काठमाडौं । काठमाडौंमा वर्षा भएको छ । बुधबार सँझ काठमाडौंमा पानी परेको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर बादल लागेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ(गर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । साथै सो प्रणाली तीव्र गतिमा उत्तर पूर्वतिर सरिरहेको महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनले देशका उच्च पहाडी र हिमाली भू–भागमा पूर्णतया र बाँकी भू–भागमा साधारणतया बादल लागेको जानकारी दिएकी छन् । उनले गए रातिदेखि नै यो प्रणाली पश्चिमी भू–भागबाट नेपालमा प्रवेश गरेको जानकारी दिइन् ।
यो प्रणालीले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा गराएको उनको भनाइ छ । बुधबार बिहानदेखि उक्त प्रणालीका कारण वाग्मती प्रदेशमा पनि हल्का वर्षा भएको उनको भनाइ छ ।
बुधबार साँझबाट मौसममा सुधार आउने र बिहीबारदेखि भने मौसम पूर्ण रूपमा खुल्ने महर्जनको भनाइ छ ।