नेपालको इतिहास शहिदहरूको रगत, त्याग र साहसले लेखिएको इतिहास हो । यिनै महान् व्यक्तित्वप्रति सम्मान, श्रद्धा र कृतज्ञता प्रकट गर्न प्रत्येक वर्ष माघ १६ गते शहिद दिवस मनाइन्छ । नेपालमा शहिद परम्पराको सुरुवात निरंकुश राणा शासनविरुद्धको संघर्षसँग जोडिएको छ ।
धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीजस्ता शहिदहरूले प्रजातन्त्रको बीऊ रोपे । त्यसपछि २०४६ सालको जनआन्दोलन, माओवादी जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन, जनजाति तथा क्षेत्रीय आन्दोलन लगायतका विभिन्न राजनीतिक तथा सामाजिक संघर्षहरूमा हजारौँ नागरिकहरूले आफ्नो जीवन बलिदान गरे ।
परिणामस्वरूप नेपाल आज नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्य बनेको छ । हालै भएको जेनजी आन्दोलनमा युवाको बलिदानले आज हामी नयाँ नेतृत्वको खोजीमा छौं । नयाँ नेपाल निर्माणको बाटोमा छौं ।
पछिल्लो समय नेपालमा देखिएको जेन–जी आन्दोलन आधुनिक चेतना, डिजिटल युग र युवा सोचको प्रतिनिधित्व गर्ने आन्दोलन शान्तिपूर्ण, सचेत र मुद्दा–केन्द्रित थियो । सुशासनको अभाव, बढ्दो भ्रष्टाचार, बेरोजगारी, अवसरको असमान वितरण, शिक्षा र स्वास्थ्य प्रणालीको कमजोरी, पारदर्शिताको कमी र राज्यको उत्तरदायित्वप्रति प्रश्न उठाउँदै जेन–जी पुस्ता सडकमा आन्दोलन गरेर शहिद भए । आन्दोलनका क्रममा भएका घटनामा ७६ जनाले ज्यान गुमाउनुपर्यो । एक हजार भन्दा बढी घाइते भए । त्यति धेरैको मृत्युले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनायो ।
नेपाल सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनालाई शहीद घोषणा गर्ने निर्णय गर्नु ऐतिहासिक र अर्थपूर्ण कदम हो । यसले राज्यले युवा पुस्ताको आवाज, बलिदान र संघर्षलाई औपचारिक रूपमा स्वीकार गरेको संकेत गर्दछ । सामाजिक सञ्जाल, नागरिक दबाब र सामूहिक आवाजमार्फत् राज्यलाई जिम्मेवार बनाउने प्रयास गरेका जेन–जी आन्दोलनका शहिदहरू केवल राजनीतिक अधिकारका लागि मात्र नभई प्रणलीमा सुधार, न्यायपूर्ण समाज र उत्तरदायी राज्य निर्माणका लागि लडेका प्रतीक हुन् । यसले शहिदको परिभाषा समयसँगै विस्तारित हुँदै गएको देखाउँछ—अब शहिद केवल बन्दुक बोकेका योद्धा मात्र होइनन्, विचार, चेतना र नागरिक अधिकारका लागि शान्तिपूर्ण संघर्ष गर्ने युवा पनि शहिद हुन सक्छन् ।
बेला बेला हुने यस्ता राजनीतिक र जन आन्दोलनले शहीद घोषणा गर्नु, सालिक बनाउनु वा एक दिन सहिद दिवस मनाएर श्रद्धाञ्जली अर्पण गर्नु मात्र पर्याप्त हुँदैन । शहिदप्रति साँचो सम्मान भनेको उनीहरूले देखाएको सपना व्यवहारमा उतार्नु हो । शहिद दिवस नेपालको इतिहास, वर्तमान र भविष्यलाई जोड्ने महत्वपूर्ण अवसर हो ।
विगतका शहिदहरूले राजनीतिक स्वतन्त्रताको बाटो खोले भने जेन–जी आन्दोलनका शहिदहरूले लोकतन्त्रलाई गुणस्तरीय, उत्तरदायी र जनमुखी बनाउने संघर्षलाई अगाडी बढाएका छन् । जेन–जी आन्दोलनका ७६ जना शहीदहरूको बलिदानले हामी सबैलाई यही जिम्मेवारी सम्झाइरहेको छ । शहिदलाई सम्मान गर्ने हो भने राज्यले सुशासन कायम गर्नुपर्छ, भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ, पारदर्शी र जवाफदेही प्रशासन स्थापना गर्नुपर्छ र युवालाई नीति निर्माण प्रक्रियामा सार्थक रूपमा सहभागी गराउनुपर्छ ।
शहिदहरूले व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्र र समाजको हितलाई सर्वोपरि राखे । त्यसैले शहिद दिवसले नागरिकमा राष्ट्रप्रेम, कर्तव्यबोध, सामाजिक जिम्मेवारी र लोकतान्त्रिक चेतनाको विकास गराउँछ । शहीद दिवस केवल औपचारिक कार्यक्रम गर्ने दिन मात्र होइन, यो दिनले राष्ट्रलाई आत्मसमीक्षा गर्न, शहिदका सपना सम्झन र ती सपना पूरा गर्ने संकल्प गर्न प्रेरित गर्दछ ।
जेन–जी आन्दोलनका शहिदहरूले उठाएका मुद्दाहरू सम्बोधन नगरेसम्म शहीद दिवसको औचित्य अधुरो रहन्छ । अतः शहिद दिवस केवल सम्झनाको दिन वा श्रद्धाञ्जली अर्पण गर्ने दिन होइन, यो संकल्पको दिन हो । शहीदको संख्या बढाउने भन्दा पनि विभिन्न आन्दोलनबाट उठेका माग पूरा गर्ने गर्नुपर्छ ।
जन्ताले चाहेको शहीदका सपना पूरा गर्ने, उनीहरूले चाहेको सुशासन कायम गर्नु, कानुनी शासन मजबुत बनाउनु, नागरिकको आवाज सुन्ने वातावरण सिर्जना गर्नु र युवालाई नीति निर्माणमा सहभागी गराउनु नै सबै शहिदप्रतिको साँचो सम्मान हो । जेन–जीहरुको त्यागले नयाँ नेपाल निर्माण होस् ।