• फाल्गुन २३ २०८२, शनिबार

तामाङ समुदायले टुडिखेलमा विशेष कार्यक्रमसहित मनाए सोनाम ल्होसार

माघ ५ २०८२, सोमबार

काठमाडौं । नेपालका तामाङ समुदायले आज नयाँ वर्ष (सोनाम ल्होसार) तथा तामाङ साँस्कृतिक महाेत्सव मनाएका छन् । काठमाडौं उपत्यकाको वरिपरिका जिल्लाहरुमा तामाङ समुदायको बाक्लो बस्ती रहेको छ ।

सोनाम ल्होसार उनीहरुको सबैभन्दा ठूलो र ऐतिहासिक नयाँ वर्ष पर्व हो । ल्होको अर्थ वर्ष र सारको अर्थ नयाँ हो । यसलाई संयुक्त रुपमा भन्दा ल्होसार भनेको नयाँ वर्ष हो ।

ल्होसार पर्व प्रायः माघ शुक्ल प्रतिपदाको दिन अर्थात् तामाङ पात्रो अनुसार यो नयाँ वर्षको रुपमा मनाइन्छ । १२ वटा जनावरको नामबाट यो नयाँ वर्ष मनाइने चलन रहआिएको छ ।
ती १२ वटा जनावरको नाममा घुम्दै आउँछन् र ती जनावरहरुका नाम यसप्रकार छन् । मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बँदेल ।

हरेक वर्षलाई एउटा जनावरको नामसँग जोडिन्छ र त्यस वर्षले त्यसवर्षको स्वभाव जनाउँछ भन्ने जनविश्वास रहेको छ ।

कसरी मनाइन्छ सोनाम ल्होसार ?
तामाङहरु पुर्खौंदेखि बुद्ध धर्म मान्दै आएकोले बौद्ध गुम्बाहरुमा पूजाआजा गरिन्छ र लामा गुरुबाट आशीर्वाद लिइन्छ । घर–घरमा सफा–सुग्घर गरी नयाँ लुगाफाटो लगाइन्छ ।
आजको दिनमा तामाङ समुदायका परम्परागत भेषभूषाहरु बक्खु र डम्फु लगाइन्छ । यस अवसरमा डम्फु बजाएर नाचगान गरिन्छ भने तामाङ भाषमा गीत–संगीत गाइन्छ ।
आफन्तसँग भेटघाट हुनु र नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्नु यस चाडको मुख्य विशेषता हो । आफन्तहरु जम्मा भएर मिठा मिठा खानेकुरा खाइन्छ ।
खाप्से अर्थात् तेलमा तारेका रोटी, सेलरोटी र मासुका परिकारहरु सोनाम ल्होसारमा खाइने मुख्य परिकारहरु हुन् भने घरमै बनेका परम्परागत खानाहरू पनि लोहसारमा खाइन्छ ।

जानकारहरुका अनुसार सोनाम ल्होसार केवल पर्व मात्र होइन बरु यो तामाङ समुदायको पहिचान, इतिहास र संस्कृतिको संरक्षण गर्ने माध्यम पनि हो ।

सोनाम ल्होसारलाई नेपालमा राणाहरु र शाहहरुको सामन्तवादी राज्यको समयमा लामो समयसम्म राज्यले उपेक्षा गरेको तामाङ संस्कृतिको सार्वजनिक पुनःस्थापनाको प्रतीकका रूपमा पनि हेरिन्छ ।

सोनाम ल्होसार नेपालमा गणतन्त्र व्यवस्था स्थापना भएपछि नेपाल सरकारले सार्वजनिक बिदा दिने प्रमुख जातीय पर्वहरूमध्ये एक हो । काठमाडौं लगायतका स्थानहरुमा आज विशेष र्‍याली र सांस्कृतिक कार्यक्रमसहित यो पर्व मनाइएको छ । साे समाराेहमा तामाङ समुदायमा खाइने विभिन्न खाना तथाका परिकारहरू पनि बिक्रीकाे लागि स्टलहरूमा राखिएका थिए ।

यसैबीच नेपाल तामाङ घेदुङको आयोजनामा आज काठमाडौंको टुडिखेलमा सोनाम ल्होसार विशेष कार्यक्रम गरी मनाइएको छ । कार्यक्रममा तामाङ समुदायका अगुवा तथा सरकारका मन्त्रीहरु र विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो भने टुडिखेलमा हजारौं सर्वसाधारणको सहभागीता रहेको थियो ।

सो अवसरमा मन्तव्य राख्ने तामाङ समुदायका अगुवाहरुले सोनाम ल्होसार पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिइ ५ दिनसम्म विदा दिनु पर्नेमा जोड दिएका छन् ।

तामाङहरुको आजबाट सुरु भएको नयाँ वर्ष २८६२औं नयाँ वर्ष हो । सो अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा निवर्तमान ऊर्जा तथा यातायात मन्त्री कुलमान घिसिङले सबै जातिको अस्तित्व जागाउने दायित्व राज्यको भएको बताए ।

आगामी फाल्गुण २१ गते हुन गइरहेको संसदीय चुनावलाई महाअभियानको रुपमा लिनु पर्ने भन्दै अध्यक्ष घिसिङले देशलाई परिणाम दिनसक्ने सही नेतृत्व चाहिने भन्दै आफ्‌नो दललाई यसपालीको चुनावमा जिताउन आग्रह गरे ।

एक प्रसंगमा घिसिङले गरिवी हटाउन आफ्‌नो पार्टीलाई एकचोटी साथ दिन पनि अपील गरे । जेनजी आन्दोलनबाट उदाएको वर्तमान सरकारको मुख्य उद्धेश्य निर्वाचन गराउनु रहेको उनको भनाई छ ।

तामाङ समुदायका विभिन्न नाच तथा साङ्गितीक प्रस्तुतीहरुबाट सुरु भएको ल्होसारमा विभिन्न झाँकीहरु पनि देखाइएका थिए । आजको कार्यक्रमको आयोजना नेपाल तामाङ घेदुङको आयोजनामा भएको हो ।