८ माघ, घोराही । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा बागी उम्मेदवारी दिएका गोपाल ओली ‘प्रविन’ले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर मास्की ‘राजेश’लाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने सहमति गरेका छन् ।
यसका लागि नेपाली कम्युनिस्ट पार्टीका दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य, सल्लाहकार शेसुराम भण्डारी, केन्द्रीय सदस्य जोगबहादुर राना तथा वाइसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओली लगायतको उपस्थितिमा छलफल सम्पन्न भएको छ ।
छलफलपछि पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउने उद्देश्यसहित ओलीले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । गोपाल ओली माओवादीका पूर्वलडाकू कमाण्डर हुन् । उनले यसअघि नेपाली कम्युनिस्ट पार्टीभित्र विद्रोह गर्दै बागी उम्मेदवारी दर्ता गराएका थिए ।
तर पार्टी एकता, अनुशासन र जनताको हितलाई प्राथमिकतामा राख्दै आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको सहभागी नेताहरूले बताएका छन् ।
पार्टी नेतृत्वले यो निर्णयले दाङ–३ मा वामपन्थी शक्ति एकताबद्ध भई निर्वाचनमा सशक्त रूपमा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।