• फाल्गुन २३ २०८२, शनिबार

बंगलादेशले भन्याे, टी-२० विश्वकप खेल्न हाम्रा खेलाडी भारत पठाउँदैनाैं

पुष २९ २०८२, मंगलवार

काठमाडौँ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षा चिन्ताका कारण २०२६ को टी- २० विश्वकप खेलहरू भारतमा नखेल्ने आफ्नो अडानलाई दोहोराएको छ ।

आईसीसीसँगको भिडियो कन्फरेन्सपछि बोर्डले विज्ञप्ति जारी गर्दै बंगलादेशका खेलहरू भारत बाहिर सार्ने आफ्नो अनुरोध दोहोर्‍याएको बताएको छ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ टी- २० विश्वकप फेब्रुअरी ७ मा सुरु हुने तालिका छ ।

बंगलादेशले हाल आफ्नो पहिलो तीन खेल कोलकातामा र अन्तिम समूह खेल मुम्बईमा खेल्ने तालिका छ ।

बोर्डले भनेको छ- ‘आइसीसीसँगको छलफलको क्रममा, बीसीबीले सुरक्षा चिन्तालाई उद्धृत गर्दै भारत यात्रा नगर्ने निर्णयको बारेमा आफ्नो अडान पुन: राखेको छ ।

बोर्डले आईसीसीलाई बंगलादेशका खेलहरू भारत बाहिर स्थानान्तरण गर्ने विचार गर्न आफ्नो अनुरोध पनि दोहोर्‍याएको छ ।’

आईसीसीले प्रतियोगिताको कार्यक्रम पहिले नै घोषणा भइसकेको र बीसीबीलाई आफ्नो अडानमा पुनर्विचार गर्न अनुरोध गरे पनि, बोर्डको अडान पुरानै रहेको छ ।

आईसीसीले स्पष्ट रूपमा प्रतियोगिता नजिक आइसकेका र कैयौ खेलका टिकट बिक्रि समेत भइसकेको, खेलाडी र अफिसियलका होटल र फ्लाइटका टिकटसमेत बुक भइसकेको हुनाले खेल स्थलहरूमा परिवर्तन गर्न असम्भव रहेको स्पष्ट गरेको छ ।