• फाल्गुन २३ २०८२, शनिबार

यस्तो छ काँग्रेसको बन्दसत्रको कार्यतालिका

पुष २८ २०८२, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्द सत्र केहीबेरमा शुरु हुँदैछ ।  काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएको थियो भने आज बन्द सत्रको कार्यतालिका तय गरिएको छ ।

महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्द सत्र सुरु हुनेछ। आजको बन्द सत्रको सुरुवातमा विशेष महाधिवेशनको कार्यविधि निर्माण गर्ने तालिका रहेको छ । त्यसपछि ९ समूह निर्माण गरी चार विषयमाथि नीति मन्थन हुनेछ ।

चार विषयमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक विषयमाथि बृहत् छलफल हुने कार्यतालिका तय गरिएको छ । नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा पनि बृहत् छलफल हुनेछ । यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने बताइएको छ ।

त्यस्तै नयाँ नेतृत्व चयन गर्ने अवस्था बनेमा निर्वाचनको तयारी भने गरिएको छैन । नयाँ नेतृत्व चयन गर्ने निर्णय हलले गरेमा निर्वाचन समिति गठन गर्ने र प्रक्रिया अगाडी बढाइने आयोजकले बताएका छन् । तर मतदानबाट भन्दा पनि सर्वसम्मत नेतृत्व चयन हुने भन्दै मतदानको तयारी नगरिएको आयोजकले बताएका छन् ।

महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ८ बजेदेखि नै शुरु भएको छ भने ११ बजेसम्म दर्ता जारी रहनेछ । विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रदेश अनुसार अलग अलग ठाउमा महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने प्रबन्ध मिलाइएको छ । आइतबार २६६२ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनमा सहभागी हुन आफ्नो नाम दर्ता गरेका थिए । कांग्रेसका ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।