्दै आएकी छिन् ।