ताकम, २३ माघ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट म्याग्दीबाट उमेद्वार बनेका अर्जुनबहादुर थापाले बेनी–ढोरपाटन जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने र ओझेलमा परेको धौलागिरि हिमालको सम्भावनालाई अन्तराष्ट्रियकरण गर्ने मुद्दालाई प्राथमिकता दिइने बताएका छन् ।
धवलागिरी गाउँपालिका–७ ताकममा बिहीबार आयोजित मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार थापाले बेनीदेखि ताकम–मुना– जलजलाहुँदै ढोरपाटन जोडिएको सडकको स्तरोन्नति, ढोरपाटनदेखि पुर्वीरुकुम जोड्ने सडकको मार्ग खुलाउने र संसारको सातौं अग्लो धौलागिरि हिमालको सम्भावनालाई अन्तराष्ट्रियकरण गरि पर्यटन विकासमा जोड दिने योजना अघि सारिएको बताए ।
“बेनी–ढोरपाटन–पुर्वीरुकुम जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउन र धौलागिरिलाई अन्तराष्ट्रियकरण गर्न सकेमा म्याग्दीमा रोजगारी सिर्जनाका साथै आयआर्जनको प्रशस्त अवसर सिर्जना हुन्छ,” उनले भने “सडक पूर्वाधारको जगमा टेकेर म्याग्दीको समग्र विकासमा जोड दिनका लागि हामीलाई जिताउन अनुरोध गर्दछु ।”
बसाईसराईले रित्तिँदै गएका गाउँबस्तीमा चहलपहल बढाउनका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको ब्यवस्था गर्नको लागि नीति निर्माणमा जोड दिइने थापाले प्रतिवद्धता जनाए । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सांसद रेशम जुग्जालीले म्याग्दीको सन्तुलित विकासका लागि पिछडिएको धौलागिरिमा प्राथमिकताका साथ विकास आयोजनाहरु भित्र्याएको पार्टी र स्थानीय एकमात्र उम्मेदवार भएका कारणले अर्जुन थापालाई जिताउन धौलागिरिबासी एकजुट हुन आग्रह गरे ।
“ताकम सहित धौलागिरि र समग्र म्याग्दीको सन्तुलित विकास हुनुपर्छ भनेर योजनाहरुलाई यस क्षेत्रमा केन्द्रित गरेर हामीले लगाएको गुण तिर्न धौलागिरिबासीलाई उपयुक्त समय चुनाव हो,” उनले भने “विगतमा हामीले गरेका प्रतिवद्धताहरु पुरा गरेका कारणले पनि यसपाली हाम्रा उम्मेदवारलाई भोट माग्ने अधिकार हामीसँग छ ।”
नेकपाका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले राष्ट्रियता, संविधान र ब्यवस्थालाई बचाएर देशलाई राजनीतिक निकास दिनका लागि नेकपाले परिपक्क र जिम्मेवार भूमिका निर्वाह गरेको बताए । राजनीतिक स्थिरता, शुसासन, सामाजिक न्याय, विकास र सम्बृद्धिको मुद्दालाई सफल बनाउन नेकपाका उमेद्वारलाई जिताउन उनले आग्रह गरे ।
ताकमका अगुवा खुमनाथ सुवेदी, ठाकुरप्रसाद पौडेल, भेषक पौडेलले इतिहासमा पहिलो पटक धौलागिरीले पाएको प्रतिनिधिसभा सदस्य बनाउने अवसरलाई सदुपयोगका लागि अनुरोध गरे ।
नेपाली कम्युनिष्ट पार्टीका धौलागिरी गाउँपालिका इञ्चार्ज तथा गाउँपालिका उपाध्यक्ष रेशम पुनमगर, गाउँपालिका कमिटिका अध्यक्ष रिमप्रकाश थापा, ताकमका वडा अध्यक्ष अशोक खत्री, नेकपाका नेता किरण थापाले अर्जुन थापालाई नेकपाको मात्र नभएर सिंगो धौलागिरिको साझा उम्मेदवारका रुपमा लिन अनुरोध गरे ।