• फाल्गुन २३ २०८२, शनिबार

नेकपा रोल्पा–काठमाडौं सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रम हुँदै

माघ ११ २०८२, आईतवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रोल्पा–काठमाडौं सम्पर्क समन्वय समितिले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

समन्वय समितिले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी स्वरूप कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको हो ।

समन्वय समितिको आयोजनामा हुने कार्यक्रममा पार्टीका वरिष्ठ नेता कृष्णबहादुर महरा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्यस्तै, प्रतिनिधि सभा रोल्पाका प्रत्यक्ष उम्मेदवार वर्षमान पुन र समानुपातिक उम्मेदवार गीता गहतराजको समेत सहभागिता रहने जनाइएको छ ।

पार्टी संगठन सुदृढीकरण, निर्वाचन लक्षित तयारी तथा कार्यकर्तालाई राजनीतिक रूपमा सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समन्वय समितिका अध्यक्ष तिलबहादुर घर्तीमगरले बताए ।

उनले रोल्पाली कम्युनिष्ट आन्दोलनमा संलग्न नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् ।

कार्यक्रम दिउँसो १ः३० बजे सुरु हुने र गुरुङ राष्ट्रिय परिषदको सभाहल, मित्रनगर, गोङ्गबु, काठमाडौंमा आयोजना हुने बताइएको छ ।