सपना छ शिखर चुम्ने, शरीरमा एकसरो लुगा, खुट्टामा चप्पल, त्यसमा निलो झोला बोकेर गरेको काठमाडौं सहरको यात्रा सजिलो थिएन । गुणस्तरीय शिक्षा र रोजगारको सपना बोकेर हिँडेको मान्छे म । थाहा थिएन सहर छिरेपछि आफ्नो रहर मरिन्छ भनेर । गाउँ छाड्नु भनेको केवल ठाउँ छाड्नु होइन रहेछ, आफ्नै छायाँदेखि टाढा हुनु रहेछ । खुला आकाशबाट सिधै धुवाँले ढाकिएको सडकमा उभिँदा जीवनको गति आफैभन्दा धेरै छिटो भएको महसुस भयो ।
घरको भुइँतलामा अँध्यारो कोठा, घाम लागेको पनि थाहा पाउन्न, घडीको अलार्ममा बजेको घण्टीसँगै दिनको सुरुवात हुन्छ । आखाँभरी सपना सजिएको छ । विहान क्याम्पस, दिउँसो काम, दिनचर्या यसरी नै बितेको छ । प्रश्न, उत्तर मनमा सधै हुन्छ । तर सोध्ने कसलाई, आमाको न्यानो काख र बाबाको साथ जस्तो नहुँदो रहेछ सहर । कहिले काहीँ फोनमा घरमा कुरा हुँदा, आमा सधै सोध्नुहुन्छ, ‘सबै ठिक छ नी छोरी ? म भन्छु ‘एकदमै राम्रो छ, आमा ।’
केही गर्छु भनेर काठमाडौं आएको, देशको विषम परिस्थितिका कारण साथी—सङ्गी सबैले विदेश रोजे, मैले नेपाल । थाहा छैन देशले कुन मोड लिन्छ भनेर । हरेक पाँच वर्षमा चुनाव हुन्छ, नयाँ—नयाँ आश्वासन दिन्छन् । खै के भनुँ, मनमा सधै प्रश्न मात्रै आउँछ, उत्तर भने पाउन सकेको छैन ।
‘आमा भन्नुहुन्थ्यो सर्प विशालु हुन्छ, तर यो सहरमा सर्पभन्दा विशालु मान्छे हुँदो रहेछ ।’ आज एउटा सहरको गल्लीमै हराएको महसुस भएको छ । मान्छेले मान्छेलाई गर्ने व्यवहार, दमन, हिंसा र भ्रष्टाचारले व्याप्त यो सहरमा गाउँको शान्त वातावरणको निकै याद आउँदो रहेछ ।
परिस्थिति जस्तो भएपनि केही गर्छु भन्ने आँट र साहास लिएकी छु । गन्तव्यमा पुग्नको लागि पहिलो कदम चालेकी छु । हिँड्दा बाटोमा काँडा भेटिन्छन्, काँडालाई कुल्चेर हिँड्नुभन्दा काँडालाई हटाएर बाटो बनाएर हिँड्ने साहास गरेकी छु, किनकि त्यो काँडाले म जस्तै अरुलाई नबिझाओस् ।
महँगी, बेरोजगारी र राजनीतिक अस्थिरता सहरको पर्खाल जस्तै उभिएका छन् । श्रमको मूल्य भाषणमा मात्रै हुन्छ, व्यवहारमा होइन । पढाइ गरे पनि काम नपाउने, काम पाए पनि सम्मान नपाउने । यही यथार्थले युवाहरुको जाँगर घटाउँदै लगिरहेको छ । सहर सपना बेच्ने बजार जस्तै छ, तर खरिद गर्ने शक्ति सबैसँग नहुँदा रहेछ ।
पर्यटन क्षेत्रमा केही गर्ने सपना देखेकी छु । यो क्षेत्रमा केही गर्ने सपना अझ बलियो हुँदै गएको छ । मलाई केही समय अघिदेखि नेपाल जस्तो सुन्दर देशमा सम्भावनाको कमी छैन भन्ने विश्वास जाग्दै गयो । यदि शिक्षा प्रयोगात्मक भयो भने र अवसरहरु आफ्नै माटोमा सिर्जना भए भने सहरको यात्रा केवल संघर्षको कथा होइन, सफलताको कथा पनि बन्नसक्छ ।
सहरको यात्रा केवल ठाउँ फेर्नु मात्र होइन रहेछ, यो त सोंच, लगनशीलता, सहनशीलता र आत्मविश्वासको परीक्षा रहेछ । यहाँ हरेक मानिस आफ्नै गतिमा दौडिरहेको हुन्छ । कोही पैसाको पछि, कोही प्रतिष्ठाको खोजीमा, त कोही अस्तित्व जोगाउन संघर्ष गरिरहेका हुन्छन् । भीडभाडका बीचमा आफूलाई चिनाउनु नै ठूलो चुनौती हो । गाडीको हर्न, रातभर मानिसहरूको चर्को स्वर तर त्यही आवाजभित्र भविष्यको सम्भावना लुकेको छ भन्ने आशाले हरेक बिहान सबेरै उठ्न प्रेरणा दिन्छ ।
क्याम्पसमा गाउँबाट आएका धेरै युवाहरू भेटिन्थे । सबैको कथा उस्तै थियो । घरको आर्थिक अवस्था कमजोर, परिवारको भरोसा हामीमाथि, र सपना ठूलो । कसैले होटलमा काम गर्थे, कसैले निर्माणस्थलमा, त कसैले पसलमा मजदुरी गरेर पढाइ चलाइरहेका थिए । थकानले शरीर गल्थ्यो, तर मनले हार मान्दैनथ्यो । सहरले हामीलाई कठोर मात्र होइन, बलियो पनि बनाइरहेको थियो ।
कहिलेकाहीँ मनमा प्रश्न उठ्थ्यो—के यहीँ बस्नु सही निर्णय हो ? तर अर्को आवाज भन्थ्यो—यदि सबै गए भने देश कसले बनाउँछ ?
बाटो अझै लामो छ, गन्तव्य अझै टाढा छ, तर अब डर कम भएको छ । किनकि म बुझ्न थालेको छु । सहर केवल चुनौतीको थलो होइन, यो सम्भावनाको ढोका पनि हो । यदि हिम्मत नहारेर निरन्तर अघि बढिरहियो भने यही यात्रा एकदिन सफलताको कथामा बदलिने छ ।
यहाँ कसैलाई तपाईंको संघर्ष सुन्ने फुर्सद हुँदैन । सबै आ–आफ्नै युद्ध लडिरहेका हुन्छन् । भीडमा हराउनु सहरको पहिलो पाठ रहेछ । फोनमा आमासँग कुरा गर्दा ‘सबै ठीक छ’ भन्नु पनि एक किसिमको अभिनय रहेछ । त्यो वाक्यभित्र लुकेको पीडा, थकान र डर शब्दहरुमा व्यक्त गर्न सकिँदैन । बाबाका सल्लाहहरू सम्झेर मात्रै मन सम्हालिन्थ्यो । धैर्य गर, समय निर्दयी हुन्छ ।
सहरले चाँडै एउटा कुरा सिकाउँछ । यहाँ तपाईंलाई कसैले बोकेर अगाडी लैजाँदैन । योग्य नभए तपाईंलाई कसैले देख्दैनन्, कमजोर भए तपाईंलाई सबैले कुल्चिन्छन् । चम्किने भवनहरूको छायाँमा हजारौँ सपनाहरु चुपचाप मर्छन् । धेरै साथीहरू यही गल्लीमा थाके, कतिले विदेशलाई अन्तिम विकल्प बनाए । देशले दिन नसकेको अवसर खोज्दै खोज्दै उनीहरू सीमाना काटेर गए, र यहाँ आमाबुबाको आँखा ढोकातिरै टाँसिएर बसिरह्यो ।
आज सहरको यात्रा मेरो पाठशाला बनेको छ । यसले मलाई सिकाएको छ । आशा बिना मान्छे बाँच्दैन, तर आशा मात्रै बोकेर पनि बाँचिदैन । काम, धैर्य र चोट सहने हिम्मत । यी तीन बिना सहरमा टिकिँदैन । बाटो अझै लामो छ, सपना अझै महँगो छ, तर अब म भाग्दिन । किनकि मलाई थाहा छ, कडा यथार्थले निचोरेका मानिसहरू नै अन्ततः बलियो इतिहास लेख्न सफल हुन्छन् ।