• फाल्गुन २३ २०८२, शनिबार

प्रचण्डलाई विप्लवले फर्काए कडा जवाफ,‘म आँत सडेको मान्छे होइन’

माघ १५ २०८२, बिहीबार

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र भएको बताएका छन् ।

प्रचण्डले बुधबार विप्लवलाई अब यताउता नलागेर एकतामा आउन गरेको आव्हानको जवाफ दिँदै विप्लवले आफ्नो धारणा राख्दै यस्तो जवाफ दिएका हुन् ।

विप्लवले सबै कम्युनिस्ट पार्टीबीच मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता गर्ने भन्दै उनले मालेमाओवादी पार्टीको सुदृढीकरण नै पार्टीको मूल नीति रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्: 

कम्युनिस्ट आन्दोलन बारे हाम्रो स्पष्ट धारणा छ:-

१) सबै कम्युनिस्ट पार्टीहरूका बीचमा मोर्चा र सहकार्य ।

२) सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता र

३) मालेमावादी पार्टीको सुदृढीकरण ।

आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र  हो‌ । यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतिहारा मात्र पर्छ । अनेकौ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यमा अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र संभावनाको केन्द्र हो । आउँदो भविष्यले अवश्य सावित गर्नेछ ।