• फाल्गुन २३ २०८२, शनिबार

काठमाडौंमा भन्दा काठमाडाैं बाहिर चुनावकाे चटाराे किन ?

माघ १६ २०८२, शुक्रबार

यस पटकको चुनावी सरगर्मी काठमाडौं बाहिर सरेको छ । यो सरगर्मी तराइमा पुगेको छ । यस अघिका दिनमा चुनावी गुल्जारमा सजिने राजधानी सहर काठमाडौं र बाग्मती प्रदेश अहिले सापेक्ष शान्त र शालिन छ ।

बेलाबेलामा दलका नेताको राजधानी फिर्ती र पत्रकार भेटघाटमा मात्र काठमाडौं केही तातो महसुस हुन्छ । होइन भने पत्रकार र सञ्चार केन्द्रहरू मात्र आआफ्ना आगो बालेर काठमाडौं तातो बनाइरहेको प्रतित हुन्छ ।

यसरी चुनावी ‘हट स्पट’ तराइ हुनुमा धेरैले बुझेका छैनन् पनि । हुन त जेन्जी आन्दोलनपछि एक पटक फेरि मोफसल इलाका देशको मूलप्रवाहमा समाहित हुन आतुर देखिन्छ । अर्को कुरा, जनताको न्यानो माया र सद्भाव मोफसलमा देखिएको पनि छ ।

यसलाई चुनावी मत परिणाममा परिणत गर्न राजनीतिक पार्टी तथा तिनका उम्मेदवार त्यहाँ पुग्नु अस्वाभाविक होइन । जेन्जी आन्दोलनमा सहभागी हुने जेन्जी अभियन्ता र आन्दोलनकर्ताको गणितीय हिसाब गर्दा पनि राजधानी बाहिरका जेन्जी युवाको ‘ए प्लस’ उपस्थिति रहेको स्वयम् तथ्यले देखाउँछ ।

नेपालको पछिल्लो ‘हट केक’ भनेका मूलतः जेन्जी आन्दोलन र यसले अघि सारेका मागहरू नै हुन् । योसँगै जेन्जी आन्दोलनको केन्द्रविन्दु काठमाडौं भए पनि त्यसमा सहभागी युवाका कारण जेन्जी सम्बन्ध काठमाडौं बाहिर बन्नु र तदनुरूप चुनावी सरगर्मी काठमाडौं बाहिर सर्नु यसको अर्को कारण हो ।

यसपछिको कारण भनेको पुराना र नयाँ दलको अघोषित प्रतिस्पर्धा चल्नु र तराइमा संसद सङ्ख्या अधिक रहनु पनि हो । बहुमतको सरकार बनाउन स्वयम् दलका नेता तथा शीर्ष नेतालाई त्यहाँ पुग्नु पनि एक अनिवार्यता बन्न पुगेको देखिन्छ । यसले तराइमा चुनावी सरगर्मी स्वतः आकासिने बनाएको छ ।

चुनावी एजेण्डा र सरकारमा सहभागिताका हिसाबले पनि तराइका जनतामा राजनीतिक पहुँचको खाँचो परिरहेको छ । यो खाँचोको आपूर्ति एकातिर र अर्कोतिर भोटको राजनीतिको दोहोरो चाहना र आवश्यकताले पनि तराइमा नेताको गमन एक संयोग नै बन्न पुगेको छ । यसले गर्दा हिउँदे चिसो मौसमका बाबजुद तराई तातिन पुगेको छ ।

यस अघिका तराइबासी स्थानीय नेता केवल तराइ केन्द्रित हुन गए । यो बाध्यता थियो वा विवशता ? त्यहाँका जनताले जान्ने र बुझ्‌ने कुरा हो । तर त्यहाँका नेता केवल ‘मधेशवादी नेता’ का रूपमा सिमित हुन गए । यसले पनि तराइबासीका मनोकाङ्क्षा देशको राष्ट्रिय मूलधारमा समाहित हुनु पर्ने आवश्यकताको बोध गराउँदा अहिलेको चुनावी सरगर्मी तराइमा सर्न पुगेको छ ।

त्यसमाथि हालका जल्दाबल्दा युवा नेता तथा काठमाडौंका निवर्तमान मेयर बालेन शाह तराइ मूलका नेता हुन् । उनी प्रधानमन्त्रीको दाबेदारीको घोषणासहित तराइमा उम्मेदवारी दिन पुग्नुले पनि चुनावी सरगर्मी तराइमा सर्न पुगेकोमा कुनै शङ्का छैन ।

पुराना राजनीतिक दल सापेक्ष ‘टेस्टेड’ र असफल हुनु अनि जनताको ‘मत परिवर्तन’को आकाङ्क्षा मौलाएर आउनुले पनि नयाँ नेता तथा उम्मेदवारको आगमनसँगै तराइमा चुनावी गुल्जार छाउन पुगेको छ । यसमा नयाँ आशा र त्यसको छनौटको अभिलाषाले पनि काम गरेको छ ।

यी त भए, राष्ट्रिय अन्तरविरोध र त्यसका व्यवस्थापनका कुरा । यसमाथि थप अन्तर्राष्ट्रिय चासोले पनि यो काम गरिरहेको छ । अहिलेको विश्व अन्तरविरोध र त्यसले नेपालमा सिर्जना गरेको भूराजनीतिक चासोले पनि तराईमा चुनावी सरगर्मी ल्याउन मद्दत गरिहेको छ ।

नेपालको तराइमा दक्षिणी छिमेकी देश भारतसँग खुल्ला सिमाना रहेको छ । नेपालको तराईमा छिमेकी देश भारतको पनि कम चासो छैन । त्यो क्षेत्रमा पकड बलियो नभएमा नेपालमा केही प्रभावकारी काम गर्न नसकिने र विशेषतः भारतसँगको सम्बन्धमा तराईले विशिष्ट भौगोलिक र तथा राजनीतिक महत्व राख्ने कुराको बोध अमेरिकाले गरिरहेको देखिन्छ ।

त्यसैले पनि भारत–अमेरिकी खटपट र अन्तरविरोधले पनि तराइको निर्वाचनमा नेता जुधाउने र आआफ्नो पक्षधरताका आधारमा मत परिणाम देखाउने भूराजनीतिक प्रतिस्पर्धाको गन्ध सुस्पष्ट बोध गराएको छ । मूलतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरविरोधका यिनै आयाम, पहलु र पहलहरूले नेपालको तराइमा यस पटकको चुनावी सरगर्मी निकै बढाउन पुगेको छ ।