• बैशाख १२ २०८३, शनिबार

संसदीयको निर्वाचन बारे एमाले र परिवार दलबीच ४ बुँदे सहमति

माघ ५ २०८२, सोमबार

काठमाण्डौ । फाल्गुण २१ गते हुन गइरहेको संघीय संसदको निर्वाचनको सम्बन्धमा एमाले र नेपाल परिवार दलबीच ४ बुँदे सहमति भएको छ ।

राष्ट्रियता, विकास, लोकतन्त्र, शान्ति र संविधानको खातिर भएको सहमति अनुसार प्रतिनिधि सभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्नेछ भने नेकपा एमालेले उपयुक्त समयमा परिवार दलको प्रतिनिधित्व संघीय संसद तथा प्रदेश सभामा गराउने छ ।

सहमति अनुसार संसद बाहिर नेपाल परिवार दलको स्वतन्त्र राजनैतिक अस्तित्व रहने तर संसद भित्र नेकपा एमालेको संसदीय दलमा आबद्ध रहने छ ।
सहमति पत्रमा समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सम्पूर्ण देशभक्त, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरुलाई नेकपा एमालेलाई राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न एकजुट हुन आह्वान गरिएको छ ।
एमालेका अध्यक्ष केपी ओली र नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख नगरिएको बिषय आपसी छलफल र सहमतिमा टुङ्गो लगाउने उल्लेख छ ।

ओली निवास गुण्डुमा आइतबार भएको सहमतिमा पूर्वमन्त्री समेत रहेका अध्यक्ष ढकालसहित परिवार दलका महामन्त्री प्रकाशबाबु थापा, सभासद मिलन राजवंशी, सह–महामन्त्रीद्वय डा.रुपसिंह भण्डारी र मनोजकुमार सुर्खेती उपस्थिति थिए ।

नेपाल परिवार दल २०७४ साल देखि नै निरन्तर नेकपा एमालेसँगको सहकार्य गदैछ ।