काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा नतिजा ननिस्किएमा नराम्रो हुने धम्की दिएका छन् । ट्रम्पले इरानसँग वार्ता गरिरहेको जानकारी दिँदै सकारात्मक परिणाम नआएमा नराम्रो हुने धम्की दिएका हुन् ।
ट्रम्पले भने- ‘हामी हाल इरानसँग वार्ता गरिरहेका छौं, र मलाई आशा छ, परिणाम सकारात्मक हुनेछ, किनकि यदि त्यसो भएन भने, केहि नराम्रो हुन सक्छ ।’
ट्रम्पले उनको प्रशासनका प्रतिनिधिहरू इरानी सरकारसँग वार्तामा रहेको र वार्ताबाट परिणाम सकारात्मक आउने विश्वास व्यक्त गरेका छन् ।इरानी विदेशमन्त्री अब्बास अराघची र ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ बीच आगामी केही दिनमा सम्भवतः टर्कीको इस्तानबुलमा प्रत्यक्ष भेटघाट हुने अनुमान बढ्दै गएको समयमा ट्रम्पको यस्तो भनाई आएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजदूत स्टीव विटकफ, उनका ज्वाइँ तथा सल्लाहकार जारेड कुशनर र इरानी विदेशमन्त्री अब्बास अराघची बैठकमा सहभागी हुने बताइएको छ ।
टर्की, कतार र इजिप्टका वरिष्ठ अधिकारीहरू पनि उपस्थित हुने अपेक्षा गरिएको छ । मिडिया रिपोर्टका अनुसार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान र पाकिस्तान जस्ता अन्य देशका प्रतिनिधिहरू पनि सहभागी हुन सक्ने बताइएको छ ।