• फाल्गुन २३ २०८२, शनिबार

युरोपेली देशहरूमाथि लगाउने ट्यारिफ धम्कीबाट पछि हटे ट्रम्प

माघ ८ २०८२, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ग्रीनल्यान्डका विषयमा युरोपेली देशहरूमाथि लगाउने भनिएको महसुल (ट्यारिफ)को धम्कीबाट पछि हटेका छन् । ट्रम्पले अब डेनमार्कलगायत युरोपेली देशमाथि ग्रीनल्यान्डका विषयमा कुनै ट्यारिफ नलगाउने स्पष्ट पारेका छन् ।

ट्रम्पले यसअघि ग्रीनल्यान्डसँग सम्बन्धित आफ्ना माग पूरा नभए युरोपमाथि आर्थिक दबाब सिर्जना गर्ने संकेत गरेका थिए । तर, हाल आफ्नो अडान बदल्दै उनले त्यस्तो कुनै कदम नचाल्ने बताएका हुन् । ट्रम्पले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका छन् ।

स्वीट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा यसअघि उनले ग्रीनल्यान्ड कब्जा गर्न सैन्यशक्ति प्रयोगको विषयबाट पछि हटेको बताएका थिए । यद्यपि, ट्रम्पले आफ्नो उद्देश्य अझै ग्रीनल्यान्ड हासिल गर्नु नै रहेको स्पष्ट पारेका छन् ।

उनले भने, “म ग्रीनल्यान्ड पूर्ण अधिकार, स्वामित्व र नियन्त्रणका साथ चाहन्छु ।” तर, यसनिम्ति बल प्रयोग नगर्ने उनले बताए ।

आफ्नो सम्बोधनका क्रममा ट्रम्पले युरोपेली देश र नेटोमाथि पनि तिखो प्रहार गरे । उनले दोस्रो विश्वयुद्धको समयमा र त्यसपछि पनि अमेरिकाले युरोपलाई बचाएको जिकिर गरे । “दशकौँदेखि हामीले उनीहरूलाई जे दिएका छौँ, त्यसको तुलनामा यो ग्रीनल्यान्डको माग धेरै सानो हो,” उनले भने ।

ग्रीनल्यान्डका बारेमा विवादास्पद बयान दिँदै उनले त्यो ठाउँ चिसो र उचित स्थानमा अवस्थित नभएको बताए । तैपनि, अमेरिकाको राष्ट्रिय सुरक्षाका निम्ति ग्रीनल्यान्ड अत्यन्तै महत्त्वपूर्ण भएको उनले उल्लेख गरे ।

भविष्यमा आर्कटिक क्षेत्र रणनीतिक रूपमा निकै महत्त्वपूर्ण हुने भएकाले ग्रीनल्यान्डमा अमेरिकाको नियन्त्रण हुनुपर्ने उनको मान्यता छ ।

ट्रम्पले आफूले चाहेमा शक्तिको बलमा ग्रीनल्यान्ड हासिल गर्न सक्ने पनि बताए । “यदि, मैले अत्यधिक शक्ति र बल प्रयोग गरेँ भने हामीलाई कसैले रोक्न सक्दैन । तर, म त्यसो गर्ने छैन,” उनले भने, “मलाई यसको आवश्यकता छैन र म त्यसो गर्न पनि चाहन्नँ ।”

उनले अमेरिकाको विस्तारवादी मनसायमा नेटोले बाधा पुर्‍याउन नहुने चेतावनी पनि दिए ।

कुनै अमेरिकी राष्ट्रपतिले खुलेआम अर्को देशको भूभाग लिने भनेर यति स्पष्ट भाषामा भनेको यो पहिलोपटक हो ।