• फाल्गुन २३ २०८२, शनिबार

इस्लाम जगतमा विशेष पोसाक छैन ?

माघ २२ २०८२, बिहीबार

‘इस्लाममा कुनै विशेष पोसाक र गेटअप (आवरण) छैन ।’ यो वाक्य पढ्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । कतिपयलाई यो वाक्य नै अपच नै हुनेहोला । कसैलाई त सिधा आपत्ति हुनसक्छ वा आपत्ति जनाउन सक्छन् । किनकि आजभोलि हाम्रो समाजमा इस्लामलाई एउटा निश्चित पोसाक र हुलियासँग मात्र जोडेर बुझ्ने गरिन्छ ।

दाह्री, टोपी, कुर्ता–पाजामा, सलवार–कुर्ता, हिजाब, नकाब जस्ता पहिरनलाई नै इस्लामी पोसाक बनाइएको छ । यसकारण आज पोसाकको विषयमा स्पष्ट र जिम्मेवार बहस आवश्यकता छ । दुःखको कुरा के छ भने, समाजमा मात्र होइन, केही धार्मिक वक्ता र मुस्लिम धर्मगुरुहरूले पनि पोसाककै आधारमा मानिसको इमान, इस्लामिक प्रतिबद्धता, आस्था र धार्मिक हैसियत नाप्न थालेका छन् ।

आफ्नो विचारसँग असहमत हुने, प्रश्न उठाउने वा अहलेबैतको पक्षमा तर्क गर्ने व्यक्ति खास गरी महिलालाई ‘गैरइस्लामी पोसाक’ को आरोप लगाउँदै इस्लामबाट खारेज गर्न र काफिरको फत्वा लगाउन हतार देखिन्छ । यस्तो प्रवृत्ति न केवल सामाजिक विभाजनको कारण बन्दै गएको छ । साथै इस्लामको मूल मर्मलाई नै फरक दिशातर्फ मोड्न थालिएको छ ।

पोसाकलाई धर्मको हिस्सा बनाउन तछाडमछाड गर्ने धर्मगुरुहरुले सर्वप्रथम यो बुझ्न जरुरी छ कि इस्लाम कुनै एक भूगोल, जाति वा संस्कृतिमा मात्र सीमित धर्म होइन । यो सार्वभौमिक र सर्वकालिक धर्म हो । संसारको धेरै यस्ता देश पनि छन् जहाँको भौगोलिक परिवेश यस्तो छ कि कपाल र जुंगा दाह्री नै आउँदैन । अब त्यहाँ उनले एक मुठी दाह्री कसरी पाल्ने दाह्री नै इस्लामी पहिचान भन्छन्, ओलेमाले ।

यदि त्यसो हो भने ओलेमाका अनुसार उनी मुसलमान नै होइनन् । यहाँ दाह्रीलाई यसैकारण सुन्नत भनियो फर्ज भनिएन । किनकि यसमा पनि हिक्मत छ । इस्लामका प्रवर्तक पैगम्बर मुहम्मद स.अ.व. अरब भूमिमा जन्मिनुभयो कुरआन अरबको भूमिमा अवतरण भयो । तर मात्र अरब संस्कृतिको लागि इस्लाम धर्म होइन । यदि इस्लामका प्रवर्तक पैगम्बर मुहम्मद अरबमा जन्मिनु भएकोले अरबको पोसाकलाई अनिवार्य बनाएको भए विश्वभरिका सबै मुसलमानहरू एउटै पोसाकमा देखिनुपर्ने थियो अरबी झुब्बामा होइन र ?

तर यथार्थ त एकदमै फरक छ । किनकि इस्लामलाई विशेष पोसाकमा कैद गरिएन । हेर्ने हो भने अफ्रिकामा अति गर्मी हुन्छ, तसर्थ त्यहाँ मुसलमानहरूको आफ्नो छुट्टै स्थानीय पहिरन छ । अलि विकसित देश इन्डोनेसिया र मलेसियामा फरक पोसाक छ, त्यहाँ सरोङ र अबाया प्रचलित छ । टर्की र युरोपका यी देश जस्तै : स्वीडेन, स्विट्जरल्यान्ड, अस्ट्रिया, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम, युनाइटेड किङ्डम आदिमा बढी चिसो हुन्छ, त्यसैले त्यहाँ महिला र पुरुष दुबैको कोट–पाइन्ट, ज्याकेट सामान्य पोसाक छ ।

दक्षिण एसियाली नेपाल, भारत, पाकिस्तान, बांग्लादेश, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान लगायतका देशको तराई भेगमा गर्मी, वर्षा र शितलहर गरी तीन मौसम हुन्छन् । यहाँका हिमाली भेगमा धेरै चिसो र हिउँ पर्छ, जहाँ बाक्लो लुगा लगाइन्छ । जबकि समुद्री तटसँग जोडिएको भागमा सामान्य तापमान पर्ने हुँदा सहज हुने मुलायम र पातलो लुगा लगाइन्छ । तसर्थ यहाँका मुसलमानले साडी, सलवार–कुर्ता र दौरा–सुरुवाल, चौबन्दी चोली, कुर्ता पाजामा, लुंगी र धोतीसम्म मुसलमानहरूले पहिरनको रुपमा अपनाएका छन् ।

यी सबै फरक फरक परिवेश भौगोलिक भिन्नता र संस्कृतिसँग जोडिएका पोसाक हुन् । जुन मानिसहरुले आफ्नो सहजता र परिवेश अनुसार बस्ने मुस्लिम समुदायका महिला र पुरुषले लगाउने गरेका छन् । अरबको झुब्बा नै अनिवार्य भनिएको भए टर्की र मिश्रका मुस्लिम कसरी बाँच्ने थिए ? कुर्ता पाजामा नै इस्लामिक पोसाक भइदिएको भए युरोपको हिउँ पर्ने ठाउँमा बस्ने मुस्लिमहरु पातलो कुर्ता पाजामा लगाएर त्यति चिसोमा कसरी बाँच्ने थिए, होइन र ? यसले स्पष्ट देखाउँछ कि इस्लामले कुनै ठाउँका संस्कृतिलाई नष्ट गर्दैन, बरु सभ्य समाजमा नैतिक दायराभित्र रहेको पोसाकलाई नै त्यस ठाउँको लागि इस्लामी पोसाकको रुपमा स्वीकार गर्छ । फिकहको किताब अनुसार इस्लामले भन्छ ‘तिमी जहाँ बस्छौ त्यहाँको सम्मानित समाजले अपनाएको सभ्य पोसाकलाई ग्रहण गर ।’

कौमे बनीईस्राईलका पुरुष र महिलाहरुले पूरै शरीर ढाक्ने गरी कपडा लगाउने गर्थे । यहाँसम्म कि महिलाहरुले टाउको समेत ढाक्ने गर्थिन् । तर तिनको छाती भने खुल्ला हुन्थ्यो । छाती ढाक्ने चलन थिएन । जसले गर्दा महिलालाई हिंसा हुने कारण बन्न सक्ने सम्भावना बढी थियो ।

यसकारण जब इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद मुस्तफा सल्लाहो अलैहे व आला आलेही वसल्लम संसारमा आउनुभयो । अल्लाहले कुरआन पनि ल्याउनु भयो । कुरआनको सुरह नूरको आयत नं. ३० र ३१ मा महिला र पुरुषलाई शरीर ढाक्ने आदेश दिएको छ । जसमा महिला पुरुष दुबैले पूरै शरीर ढाक्नू भनिएको छ । खासगरी महिलालाई छाती ढाक्ने आदेश दिएको छ । इस्लामले पोसाकलाई अस्वीकार गरेको छैन् । तर पोसाकलाई नै इस्लामको मापदण्ड पनि बनाएको छैन ।

सुरह अल–आराफ (७ः२६) मा भनिएको छः “हे आदमका सन्तानहरू ! हामीले तिमीहरूका लागि लाज छोप्ने पोसाक र सजावटको पोसाक अवतरित गर्‍यौँ, तर तक्वाको पोसाक नै सबैभन्दा उत्तम हो ।” यसको आयतले तीन महत्वपूर्ण सन्देश दिन्छ । पहिलो कुरा पोसाक लाज र मर्यादा जोगाउनका लागि हो । दोस्रो कुरा पोसाक सौन्दर्य र सजावटको माध्यम पनि हुनसक्छ ।

तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा, सबैभन्दा श्रेष्ठ पोसाक भनेको तक्वा हो । यस आयतमा कतै पनि पोसाकको रंग, डिजाइन, शैली वा संस्कृतिगत स्वरूप निर्धारण गरिएको छैन् । किनकि तक्वा भौतिक कपडा होइन, यो आत्मिक र नैतिक पहिरन हो । एक वाक्यमा भन्दा तक्वा भनेको ईश्वरप्रतिको चेतना, न्यायप्रियता, सत्यनिष्ठा, विनम्रता र उत्तरदायित्व हो ।

यदि कसैले धार्मिक देखिने पोसाक लगाउँछ तर झुठ बोल्छ, अन्याय गर्छ, घमण्ड गर्छ र घृणा फैलाउँछ । उसले इस्लामी पोसाक लगाएको हुनसक्छ, तर उसले तक्वाको पोसाक लगाएको हुँदैन । यसको उल्टो यदि कसैको साधारण वा भौगोलिक हिसाबले सांस्कृतिक पहिरन कोट–पाइन्ट, पाइन्ट–शर्ट, टि–शर्ट, दौरा–सुरुवाल आदि लगाएको छ । तर इमानदार, न्यायप्रिय, आस्थावान र मानवतावादी छ भने ऊ इस्लामको आत्मासँग नजिक छ । हेक्का रहोस्, यहाँ पहिरनको कुरालाई लिएर मश्जिदमा नमाज पढ्न जानेहरुमाथि गरिने नकारात्मक टिप्पणीले गर्दा नमाजी कम हुँदैछन् ।

यसैगरी महिलामाथि पोसाकलाई लिएर टिप्पणी गर्दा चरित्रहत्या समेत गर्न पछि पर्दैनन् । कुनै महिलाले नकाब लगाएर हिड्दैनिन् भने फलानाको छोरी त नकाब लगाउएर हिड्दैन् ऊ त पक्का चरित्रहीन नै हो भनी ठोकुवा नै गरिन्छ । फलानाकी छोरी साडी लगाउछे, ढिकानाको जोई यस्तो कपडा लगाउँछे । फलानी त नकाब लगाउँदिन, ढिस्कानी त हिजाब लगाउँदिन आदि वाक्यका साथ नकारात्मक असभ्य, अश्लिल र भद्दा शब्दहरु जोडर बिना प्रमाण चरित्रहीन भनी स्वघोषणा गरिन्छ ।

जबकि फिकहका किताबहरुलाई उठाएर हेर्ने हो भने मुसलमानहरूले यही लुगा लगाउनुपर्छ भनी कहीँ तोक आदेश गरिएको छैन । त्यसको कारण यो छ कि इस्लामलाई आफाकी मजहब भनिन्छ । किनकि यो अरब, अजम, कालो–सेतो, पूर्व–पश्चिम सबैका लागि हो । यसर्थ कुनै विशेष पहिरन, भाषा वा संस्कृतिमा कैद गर्न वा बाध्न सकिँदैन् ।

यसको धार्मिक ग्रन्थ पवित्र कुरआनको सन्देश सम्पूर्ण मानवजातिका लागि मार्गदर्शन हो । इस्लामका अन्तिम दूत पैगम्बर हजरत मोहम्मद स.अ.व. सम्पूर्ण संसारको लागि रहमत बनेर आएका छन्, उनलाई यसैकारण रहमतलिल आलामीन भनिन्छ । यसले पनि प्रष्ट हुन्छ कि इस्लाम विश्वव्यापी फैलिएको धर्म हो, जसलाई पोसाक, भेषभुषा, भाषा, खानपान र रहनसहन आदिको आधारमा संकुचित गर्न पाइँदैन र कसैलाई पनि यिनको आधारमा विभेद गर्न पाइँदैन ।

बिडम्बना, आज समाजमा देखिएको खराब प्रवृत्ति भनेकै पोसाककै आधारमा अधिकांश मुसलमानमाथि फत्वा लगाउनु हो । कसैले कोट–पाइन्ट लगायो भन्दैमा गैरइस्लामी ठहर गर्नु, फरक विचार राखेकै कारण इस्लामबाट बाहिर घोषणा गर्नु र अहलेबैतको जिकिर बढी गर्यो भनी शिया काफिर जस्ता फत्वा लगाउनु ओलेमाहरुको ट्रेन्ड बनिसकेको छ । जबकि यी कुरा इस्लामको शिक्षा र मुल्यमान्यता विपरीत हुन् । रसूलुल्लाह स.अ.व.ले कसैलाई पनि काफिर भन्नु अत्यन्त गम्भीर कुरा भएको चेतावनी दिनुभएको छ ।

गलत रूपमा लगाइएको यस्तो आरोप आफैमाथि फर्किन सक्छ भन्ने हदीसहरूमा उल्लेख पनि छ । यदि अहलेबैतको शिक्षा र इस्लामी चरित्रको कुरा गर्ने हो भने अहलेबैत अ.स. को शिक्षामा पोसाक होइन, चरित्र केन्द्रमा राखिन्छ । इमाम अली अ.स. को फरमान छ कि ‘मानिसको मूल्य उसको बुद्धि, न्याय र आचरणबाट मापन गर्नुपर्छ कपडाबाट होइन ।’

इतिहास साक्षी छ “अहलेबैत अ.स. र मुसलमानहरूको माथि अत्याचार गर्ने अत्याचारीहरु पनि धार्मिक पोसाकमै हुनेगर्थे । त्यसैले इस्लामले बाहिरी आवरणभन्दा भित्री चरित्रलाई महत्व दिन्छ । इस्लाममा पोसाक सभ्यता जोगाउने साधन हो, आस्थाको प्रतीक होइन । आस्था भनेको आत्मशुद्धि, सामाजिक न्याय, नैतिकता र मानव मर्यादाको संरक्षण हो । यदि पोसाकलाई नै इस्लामको सबैभन्दा ठूलो चिन्ह बनाइन्छ भने इस्लाम तब धार्मिक स्टेजी कार्यक्रमको औपचारिकता र पहिरन प्रदर्शनी (फर्मल ड्रेस प्रोग्राम) मात्र सीमित हुनेछ ।

यद्यपि इस्लामले सादगी, लज्जा र मर्यादालाई उच्च स्थान दिएकोछ । त्यसैले अश्लीलता फैलाउने, घमण्ड बढाउने वा गैरमहरमका लागि आकर्षण बन्ने फेशन र मेकअप इस्लामी शिक्षा अनुसार नाजायज वा हराम हुन सक्छन् । तर यसको अर्थ यो होइन कि अब त्यो व्यक्ति इस्लामबाट नै बाहिर निस्कन्छ । इस्लाममा गुनाह र कुफ्र बीच स्पष्ट भिन्नता छ । गुनाह गर्नु ईमानको कमजोरी हो, तर अल्लाहको वहदानियतको इन्कार होइन । फेशन वा मेकअप गर्नु, यदि इस्लामी मर्यादा विपरीत भयो भने मात्र गुनाह हुन सक्छ । तर त्यसैलाई आधार बनाएर कसैलाई काफिर वा इस्लामबाहिर वा काफिर घोषणा गर्नु गम्भीर खालको गलत कार्य हो ।

इस्लामी शिक्षाले दण्डभन्दा पहिले नसीहत, समझदारी र दयालाई प्राथमिकता दिन्छ । किनकि अल्लाह त मानिसको बाह्य आवरणभन्दा व्यक्तिको हृदय र उसको कर्मलाई हेर्छ । त्यसैले सुधारको बाटो प्रेम, हिक्मत र सहनशीलताबाट खुल्छ, घृणा र बहिष्कारबाट होइन । यसकारण कसैलाई दाह्री नपालेको निहुँमा, कसैले कुर्ता पाजामा लगाएकै कारण वा कसैले नकाब र हिजाब नलगाएकै कारण उसलाई स्वघोषित रुपमा इस्लामबाट बाहिर ठहर गर्नु न त न्याय संगत छ, न त इस्लामी सिद्धान्तसँग मेल खान्छ ।

जसरी कुनै विशेष पहिरन आस्थाको जमानत होइन र त्यसको पहिरनका आधारमा दाँतले इस्लामबाट खारिजको फत्वा दिन मिल्दैन । त्यसरी नै हिजाब लगाउनेहरुलाई स्वतन्त्रता छ । किनकि हिजाब केवल कपडाको टुक्रा होइन, यो हिजाब लगाउने महिलाको आत्मसम्मानको प्रतीक हो । तसर्थ जसले हिजाब लगाउँछन् तिनलाई पेशागत क्षेत्रमा तिनको क्षमता, ज्ञान र इमानदारीलाई प्राथमिकता दिनुपर्छ । उनले लगाउने पहिरनलाई होइन । हिजाब लगाउने निर्णय महिलाको व्यक्तिगत अधिकार हो, र त्यो अधिकार कार्यस्थलमा पनि उत्तिकै सम्मानित हुनुपर्छ । विविधता स्वीकार्ने समाज नै न्यायपूर्ण र प्रगतिशील हुन्छ ।
निष्कर्ष
इस्लामले कुनै विशेष पोसाकको आदेश दिएको छैन, तर चरित्रको जिम्मेवारी छ । इस्लामले शरीर होइन्, आत्मा सुधार्ने शिक्षा दिन्छ । इस्लामले मानिसको कपडा होइन, कर्म र नियत मूल्यांकन गर्छ । कुरआनले तक्वाको पोसाक नै सबैभन्दा उत्तम हो भन्छ । आजको आवश्यकता इस्लामलाई कपडाको दायराबाट मुक्त गरी यसको वास्तविक आत्मा अर्थात् न्याय, करुणा, सत्य र मानवताको रूपमा पुनःस्थापित गर्नु हो ।
स्मरण रहोस्, अल्लाहको नजिक धर्मको मूल्यांकन वस्त्रले होइन, चरित्र र तक्वाले हुनेछ ।

त्यस्ता दाह्री पालेर झुब्बा टोपी कुर्ता पाजामा लगाउने पुरुष र नकाब र हिजाब लगाउने महिलाहरु जो गलत र अनैतिक कार्य गर्छन् । तिनीहरु भन्दा ती राम्रो छन् जो जीन्स टी शर्ट र साडी लगाउँछन् तर अल्लाहसँग डराउँछन् । अर्थात् दाह्री नपाल्ने, झुब्बा टोपी कुर्ता पाजामा नलगाउने पुरुष र नकाब र हिजाब नलगाउने महिला, जसको हृदयमा अल्लाहको डर छ र कुनै गलत र अनैतिक कार्य गर्दैनन् तिनी असल हुन् अल्लाहको नजिक ।