• फाल्गुन २३ २०८२, शनिबार

बालेनले छोडेको ‘लौरो कता हरायो ?’ भन्दै उदायो युवाको अर्को जमात

पुष २५ २०८२, शुक्रबार

काठमाडौं । २०७९ को स्थानीय तह निर्वाचनपछि अटेरी अभियान, लौरो अभियान, नागरिक विद्रोह हुँदै जेनजी २.० सम्म विभिन्न नाम र स्वरूपमा सक्रिय रहँदै आएको स्वतन्त्र राजनीतिक धार आज स्पष्ट एकतामा उभिएको छ ।

लामो समयदेखि उठ्दै आएको “लौरो कता हरायो ?” भन्ने प्रश्नको जवाफ आज बुढानगरमा सम्पन्न देशव्यापी भेलाले स्पष्ट रूपमा दिएको छ—लौरो हराएको होइन, स्वतन्त्र चेतनालाई एक ठाउँमा ल्याउने प्रक्रियामा थियो ।

आज सम्पन्न भेलामा ८३ जना स्वतन्त्र तथा लौरो उम्मेदवार र ११४ जना विभिन्न स्वतन्त्र अभियानका प्रमुख अभियन्ताहरू सहित करिब दुई सयको हाराहारीमा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । भेलामा सहभागीहरूले लौरो अभियान र स्वतन्त्र राजनीतिक धारलाई एउटै साझा प्लेटफर्ममा अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरे ।

भेलाले नयाँ शक्तिहरू आ–आफ्नै दिशामा छुट्टिएर हिँड्दा कहीँ पनि नपुगिने निष्कर्ष निकाल्दै अब एकता अपरिहार्य भएको स्पष्ट सन्देश दिएको छ ।
नयाँ शक्ति बन्ने धरोहर, जरा र इतिहास नबुझी अघि बढ्दा आन्दोलनहरू कमजोर हुने र दिशाहीन हुने चेतावनी पनि भेलाबाट दिइयो ।

लौरो अभियानका केन्द्रीय प्रवक्ता डा.हरि कार्कीका अनुसार आजको भेला केवल छलफल नभई राजनीतिक स्पष्टताको मोड हो ।

“२०७९ यता एउटै आन्दोलन विभिन्न नाममा निरन्तर संघर्षरत रह्यो । आज लौरो र स्वतन्त्र एकै ठाउँमा उभिएका छन् । टुक्रिएर होइन, एकजुट भएर मात्रै वैकल्पिक राजनीति सम्भव हुन्छ,” उनले बताए ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस भेलाले काठमाडौं महानगर प्रमुख बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीसहित समग्र नयाँ राजनीतिक धारलाई गम्भीर सन्देश दिएको छ । स्वतन्त्र राजनीति अब भावनामा होइन, संगठन, संख्या र साझा रणनीतिमा अघि बढ्ने संकेत आजको भेलाले दिएको उनीहरूको बुझाइ छ ।
भेलाबाट लौरो अभियानको भावी दिशा, स्वतन्त्र राजनीतिक शक्तिहरूबीचको समन्वय, साझा संरचना र आगामी रणनीतिबारे महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।