काठमाडौँ । कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट विजयी हुँदै आएका थापाले यस पटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् ।
थापालाई काँग्रेसमा काठमाडौं-४ सहित, धनकुटा, रोल्पा र सर्लाही गरी चारवटा निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको थियो । थापा अन्ततः सर्लाही–४ बाट उम्मेदवार बनेका हुन् ।
सर्लाही–४ मा थापाको मुख्य प्रतिस्पर्धा अघिल्लो चुनावमा स्वतन्त्र जितेका र यस पटक रास्वपाबाट उम्मेदवार बनेका अमरेशकुमार सिंह, एमालेका रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीका डा. रगनिस राय यादवसँग हुने भएको छ ।
२०७९ को निर्वाचनमा अमरेशकुमारले २० हजार १७ मत प्राप्त गर्दै जित हासिल गरेका थिए भने कांग्रेसका नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेका थिए । कांग्रेस सभापति थापाको मधेशमा उम्मेदवारीलाई पार्टीले मधेश केन्द्रित रणनीतिका रूपमा लिएको देखिएको छ ।