• फाल्गुन २३ २०८२, शनिबार

ईमान : इस्लामी समाजकाे महानतम मान्यता

माघ २ २०८२, शुक्रबार

प्रस्तावना
अन्तिम समयका मोमिनहरुको जिम्मेवारी अझ ठुलो र महत्वपूर्ण हुनेछ । किनकि इस्लामले मानव जीवनलाई केवल वर्तमान संसारसँग सीमित राख्दैन, भविष्यमा आउने घटनाहरूबाट पनि मानिसलाई सचेत गराउँछ । कयामत (अन्तिम प्रलय) को दिन नजिकिँदै जाँदा केही यस्ता फित्नाहरू देखा पर्नेछन् । जसले मानिसको ईमान, सभ्यता र अस्तित्वलाई नै नष्ट पार्न ठुलो चुनौती दिनेछन् ।

तीमध्ये सबैभन्दा ठूलो फित्ना दज्जाल हो र दज्जालपछि आउने सबैभन्दा भयावह फित्ना याजूज–माजूज हो । रसूलुल्लाह ﷺ ले यी फित्नाहरूको स्पष्ट वर्णन गरेर उम्मतलाई अज्ञानताबाट बचाउनुभएको छ । जसले गर्दा मोमिनहरू झुट, धोखा र गुमराहीबाट सुरक्षित रहन सकुन् । आजको युगमा यी विषयहरूमाथि चर्चा गर्नु ,बुझ्नु र बुझाउनु केवल धार्मिक ज्ञान मात्र होइन् यो त ईमान जोगाउने उपाय पनि हो । अल्लाह तआलाले हामी सबैलाई दज्जाल र याजूज–माजूजका फित्नाबाट सुरक्षित राखून् ।

दज्जाल : मानव ईमानमाथिको सबैभन्दा ठूलो आक्रमण
“दज्जाल” अरबी भाषाको शब्द हो, जसको अर्थ अत्यन्तै झुटो, ठूलो धोखेबाज र सत्यलाई ढाक्ने व्यक्ति हो । उसको पूरा नाम अल–मसीह अद–दज्जाल हुनेछ, अर्थात् झुटो मसीह ।
साँचो मसीह भनेका हजरत ईसा इब्ने मरियम अलैहिस्सलाम हुनुहुन्छ । दज्जाल उहाँको नक्कल गर्दै आफूलाई मसीह साबित गर्न खोज्नेछ, तर ऊ पूर्ण रूपमा झुटो र भ्रामक हुनेछ । सही मुस्लिमको हदीसमा रसूलुल्लाह ﷺ ले फरमाउनु भएको छः “आदम अलैहिस्सलामको सृष्टिदेखि कियामत सम्म दज्जाल भन्दा ठूलो फित्ना कुनै छैन् ।” यसको अर्थ दज्जालको उद्देश्य मानिसलाई मार्नु होइन् मानिसको ईमान नष्ट गर्नु हो । ऊ मानिसलाई अल्लाहबाट टाढा लैजानेछ, सत्यलाई झुटो र झुटोलाई सत्य देखाउनेछ ।

दज्जालको हुलिया (रूप–रंग)
उसको एक आँखा पूर्ण रूपमा अन्धो हुनेछ ।  अर्को आँखा अंगुरको दाना जस्तै फुलेको हुनेछ । निधारमा ठूला अक्षरमा “काफिर” लेखिएको हुनेछ । त्यो लेखाइ हरेक मोमिनले पढ्न सक्नेछ, चाहे ऊ अनपढ नै किन नहोस् । शरीर बलियो, भारी र गठिलो हुनेछ । कपाल घुंघराला र अनुहार रातो हुनेछ ।
रसूलुल्लाह ﷺ ले आफूले दज्जाललाई देखेको कुरा बयान गर्नुभएको छ, जसले यसको वास्तविकता अझै प्रष्ट बनाउँछ । दज्जालका चमत्कार जस्ता धोखा दज्जालले अल्लाहको इजाजतले केही अचम्मका कामहरू गर्नेछ । जसले कमजोर ईमान भएका मानिसहरू भ्रममा पर्नेछन् । वर्षा गराउने र रोक्ने, जमिनलाई उब्जनीको आदेश दिने, मरेको जस्तो देखिने मानिसलाई पुनः उठाउने धन, खाना, पानीको प्रचुरता देखाउने तर यी सबै हकीकत होइन यो त पो परीक्षा हुनेछन् ।

साँचो शक्ति केवल अल्लाहकै हातमा छ झुठो जन्नत र झुठो जहन्नुम । रसूलुल्लाह ﷺ ले फरमाउनु भएको छः “दज्जालसँग जन्नत र जहन्नुम जस्तो हुनेछ, तर उसको जन्नत वास्तवमा जहन्नुम हुनेछ, र उसको जहन्नुम वास्तवमा जन्नत ।” यसको अर्थ, दज्जालले आकर्षण, सुख र सुविधा देखाएर मानिसलाई गुमराहीमा फसाउनेछ । जुन बाटो सजिलो देखिन्छ, त्यही विनासको बाटो हुनेछ ।

हदीसहरूका अनुसार दज्जाल खुरासान क्षेत्रबाट निस्कनेछ । अर्को रिवायतमा इस्फहान (असबहान) बाट निस्कने उल्लेख छ । खुरासान इरान, अफगानिस्तान र मध्ये एसियासम्म फैलिएको ऐतिहासिक क्षेत्र हो । भने इस्फहान आजको इरानको मध्ये भागमा पर्ने एक सहर/प्रान्त हो । जहाँबाट उसको साथमा ७० हजार यहूदीहरू हुनेछन् । दज्जाल संसारभरि घुम्नेछ, तर मक्का र मदिनामा प्रवेश गर्न सक्नेछैन् ।

सही मुस्लिममा उल्लेख छ : कुल ४० दिन दज्जाल जीवित रहनेछ । जसको पहिलो दिन १ वर्ष बराबर दोस्रो दिन १ महिना बराबर तेस्रो दिन १ हप्ता बराबर बाँकी दिन सामान्य दिन जस्तै हुनेछन् । यी कुरा सहाबा–ए–किराम (रजयिल्लाहु तआला) ले सुने, उनीहरूले रसूलुल्लाह ﷺ सँग सोधे—“या रसूलुल्लाह ﷺ, जब एक दिन नै एक वर्ष बराबर हुनेछ, त्यस्तो परिस्थिति र दिनमा नमाज कसरी पढ्ने ?” तब रसूलुल्लाह ﷺ ले फरमाउनु भयो “अनुमान (क्यास) गरेर एक वर्षभरिका नमाज अदा गरिनेछन् ।” अर्थात त्यसबेला नमाजको समय अन्दाज गरेर पढ्न आदेश दिइएको छ, जसले देखाउँछ कि नमाज कुनै पनि अवस्थामा छोड्न पाइँदैन । दज्जाल सम्पूर्ण संसारमा हत्या र तबाही मच्चाउँदै मक्का र मदीना जाने प्रयास गर्नेछ । तर अल्लाहका केही फरिश्ताहरू नाङ्गो तरवार लिएर ती सीमाहरूको रक्षा गरिरहेका हुनेछन् । जसका कारण दज्जाल त्यहाँ प्रवेश गर्न सक्नेछैन् ।

इमाम मुहम्मद मेहन्दी अलैहिस्सलामको जुहूर अनि हजरत ईसा अलैहिस्सलामको अवतरण र दज्जालको अन्त्य,
जब दज्जालको अत्याचार चरम सीमा पुग्नेछ,  इमाम मुहम्मद मेहन्दीको जुहूर हुनेछ । फात्हे खैबर अबुतुराब अली इब्ने अबुतालिब अलैहिस्सलामका नाति इमाम मुहम्मद मेहन्दी अलैहिस्सलामको जुहूर हुने निश्चित मिति त बताइएको छैन्, यद्यपि केही संकेतहरू बताइएछन् ।
उनी दज्जालको निकटकालमा मानव समाजलाई दज्जालको फित्नाबाट सुरक्षित राख्न प्रकट हुनेछन् । इमाम मेहन्दी अलैहिस्सलामको जुहूर भइसकेपछि करिब ६ वा ७ वर्षपछि दज्जाल प्रकट हुनेछ । इमाम मेहन्दी अलैहिस्सलाम खुरासान क्षेत्र (आजको अफगानिस्तान, ईरान र पाकिस्तानको सिमा आसपास) बाट प्रकट हुनेछन् र त्यहाँबाट नै मुसलमान उम्मतको नेतृत्व गर्दै धर्म, न्याय र ईमानको रक्षा गर्नुहुनेछ ।

हदीस अनुसार इमाम मेहन्दी अलैहिस्सलामले पैगम्बर ईसा इब्ने मरियम अलैहिस्सलाम समेतका मोमिनहरुको इमामत ग्रहण गर्नुहुनेछ । दज्जाल प्रकट हुनु भन्दा दुई वर्ष अगाडि देखि नै संसारमा भयानक खडेरी पर्नेछ र अन्नको अत्यन्त अभाव हुनेछ । त्यस समयमा दज्जालले आफ्नो चमत्कार देखाउँदै अन्न उत्पादन गराउनेछ । रुखहरूमा फल फलाउनेछ । जनावरहरूलाई मोटा–ताजा बनाउनेछ यहाँ सम्म तिनीहरूले प्रशस्त दूध दिन थाल्नेछन् । ऊ मृतकहरूलाई पनि जीवित गराउने दाबी गर्नेछ । त्यो वर्ष अरब भू–भागमा तीनवटा ठूला भूकम्प आउनेछन् । जसको ईमान कमजोर हुनेछ, उनीहरू मदीना छोडेर बाहिर निस्कनेछन् । दज्जालको लशकर (सेना) मा सामेल हुनेछन् । त्यही समयमा मदीना तैय्यबामा एक वृद्ध व्यक्ति हुनेछन्, जो दज्जालसँग प्रश्न गर्न बाहिर आउनेछन् । जब उनलाई दज्जालको अगाडि पेश गरिनेछ । दज्जाललाई देख्ने बित्तिकै उनी भन्नेछन्‌— “मैले तिमीलाई चिनिसकेको छु ।

तिमी त्यही व्यक्ति हौ, जसको खबर हाम्रो नबीपाक ﷺ ले धेरै पहिले हामीलाई दिनुभएको थियो। तिमी मलऊन हौ ।” यो सुनेर दज्जाल अत्यन्त क्रोधित हुनेछ र उनको टाउकोमा आरा राखी उनीलाई दुई टुक्रा पार्नेछ । पछि दज्जाल आफ्ना अनुयायीहरूलाई भन्नेछ—“के म यसलाई फेरि जीवित गरिदिऊँ, ताकि तिमीहरूको ईमान अझ बलियो होस् ?” त्यसपछि अल्लाहको कुदरतले ती दुई टुक्रा पुनः जोडिन्छन् र ती वृद्ध व्यक्ति जीवित हुनेछन् । जिउँदो भएपछि उनी फेरि भन्छन्‌—“अब त मेरो ईमान झन् बढी बलियो भयो कि तिमी साँच्चै मलऊन हौ ।” दज्जाल फेरि उनलाई मार्न खोज्नेछ, तर यस पटक ऊ असफल हुनेछ । अन्ततः उसले उनलाई आफ्नै “जहन्नम” मा हालिदिनेछ, जुन अल्लाहको तर्फबाट वास्तविक जन्नत हुनेछ । यसपछि दज्जाल कुनै चमत्कार देखाउन सक्नेछैन् । अनि आफू अपमानित तथा पराजित अवस्थामा मुल्क–ए–शाम (सिरिया) तर्फ प्रस्थान गर्नेछ ।

उता इमाम मेहन्दी अलैहिस्सलाम चाहिँ  दज्जालसँग युद्धको तयारीमा व्यस्त हुनेछन् । त्यसै बेला बिहान फज्रको नमाजको समय हुनेछ । जब फज्र नमाज जमातको तयारी हुँदै गर्नेछ । त्यही क्षणमा हजरत ईसा अलैहिस्सलामको अवतरण हुनेछ । मस्जिदको मिनारमा उहाँ दुई फरिश्ताहरूका पखेटामाथि हात राखेर तल झर्नुहुनेछ । जब उहाँले टाउको झुकाउनुहुन्छ, त्यसबाट पानीका थोपा टप्किनेछन्, र जब टाउको उठाउनुहुन्छ, मोतीझैँ चम्किला थोपा झर्नेछन् । उहाँले आवाज दिनुहुनेछ—“सिँढी ल्याइदिनुहोस्।” त्यसपछि उहाँलाई तल झारिनेछ । इमाम मेहन्दी अलैहिस्सलाम हज़रत ईसा इब्ने मरियमलाई इमामत गर्न आग्रह गर्नुहुनेछ । तर हज़रत ईसा अलैहिस्सलामले इन्कार गर्नुहुनेछ ।

त्यसपछि इमाम मेहन्दी स्वयम् इमामत गर्नुहुनेछ र हज़रत ईसा अलैहिस्सलाम मुक़तदी (पछाडि नमाज पढ्ने) हुनुहुनेछ । त्यसपछि इमाम मेहन्दीले लश्करको नेतृत्व हज़रत ईसालाई सुम्पनुहुनेछ, तर हज़रत ईसा अलैहिस्सलाम फरमाउनुहुनेछ—“लश्करको कमाण्ड तपाईं नै सम्हाल्नुहोस् । म त केवल दज्जालको अन्त्यका लागि आएको हुँ ।” हज़रत ईसा अलैहिस्सलाम दज्जालको पछि लाग्नुहुनेछ । त्यस बेला उहाँको सासमै यति प्रभाव हुनेछ कि धेरै टाढासम्म पुग्नेछ र जसलाई त्यो प्रभाव लाग्नेछ, ऊ पानीमा नुन पग्लिएझैँ पग्लिनेछ। हज़रत ईसा अलैहिस्सलाम दज्जाललाई खेदाउँदै “बाब–ए–लुद्द” सम्म पुर्‍याउनुहुनेछ ।

अन्ततः फलस्तीनको लुद्ध नामक स्थानको ढोकामा दज्जाललाई मार्नुहुनेछ । उहाँले दज्जालको रगत उसको क़ौम र लशकरलाई देखाउनुहुनेछ । ताकि इमानहरूलाई सन्तोष प्राप्त होस् । त्यसपछि इमानवालाहरू दज्जालको लश्करको समाप्तिमा जुट्नेछन् । यहाँ सम्म कि यदि कुनै यहूदी ढुंगा वा रुखको पछाडि लुकेको भए, त्यो ढुंगा वा रुखले बोल्नेछ “ए अल्लाहका नेक भक्त ! एक काफिर मेरो पछाडि लुकेको छ आएर यसलाई क़त्ल गर, मात्रै गरकदको रुख बाहेक ।“ गरकद अर्थात Desert Date ÷ Balanites aegyptiaca अब रूखको सामान्य उचाइ ६ देखि १० मिटर अग्लो हुन्छ । यसका पात हरियो र साना, फूल स–साना पहेँलो हुन्छ फल लम्बा/गोलाकार, पहेँलो हरियोदेखि खैरो रंगसम्म पुग्छ । यसरी दज्जालको क़त्ल र दज्जाली फित्नाको अन्त्य पश्चात सम्पूर्ण पृथ्वीमा हज़रत इमाम मेहन्दी अलैहिस्सलामको बादशाहत(शासन) स्थापित हुनेछ । त्यसपछि संसारमा सत्य र न्यायको शासन सुरु हुनेछ, इन्साफ कायम हुनेछ ।

दज्जालपछि आउने सबैभन्दा ठूलो फित्ना भनेका याजूज–माजूज हुन् । याजूज र माजूज दुई भयंकर जाति हुन्, जसको बारेमा उल्लेख कुरआनपाकको सुरह कहफ र सुरह अम्बियामा छ र हदीसमा पनि यसको जिकिर आएको छ ।

अल्लाह तआलाले उनीहरूलाई प्रारम्भिक कालमै जुलकर्नैन अलैहिस्सलामद्वारा बनाइएको पर्खालभित्र कैद गरिदिनुभएको थियो। याजूज र माजूजको विनाशकारी स्वभावले गर्दा उनीहरु जहाँ–जहाँ जान्छन्, त्यहाँ हत्या, लुटपाट, अराजकता पानीका स्रोत सुकाउने,खेती नष्ट गर्ने, मानव सभ्यतालाई तहसनहस बनाउनेछन् । हदीसमा उल्लेख छ कि उनीहरू ताल र नदी सुकाइदिनेछन् । याजूज–माजूज दज्जालको अन्त्यपछि हजरत ईसा अलैहिस्सलामको शासनकालमै अल्लाहको आदेशले पर्खाल भत्काइनेछ र आउनेछन् । कुरआन (अल–अम्बिया : ९६) मा अल्लाह फरमाउनुहुन्छः “जब याजूज र माजूज खोलिनेछन्, उनीहरू हरेक उचाइबाट झर्नेछन् ।”

त्यतिखेर मानव असहाय हुन्छन् र अल्लाहको मद्दत आउनेछ । किनकि मानिसहरू, सेना र हतियार सबै असफल हुनेछन् । हजरत ईसा अलैहिस्सलाम र मोमिनहरू पहाडमा शरण लिनेछन् र अल्लाहसंग दुआ गर्नेछन् । जसको परिणाम स्वरूप अल्लाहले नग़फ नामक सानो रोग पठाउनुहुनेछ, जसले एकै रातमा याजूज र माजूज दुबै मर्नेछन् । याजूज –माजूजको अन्त्यपछि आउने शान्तिबाट पृथ्वी सफा हुनेछ । भारी वर्षा हुनेछ । जमिन अत्यन्त उब्जनी हुनेछ । शान्ति, बरकत र समृद्धि फैलिनेछ तर यो अवस्था स्थायी हुनेछैन् ।त्यसपछि कियामतका अन्तिम संकेतहरू सुरु हुनेछन् ।

हाम्रो लागि सन्देश
हामीले दज्जाल र याजूज–माजूजको फित्नाहरूबाट सिक्ने मुख्य सन्देश एउटै हो कि महत्वपूर्ण कुरा शक्ति होइन, ईमान हो । ठुलो कुरा धन होइन, दुआ हो । महत्वपूर्ण देखावटी चमत्कार होइन्, अल्लाहमाथिको साँचो निष्ठा सहितको भरोसा हो । केवल मजबुत ईमान, दुआ, कुरआनको मार्गदर्शन र अल्लाहको सहायताले मात्र हामीलाई यी भयंकर फित्नाहरूबाट सुरक्षित राख्न सक्छ । तसर्थ “जो व्यक्ति दज्जालको फित्नाबाट डराउँछ, उसले सुरह अल–कहफका पहिलो १० आयतहरू पढ्ने हो भने, दज्जालको फित्नाबाट सुरक्षित रहन्छ।“ हवालाः सहीह मुस्लिम । नियमित नमाज, रोजा, जकात, कुरआनको अध्ययन र अल्लाहमा भरोसा कायम राख्नु अत्यन्त जरुरी छ । सधै नमाजपछि हरेक दिन यस प्रकारको दुआ गर्नु लाभदायक हुनेछः “ऐ अल्लाह ! म तिमीबाट जहन्नुमको अज़ाब, कब्रको अज़ाब, जीवन र मृत्युको फितना, र दज्जालको फित्नाबाट पनाह माग्छु ।”
निष्कर्ष
दज्जाल ईमानमाथिको सबैभन्दा ठूलो आक्रमण हो भने याजूज–माजूज सभ्यतामाथिको सबैभन्दा ठूलो विनाश । तर अन्ततः सत्य यही हो कि अल्लाह सर्वशक्तिमान हुनुहुन्छ र अन्तिम विजय सत्य र ईमानकै हुनेछ ।