काठमाडौं । माघी पर्व २०८२ देशभर विविध कार्यक्रम गरी मनाइएको छ । यो पर्व नेपालका सबै जातजातिका मानिसहरुले आआफ्नै तरिकाले मनाउने गरेता पनि नेपालका मगर र थारु समुदायले विशेष महत्वका साथ मनाउँदै आएका छन् ।
नेपालका मगर समुदायले माघी (माघे सङ्क्रान्ति) लाई आफ्नो सबैभन्दा ठूलो राष्ट्रिय–सांस्कृतिक पर्वका रूपमा धूमधामसँग मनाउँछन् । यो नयाँ वर्षको सुरुवात, पुरानो दुःख–पीडा बिदाइ र नयाँ आशाको स्वागत गर्ने दिनको रुपमा मनाउँछन् ।
माघ १ गतेदेखि मगरहरूको नयाँ वर्ष सुरु हुन्छ । यस दिनलाई माघे सक्रान्ति वा माघी भनिन्छ । उनीहरु घर–परिवार, आफन्त र छरछिमेकमा भेला भएर शुभकामना साटासाट गर्छन् ।
१. सामूहिक भोज
मगर समुदायमा माघीमा सामूहिक भोज अनिवार्य जस्तै हुन्छ ।
ढिक्री, तरुल, सखरखण्ड, पिँडालु, सुँगुरको मासु, कुखुरा, माछा, भाङ, तोरीको साग, सेल, चाम्रे रोटी, घरेलु जाँड–रक्सी जस्ता परिकारहरु बनाएर मगरहरु सामुहिक रुपमा खाने गर्दछन् । यसरी खानुलाई कतिपय ठाउँमा “भुजा खाने” पनि भनिन्छ ।
२. सामूहिक निर्णय गर्ने ‘माघी बैठक’
माघी मगर समाजमा सामुदायिक शासन प्रणालीको सुरुवात पनि हो । यस दिन गाउँको मुखिया, पचुवा, भलादमी चयन गरिन्छ । नयाँ वर्षका सामाजिक नियम, कामको बाँडफाँड, न्यायिक विषय तय गरिन्छ ।
३. पितृ पूजा र शुद्धिकरण
बिहान सबेरै नजिकको खोलामा गएर स्नान गरी पितृको सम्झनामा पूजा गरी दान गर्दछन् । आजको दिनबाट पुराना गल्ती, मनमुटाव भुलेर नयाँ सम्बन्धको थालनी गर्नुपर्छ भन्ने मान्यता मगर समुदायमा प्रचलित छ ।
४. मौलिक नाचगान
माघीमा मगरहरूको मौलिक नाचगान गर्दछन् ।
कउडा नाच, मारुनी नाच, सोरठी, झ्याउरे, सालैजो भाकामा गीत गाउँछन् भने ढोल, मादल, बाँसुरीका तालमा मगर युवा–युवतीहरु रमाउँछन् ।
यो चाड मगरको भएपनि नेपालका अन्य समुदायका मानिसहरु पनि यस चाडमा मजाले रमाउने गर्दछन् ।
५. आफन्त भेटघाट र मेलापात
मगर समुदायमा माघीमा छोरी–ज्वाइँ बोलाउने, टाढा रहेका परिवार भेला हुने र आपसी मेलमिलाप गर्ने चलन छ । सारमा भन्नु पर्दा मगरहरूको माघी केवल पर्व मात्र होइन यो नयाँ वर्ष, संस्कृति, सामाजिक एकता र पहिचानको उत्सव हो ।
थारूहरूकाे माघी
नेपालका थारू समुदायका लागि पनि माघी (माघ १) सबैभन्दा ठूलो नयाँ वर्ष तथा मुक्ति–पर्व हो । यसलाई उनीहरूले माघीलाई कतै खिचरी पर्व पनि भन्छन् ।
१. नयाँ वर्षको सुरुवात
माघ १ बाट थारूहरूको नयाँ वर्ष सुरु हुन्छ । पुरानो वर्षका दुःख–कष्ट बिदाइ गरी सुख, शान्ति र समृद्धिको कामना गरिन्छ ।
२. माघीको बिहान खोलानाला वा पोखरीमा गई शुद्ध स्नान गरिन्छ । यसो गर्दा शरीर र मन शुद्ध पार्ने विश्वास गरिन्छ भने घर फर्किएपछि पितृ पूजा र घरदेउताको पूजा गर्ने चलन छ ।
३. खिचरी माघीको मुख्य खाना हो । थारु समुदायमा माघीमा सुँगुरको मासु, माछा, कुखुराको मासु खाने चलन छ । तरुल, पिँडालु, सखरखण्ड पनि उसिनेर खाने चलन छ । यसैले माघीलाई थारू भाषामा खिचरी खायना भन्ने चलन छ ।
४. थारू समुदायमा माघीको ठूलो ऐतिहासिक अर्थ छ ।
यही दिनदेखि परम्परागत रूपमा कमैया (ऋणदास) प्रणाली अन्त्य भएको सम्झना गरिन्छ । त्यसैले माघी थारुहरुको मुक्तिको पर्व पनि हो ।
५. माघीको दिन गाउँसभा बस्छ ।
यसदिन वर्षदिनको लागि मुखिया, गुरुवा, चौधरी चयन गरिन्छ । माघीको दिन नै वर्षभरिको काम, सामाजिक नियम, विवाद समाधानका उपाय निकाल्ने गरिन्छ । यस कार्यलाई थारू समाजको स्थानीय सरकार जस्तै प्रणाली मानिन्छ ।
६.माघीमा थारूहरू सखिया नाच, झुम्रा नाच नाच्दछन भने ढोल, मादल, झ्यालीका तालमा युवायुवती नाच्छन् ।
७. माघीमा थारुहरु छोरी–ज्वाइँलाई बोलाउने गर्दछन् ।
आजकै दिनमा पुराना मनमुटाव मेटाउने र सबैलाई खिचरी खुवाउने चलन छ ।
यसरी थारूहरूको माघी नयाँ वर्ष, मुक्ति र स्वाभिमान, सामुदायिक एकता, संस्कृति र पहिचान समेटिएको जीवन्त सभ्यता हो र माघी थारू समाजको आत्मा नै हो ।