काठमाडौं । नेपाल सरकारका उपसचिव तथा वरिष्ठ समाजशास्त्री बल बहादुर घर्तीमगर र सामाजिक अभियन्ता माया रोका मगरद्वारा लिखित ‘मगरजातिको मानवशास्त्रीय वृत्तान्त’ नामक पुस्तक एक कार्यक्रम समारोह बिच विमोचन भएको छ ।

मगर जातीको उत्पत्ति, एतिहासिक यात्रा, सामाजिक–राजनीतिक संरचना र धार्मिक–सांस्कृतिक परम्परालाई समग्रमा पस्कनु यो पुस्तकको मुख्य उद्देश्य रहेको हो ।

मगर जातिको मानवशास्त्रीय वृत्तान्त नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आदिबासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगरले लेखकद्वय बल बहादुर घर्तिमगर र माया रोकामगरलाई बधाई दिर्दै आगामी दिनमा अझ नेपालका मगरको मात्र नभई विश्व भरिका मगर समुदायको उत्पत्ति र एतिहासको बारेमा खोजविन तथा अनुसन्धान गर्न शुभकामना व्यक्त गर्नु भयो। उहाँले आफू मगरात बाहिरको मगर भएको हुनाले धेरै पछि मगर संघसंस्थामा आवद्ध भएर मगर समुदायको संस्कृति, संस्कार, भाषा र परम्पराको बारेमा अध्ययनममन गर्न पाएको बताउनु भयो ।

अध्यक्ष थापामगरले देश तथा विदेशका बारेमा खोजविन गरेर लेख्ने लेखकहरु जस्तै मगर समुदायका लेखकहरुले पनि आफ्नो इतिहास, उत्पत्ति, संस्कृति तथा अस्तित्वलाई खोज अनुसन्धानको रुपमा लेख्न सके मगर समुदायको पहिचान मात्र होइन एतिहासिक लेखनशक्तिमा बल पुग्ने धारणा राख्नु भयो । आदिबासी जातिहरुको प्रायः इतिहास, उत्पत्ति संस्कृति, भाषा परम्परा र संस्कार केवल व्यवहारमा मात्र लागु हुने तर दस्तावेजमा खोज्दा नपाईने हुँदा यस्ता गहन विषयमा आदिबासी जनजाति मगरहरु लेखन क्षेत्रमा सक्रिय भएर लाग्न सल्लाह सुझाव समेत अध्यक्ष थापामगरले दिनु भयो ।

पुस्तक विमोचनका प्रमुख पात्रद्वय बल बहादुर घर्तिमगर र माया रोका मगरले पनि कार्यक्रममा बोल्दै लामो समयदेखि आफूहरुले खोजअनुसन्धान गरेर मगर जातिको मानवशास्त्रीय वृत्तान्त नामक पुस्तक प्रकाशन गर्न सफल भएको बताउनु भयो । लेखक बल बहादुर घर्तिमगरले लेखन आरम्भ गर्दा निकैनै अफ्ठयारा चूनौतिहरु सामना गर्नु परेको बताउनु भयो । मगर तथा मानव जातिको इतिहास, उत्पत्ति र उनीहरुको संस्कृति परम्परालाई अनुसन्धान गर्नकोलागि एउटा कल्पना गरेपनि काम गर्दै जाँदा तथ्यहरु फरक भैदिदा विभिन्न समस्या र चुनौति खेप्नु परेपनि अन्तीममा पुस्तक निकाल्न सफल भएको धारणा राख्नु भयो । उहाँले मगर समुदायको एतिहासिक परिपक्षलाई हेर्दा मगर जातीको प्रमुख अन्न जौ भएको बताउँदै मगर जातीको बहुआयामिक पहिचानलाई वैज्ञानिक र तथ्यपरक रुपमा प्रस्तुत गर्ने प्रयास गरेको लेखक घर्तिमगरले उल्लेख गर्नु भयो ।

त्यसैगरी लेखिका माया रोकामगरले पुस्तक विमोचन कार्यक्रममा बोल्दै आफूहरुले लामो समयदेखि खोज अनुसन्धान गरेर पुस्तक निकाल्न सकेको बताउनु भयो । समाजमा अहिले पनि लेख रचना पुस्तकको बारेमा झटट बुझ्दा महिलाले पनि लेखन सक्छन् भन्ने सोंचाईको विकास नभएपनि आफूले लामो समयदेखि ऐतिहासिक खोजअनुसन्धानमा रुची भएको हुँदा यसरी आज पुस्तक निकाल्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो। समाजमा अहिले पनि महिलामाथि हेरिने कमजोर मानसिकतालाई तोड्दै जानकोलागि महिलाहरु स्यंम यस्ता रचनात्मक, खोजअनुसन्धान तथा पुस्तकलेखनमा सक्रिय भएर लाग्नु पर्छ भन्ने उदाहरण बनेर देखाउन पनि आफू यसरी निरन्तर सक्रिय भएको लेखिका रोका मगरले बताउनु भयो साथै यो पुस्तक केवल एउटा जातीय अन्धययनको दस्तावेज मात्र नभई मगर समुदायको ऐतिहासिक चेतना, सांस्कृतिक पहिचान, सामाजिक संरचना र जीवनदर्शनलाई पुस्तान्तरण गर्ने अमूल्य ज्ञानका भण्डार भएको समेत उल्लेख गर्नु भयो ।

त्यसैगरी उक्त पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य एवंम लुम्बिनी प्रदेश सभा सदस्य मा. यमुना रोकाले लेखकद्वय बल बहादुर घर्तिमगर र माया रोकामगरलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । उहाँले कार्यक्रममा बोल्दै मगर समुदायको एतिहासिक पक्ष तथा उत्पत्तिलाई लेखकद्वयले दस्तावेशमा ल्याउन सकेकोमा नयाँ पिडिकोलागि मात्र नभई राज्य सरकारकालागि पनि कोशेढुङगा सावित हुने बताउनु भयो ।

उक्त पुस्तक विमोचन कार्यक्रममा अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नविन रोकामगरले मगर जातिको मानवशास्त्रीय वृत्तान्त नामक पुस्तकले मगर समुदायकालागि र समाजकोलागि एउटा गतिलो दस्तावेजको रुपमा दर्ज हुने बताउँदै लेखकद्वयलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

मगर जातिको मानवशास्त्रीय वृत्तान्त नामक पुस्तक समिक्षा डा. श्यामु थापामगर, डा.लाल बहादुर पुनमगर र अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नविन रोका मगरले गर्नु भएको थियो ।


कार्यक्रमको अध्यक्षता माया रोका मगरले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार देविका घर्तिमगरले गर्नु भएको हो । उक्त कार्यक्रममा अतिथिका रुपमा वरिष्ठ अधिवक्ता तथा नेपाल मगर संघका सल्लाहकार गौ बहादुर आलेमगर, समाजशास्त्री तथा नेपाल मगर संघका सल्लाहकार झकेन्द्र घर्तीमगर, माओवादी नेता तथा समाजसेवी शरद रोकामगर, नेपाल मगर विद्यार्थी संघका संस्थापक सदस्य संजोक लाफामगर लगायतको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा सम्मान समेत गरिएको थियो ।













