• फाल्गुन २३ २०८२, शनिबार

दुवै खुट्टा नभएका हरि बुढामगरले माउन्ट भिन्सनको सफल आरोहणसँगै बनाए अर्को कीर्तिमान

पुष २४ २०८२, बिहीबार

काठमाडौं । दुवै खुट्टा नभएका राेल्पाका पूर्वगोर्खा सैनिक हरि बुढामगरले अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनसहित सातै महादेशका सर्वोच्च शिखरहरुको सफल आरोहण गरेर कीर्तिमान बनाएका छन् ।

उनी सातै महाद्वीपका अग्ला हिमाल ‘सेभेन समिट’ पूरा गर्ने पहिलो ‘डबल एभब नि’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोही बनेका छन् ।

गएको डिसेम्बर २४ मा बेलायतबाट सहयोगीहरू अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पाको साथमा अन्टार्कटिका प्रस्थान गरेका बुढामगरले तीन दिनको कठिन आरोहणपश्चात् जनवरी ६ मा राति १० बजे चार हजार ८९२ मिटर उचाइको माउन्ट भिल्सनको सफल आरोहण गरेका हुन् ।

कृतिम खुट्टाको सहायताले हिंड्दै आएका उनले अन्टार्कटिकाको माइनस २५ डिग्री सेल्सियसको निकै चिसोमा समेत माउन्ट भिल्सन आरोहण गरेर ‘सेभेन’ समिट पूरा गरेका हुन् ।

अपाङ्गता भएकाहरुले पनि साहसिक काम गर्नसक्छन् भन्ने मान्यताका साथ हिमाल आरोहण अभियान सुरु गरेका बुढामगरले गत सन् २०२९ अगस्ट १३ मा युरोपस्थित मोन्ट ब्ल्यांक (४,८१० मिटर), सन् २०२० जनवरी ८ मा अफ्रिकाको किलिमन्जारो (५,८९५ मिटर), सन् २०२३ मे १९ मा एशियाको माउन्ट एभरेस्ट (सगरमाथा) (८,८४९ मिटर), सन् २०२४ जुन २८ मा उत्तर अमेरिकाको डेनाली (६,१९४ मिटर), सन् २०२५ फेब्रुअरी २२ मा दक्षिण अमेरिकाको एकोनकागुवा (६,९६१ मिटर) र सन् २०२५ अक्टोबर १८ मा ओसिनियास्थित कार्सटेन्ज पिरामिड (४,८८४ मिटर)को सफल आरोहण गरेका थिए ।

उनले डेनाली र कार्सटेन्ज पिरामिडको टुप्पोमा पुग्ने दुवै खुट्टा नभएका व्यक्तिमा पहिलो बनेर पर्वतारोहणको अर्को इतिहास पनि रचेका छन् ।ब्रिटिस सेनामा हुँदा अफगानिस्तानमा खटिएका बुढामगर बम आक्रमणमा परी दुवै खुट्टा गुमाउन पुगेका थिए । अपाङ्गता भएर पनि स्की खेल्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।