• फाल्गुन २३ २०८२, शनिबार

प्रचण्डलाई झलनाथको चेतावनी, गजुरेललगायतका नेताको कारवाही फिर्ता नभए विद्रोह गर्ने !

माघ १२ २०८२, सोमबार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले हरिबोल गजुरेललगायतका नेताहरुमाथि भएको कारवाहीप्रति असन्तुष्टि जनाएका छन् ।

नेता खनालले गजुरेललगायतका नेताहरुमाथि भएको कारवाहीप्रति असन्तुष्टि जनाउदै यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न माग गरेका हुन् ।

उनले भनेका छन्- ‘हरिबोल गजुरेल सहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्‍यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु ।’

नेता खनालले कारवाही स्थगित नगरेमा एकीकरण भई नसक्दै बिश्रृखलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने चेतावनी समेत दिएका छन् ।

उनले नेकपामा नेतृत्वदायी कमिटी नै बन्न नसकेको, संस्थागत निर्णय प्रक्रिया विकसित नभएको, एकाध व्यक्तिहरूको इच्छा वमोजिम ठुलठुला निर्णयहरू गर्न थालिएको, गजुरेल जस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारी सम्म पनि नहुनु र संचार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएको समेत बताएका छन् ।

पार्टीका अधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गर्न भूमिका खेलेको भन्दै नेकपाले गजुरेल लगायतका सात नेताहरुलाई शनिबार पार्टीबाट निष्कासित गरेको थियो ।