इस्लामको कुरा गर्छौं भने अहलेबैतलाई मान्नु पर्ने सर्तको कुरा पनि संगसंगै गर्नु अति आवश्यक छ । आजका मुसलमान हामीले नमाज पढ्नु, जकात दिनु, रोजा बस्नु र हज गर्नुलाई नै इस्लामको शर्त भनेर बुझ्दछौं । तर दीन ए हकमा सर्त र फर्ज दुई फरक कुरा छन् । फर्ज भनेको त्यो कर्म हो, जुन पूरा गर्नु पर्ने इस्लाममा धार्मिक जिम्मेवारी हो ।
तर सर्त भनेको त्यो आधार हो जो बिनाको अवस्थामा फर्जहरु पुरा गर्नुको कुनै अर्थ र स्वीकार्यता रहदैन् र इमान नै अपूर्ण हुन्छ । जसरी वुजू बिना नमाज हुँदैन, त्यसरी नै अहलेबैतको मान्यता बिना दीन–ए–हक पूर्ण हुँदैन । इस्लाम केवल केही इबादतहरूको संग्रह मात्र होइन, यो त जीवनको पूर्ण मार्गदर्शन अर्थात् निजाम–ए–हयात हो । यही पूर्णरुपमा सही मार्गदर्शन रसूलुल्लाह ﷺ सल्ललाहो अलैहे व आला आलेही वसल्लमपछि कसको माध्यमबाट सुरक्षित रहन्छ त । जसको जवाफमा कुरआनले अहलेबैतलाई केवल ऐतिहासिक व्यक्तित्वको रूपमा होइन, दीनको शुद्धताको प्रतीकका रूपमा प्रस्तुत गरेको छ ।
अहलेबैतको अर्थ “पारिवारिक सदस्यहरू” इस्लामिक सन्दर्भमा पैगम्बर मुहम्मद ﷺ का नजिकका परिवारका सदस्यहरूलाई अहलेबैत भनी जनाउँदछ । यो शब्द मुख्यतः आदाब र उच्च सम्मानका साथ प्रयोग हुन्छ । मुख्य तथ्यहरुको अनुसार अहलेबैतमा हज़रत मुहम्मद ﷺ स्वयम्, हज़रत इमाम अली इब्ने अबी तालिब (काका छोरा र ज्वाइँ), हज़रत फातिमा ज़हरा सलामुल्लाहे अलैहा (छोरी), हज़रत इमाम हसन र इमाम हुसैन (नातीहरू) पर्दछन् । यसलाई कतिपय हदीस र मतानुसार बढी सदस्यहरू पनि मानिन्छन्, तर सबैभन्दा स्पष्ट मान्यता माथि दिइएको चार जनामा नै केन्द्रित छ ।
सूरह अल–अहजाबको आयत नं. ३३ मा लेखिएको छ “हे अहलेबैत ! अल्लाह तिमीहरूबाट सम्पूर्ण अपवित्रता टाढा राख्न र तिमीहरूलाई पूर्ण रूपमा पवित्र बनाउन चाहनुहुन्छ ।” यस आयतलाई आयत–ए–ततहीर पनि भनिन्छ । यसमा अहलेबैतलाई विशेष रूपमा सम्बोधन गर्दै अल्लाहले उनीहरूको आत्मिक र नैतिक पवित्रताको घोषणा गर्नुभएको छ । यही कारणले इस्लामी विद्वानहरूले अहलेबैतलाई दीन ए हकको मार्गदर्शक र सत्यताको मापदण्ड मानेका छन् ।
यसैगरी हदीस–ए–सक़लैन अर्थात दुई अमानतका बारेमा रसूलुल्लाह ﷺ ले फरमाउनु भयो ।ः “म तिमीहरूका बीच दुई भारी अमानत छोड्दैछु अल्लाहको किताब (कुरआन) र मेरो अहलेबैत । जब सम्म तिमीहरू यी दुबैलाई मजबूतीका साथ समातिरहन्छौ, कहिल्यै गुमराह हुनेछैनौ ।” (सही मुस्लिम, तिर्मिजी, मुस्नद अहमद)
यी उल्लेखित आयत र हदीसमा अहलेबैतको उत्कृष्टता बयान गरिएको छ जसलाई केही मुसलमान जान्दछन् तर मान्दैनन् अर्थात कुरआन पढ्छन् तर कुरआनपाकमा उल्लेख अहलेबैतको उत्कृष्टता र महिमालाई स्वीकार गर्दैनन् । ठीक त्यस्तै जसरी अरबमा मक्काका बासिन्दाहरुले रसूलुल्लाह ﷺ सल्ललाहो अलैहे व आला आलेही वसल्लमलाई सादिक र (सत्यवादी), अमीन (विश्वसनीय) त भन्थे । आफ्ना सरसामान उहाँलाई अमानत स्वरूप राख्न दिन्थे यस विश्वासका साथ कि जस्ताको तस्तै फिर्ता पाउनेछु ।
उहाँले भन्नुभएको कुरामा विश्वास गर्थे । उनीहरूले पनि मान्थे कि कुनै सर्वशक्तिमान छ जसले यो संसार चलाइरहेको छ । जसले दिनमा सूर्योदय गर्छ । जसले राति चन्द्रमा निकाल्छ । जसले हावा चलाउँछ । जसले बर्षा गराउँछ । सबै कबिलाले आ—आफ्नो इच्छा र अनुमान अनुसार ईश्वर चुनेका थिए, जसको तिनले उपासना गर्थे । तर जब उहाँले अल्लाहको वहदानियत (एक अल्लाह) को र नुबूवत (म अल्लाहको रसूल हुँ) ऐलान गर्नुभयो । अल्लाहको उपासना गर्न भन्नुभयो तब कसैले मानेनन्, जबकि उहाँलाई “अल्लाहको रसूल“ मान्नुपर्ने थियो जुनकि उहाँको हक हो । उनीहरु जान्दथे कि मुहम्मद अब्दुल्लाहका छोरा हुन्, अब्दुल मुत्तलिबका नाति हुन् र अबूतालिबका भतिजा हुन् ।
अल्लाहको तर्फबाट जसलाई रहमतलिल आलामीन भनी संसारमा पठाइयो उहाँ नै ती पाकनबी हुन् भनी स्वीकार गर्न मानेनन् । तब अल्लाहको तर्फबाट दीन ए हकको लागि शर्त राखियो । बद्रमा रसूल ﷺ सल्ललाहो अलैहे व आला आलेही वसल्लमको नेतृत्वमा अडिग रहनु नै शर्त थियो । उहदमा रसूल ﷺ सल्ललाहो अलैहे व आला आलेही वसल्लमले आदेश नदिए सम्म स्थान नछोड्नु शर्त थियो । खन्दकमा धैर्य, एकता र रसूल ﷺ सल्ललाहो अलैहे व आला आलेही वसल्लमसँग अडिग रहनु सर्त थियो ।
खैबरमा अल्लाह र रसूलुल्लाहलाई प्रिय रहेको नेतृत्वको हातमा झण्डा दिनु शर्त थियो । रसूल ﷺ सल्ललाहो अलैहे व आला आलेही वसल्लमले फरमाउनु भयो । “भोलि म झण्डा त्यस्तो व्यक्तिलाई दिनेछु जो अल्लाह र रसूललाई प्रेम गर्छ र अल्लाह र रसूल उसलाई प्रेम गर्नुहुन्छ र झण्डा अली (अ.स.) लाई दिनुभयो । सिफ्फीनमा सत्यको नेतृत्व (इमाम अली अ.स.) लाई नछोड्नु शर्त थियो । यसैगरी मक्कामा हुँदा लाईलाहा इल्ललाह सर्त थियो मदीनामा आइसकेपछि मुहम्मद रसूलुल्लाह शर्त भइदियो । अब मदीनामा आइसकेपछि जसले अल्लाहलाई मान्छ उसले मुहम्मदलाई रसूलुल्लाह मान्नु पर्ने सर्त अनिवार्य भइदियो ।
यसै गरी गदीर ए खुमको मैदानमा सर्त छुट्टै थियो अर्थात् रसूलुल्लाह ﷺ सल्ललाहो अलैहे व आला आलेही वसल्लमपछि नेतृत्व (विलायत) लाई स्वीकार गर्नु र हजरत अली अलैहिस्सलामलाई मौला र वली मान्नु शर्त थियो ।
गदीरमा रसूलुल्लाह ﷺसल्ललाहो अलैहे व आला आलेही वसल्लमले सवा लाख सहाबालाई जम्मा गरेर ऊंटका जीनहरुबाट मिम्बर बनाउन लगाउनु भयो । त्यस मिम्बरमाथि आफू उभिनुभयो र अली इब्ने अबुतालिबलाई बोलाएर उहाँको हात समातेर माथि उठाउनुभयो र फरमाउनु भयो कि “जसको म मौला हुँ, उसका अली पनि मौला हुन् ।” गदीरको यो घोषणा पश्चात नै कुरआनपाकको सूरह अल–माइदाको आयत नं.३ अवतरित भयो ‘आज मैले तिमीहरूका लागि तिमीहरूको दीन पूर्ण गरिदिएँ ।’ अर्थात् अब गदीरबाट अलीयुन वली अल्लाह मान्नु दीन ए हकको शर्त भइदियो । अलीको विलायत स्वीकार गर्नु दीनको शर्तमा सामेल गरियो जुन घोषणा पश्चात दीन पूर्ण भएको आयत अवतरित भइ गदीरको ऐलानलाई अझ् पूर्णता प्रदान गर्यो । रसूलुल्लाह ﷺ सल्ललाहो अलैहे व आला आलेही वसल्लमको फरमान अनुसार मोमिन र मुनाफिक बिचको फरक छुट्टियाउने आधार नै अली हुन् ।
मक्कामा छँदा वहदानियत दीन ए हकको सर्त रह्यो, मदीनामा हुँदा नबूवत दीन ए हकको शर्त भयो । गदीरबाट अलीको विलायत दीन ए हकको शर्त भयो । शर्तको यो सिलसिला जब करबला सम्म पुग्यो तब हुसैन स्वयम् दीन ए हकका शर्त भए ।
“शाह अस्त हुसैन बादशाह अस्त हुसैन
दीन अस्त हुसैन दीन पनाह अस्त हुसैन“ ।
अब दीन ए हकको एक मात्र शर्त बाँकी रह्यो त्यो सर्त स्वयम् हुसैन इब्ने अली थिए । अब लाईलाहा इल्ललाह पनि शर्त रहेन्, मुहम्मद रसूलुल्लाह पनि शर्त रहेन । अलीयुन वली अल्लाह पनि दीन ए हकको शर्त रहेन । किनकि करबलामा हुसैन अलैहिस्सलामसँग युद्ध गर्नका लागि जो आएका थिए तिनीहरु कलमा पनि पढ्थे । अजान पनि दिन्थे । नमाज पनि पाँच पटक पढ्थे । रोजा पनि बस्थे । कुरआनपाकको तिलावत पनि गर्थे । जकात पनि दिन्थे । हज पनि गर्थे । यस्तो छैन कि उनीहरुलाई थाहा थिएन कि हुसैन अलैहिस्सलाम को हुन् ? कसका छोरा र कसका नाति हुन् भनी सबै थाहा थियो ।
यजीदी लश्कर करबलामा इमामका विरुद्ध यसकारण आए किनकि उनले हुसैन अलैहिस्सलामलाई जानेका थिए तर मानेका थिएनन् । अल्लाहलाई थाहा थियो कि मक्काबासीले अल्लाहलाई त केही कसोगरी मानिहाल्छन् तर मुहम्मदलाई अब्दुल्लाहको छोरा न हो भनेर नबी मान्दैनन् तसर्थ मदीनामा रसूलुल्लाहलाई मान्नु सर्त राख्यो । अल्लाहलाई थाहा थियो रसूलुल्लाह पनि केही कसो गरी मानिहाल्छन् तर अलीसँग इर्ष्या गर्ने मुनाफिकले मौलाइयत स्वीकार गर्दैनन् तसर्थ गदीरमा अलीको विलायतलाई स्वीकार गर्नु सर्त राख्यो ।
करबलामा जो इमाम हुसैन अलैहिस्सलामका साथमा ७२ असहाब थिए तिनी मात्र दीन ए हकको साथ थिए बाँकी सबै यजीद फासिक फाजिर काफिरको साथ थिए । करबलामा इमाम हुसैन अलैहिस्सलामलाई दीन ए हकको शर्त राख्नु पनि अल्लाहको नजिक एक हिकमत नै थियो । अल्लाहलाई थाहा थियो सांसारिक मोहमायामा मनुष्यले इमामलाई बिर्सिहाल्ने छन् तसर्थ इमामको शहादतलाई शर्त राख्यो । सन् ६१ हिजरीमा १० मुहर्रमको दिन इमाम हुसैन अलैहिस्सलाम शहीद गरिए । तर आज सन् १४४७ हिजरी आइसक्दा १३८६ वर्षपछि पनि इमामको शहादतको जिकिर र चर्चा संसारभरि गरिन्छ ।
रिसर्चहरुका अनुसार संसारभरि जसको बारे सबभन्दा बढी चर्चा गरिन्छ, सबभन्दा बढी बोलिन्छ, सबभन्दा बढी जसको बारे लेखिन्छ उनी हुसैन इब्ने अली हुन् । त्यसैको परिणाम हो कि कसैले करबलाका शहीदेआजमलाई आज पनि बिर्सिन सकेको छैन् । जसलाई अहलेबैतको चर्चा मन पर्दैन, ती यजीदी फित्नाहरु जब जहिले जहाँ जसले अहलेबैतको प्रशंसा गर्छ महिमा बयान गर्छ, त्यसमाथि राफजी शिया काफिरको फत्वा लगाउन थाल्छन् । तिनीहरु यो घृणित कार्य अहलेबैतको महिमा र प्रशंसा गर्ने व्यक्तिसंग नीजि रिसडाहाका कारणले गर्दैनन् । उनीहरु त केवल जिकरे हुसैन र जिकरे अहलेबैत रोक्नका लागि यस्तो अमानवीय कार्य गर्छन् । किनकि उनलाई थाहा छ दज्जाललाई अन्त्य गर्नका लागि आउने अन्तिम इमाम पनि यही पवित्र वंशबाट आउनेछन् ।
पहिलो इमाम अली इब्ने अबुतालिब, दोस्रो इमाम हसन इब्ने अली, तेस्रो इमाम हुसैन इब्ने अली, चौथो इमाम जैनुल आबेदीन, पाँचौं इमाम मुहम्मद बाकिर, छैठौं इमाम जाफर सादिक, सातौँ इमाम मूसा काजिम, आठौँ इमाम अली रजा, नौ इमाम मुहम्मद तकी, दशौं इमाम अली नकी, एघारौँ इमाम हसन असकरी अब दज्जाल र त्यसको फित्नालाई समाप्त गर्नका लागि बाह्रौँ इमाम मुहम्मद महन्दी अलैहिस्सलाम आउनेछन् । जो पैगम्बर हजरत मुहम्मद सल्ललाहो अलैहे व आला आलेही वसल्लमकी छोरी सैय्यदा फातिमा सलामुल्लाहे अलैहा र मौला अली अलैहिस्सलामका नाति हुन् ।
उहाँको लश्करमा तिनीहरु मात्र हुनेछन्, जसले अहलेबैत जानेको मात्र थिएनन् मानेको पनि थिए । उनको साथमा पाक हजरत बीबी मरियमका छोरा ईसा मसीहका अनुयायीहरु पनि मिलेर दज्जालको सेनासँग सत्यको युद्ध लड्नेछन् र विजयी हुनेछन् । त्यतिबेला जति पनि इमानवालाहरु हुनेछन् सबै यिनै इमाम महन्दी अलैहिस्सलामका पछाडि उभिनेछन् । जो यिनको साथ हुँदैनन् ती दज्जालको साथमा हुनेछन् । यिनै इमाम हुन्, जसको इमामतमा मुक्तदी भएर ईसा इब्ने मरियमले नमाज पढ्नेछन् । यो कुलघराना त्यही अहलेबैत हो, जसलाई हरेक कालखण्डमा मान्नु पर्ने दीन ए हकको शर्त रहेकोछ । किनकि अहलेबैतले नै दीन ए हकको साँचो अवलम्बन गरेका छन् ।
अहलेबैतले नै दीन ए हकको सही मार्गदर्शन गरेका छन् । अहलेबैतले नै न्याय, मानवता र सत्यता कायम गरेकाछन् । यसकारण अहलेबैतलाई नै दीन ए हकको मापदण्ड रुपमा लिइन्छ । इस्लामी हुकुमतका नाममा आले नबी (मौला अलीका सन्तान बाहेक) बाँकी जति शासक आए सबैले दीन ए हकमा मनपरी ढंगले मिसावट गर्न खोजे र मिसावट गर्न अहलेबैत र तिनका सन्तान (इमाम) हरुलाई बाधा ठानिकन उनीहरुलाई खोजि खोजि कठोर यातना दिएर शहीद गरे र गराए ।
यसलाई यसरी बुझ्न सकिन्छ कि कुनै डाँकुले कुनै मानिससँग रहेका मूल्यवान वस्तु लुट्छ र उसलाई कंगाल बनाइ दिन्छ । आज पनि केही इमानका लुटेराहरु अहलेबैतसँग टाढा गरी इमान लुटेर कंगाल बनाउनका लागि अलहेबैत बाहेकका व्यक्तिहरु चर्चा गर्छन् । चर्चा यहाँसम्म गर्छन् कि अहलेबैतको महिमा घटाएर अहलेबैत बाहेकको व्यक्तिको महिमा बढाएर बयान गर्छन् । जुनकि दीन ए हकको दृष्टिकोणमा इमानका लुटेरा हुन् ।
किनकि अहिले अहलेबैतको जिकिर र चर्चा तिनलाई मात्र मन पर्दैन, जसका पूर्वजले अहलेबैतलाई जानेका थिए तर मानेका थिएनन् । जसका पुर्वजले विभिन्न कालखण्डमा अहलेबैतको अनादर गरी शहीद गरे र गराएका थिए । तपाईको मनमा यो प्रश्न आउन सक्ला कि जुन इमामलाई हामीले हेरेका छैनौं त्यसलाई चिन्ने कसरी होला ।
त्यसको जवाफ यति मात्र छ कि साँचो इमानको ताकत, अहलेबैतसँग गहिरो अपनत्व र प्रेमले हृदयको आँखा खोल्नेछ र त्यही हृदयको आँखाले बाह्रौं इमाम महन्दी अलैहिस्सलामलाई चिन्नेछौं । यसर्थ कुनै व्यक्ति विशेषले नभनिकन कुरआनपाकमा नै अहलेबैतलाई मान्नु दीन ए हकको शर्त राखियो । जसले गर्दा मानिसलाई दीन ए हकको पहिचान होस् । दीन ए हकको लागि मार्गदर्शन होस् । पूर्ण रुपले न्याय, मानवता र सत्यता कायम होस् ।