• फाल्गुन २३ २०८२, शनिबार

एसिया कब्जा गर्न नसकेपछि मादुराे पक्रेर ‘पिसाबकाे न्यानाेमा रमाउँदै’ ट्रम्प

पुष २४ २०८२, बिहीबार

गत शनिवार ट्रम्पको ‘डेल्टा’ फौजले भेनेजुयलामाथि फौजी आक्रमण गरेर राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतिलाई अपहरण शैलीमा संयुक्त राज्य अमेरिका पुर्‍यायो । त्यसको दुई दिन पनि बित्न नपाउँदै त्यहाँको अदालतमा उभ्यायो । अमेरिकाले ‘न्याय’ दिने बाचा गरे अनुसार मादुरोलाई अदालतमा उभ्याएको भनी ह्वाइट हाउसले पुष्टि गर्न खोज्यो पनि ।

तर अहिलेको विश्व अमेरिकी प्रचारमा विश्वस्त छैन । अमेरिकाले योजनावद्ध झुठो प्रचार गर्छ भन्ने आममानिसको विश्वास रहेको छ । हुन पनि अमेरिकाले रणनीतिक स्वार्थ परिपूर्तिका लागि ‘फेक प्रोपोगाण्डा’ अघि बढाउँदै आएको लामो इतिहास छ ।

पहिलो कार्यकाल जस्तै यस पटकको दोस्रो कार्यकालमा पनि ट्रम्पको व्यापार युद्ध नै प्राथमिकतामा परेको छ । यो उद्देश्य पूर्तिका लागि अमेरिकाले प्यासिफिक र विशेषतः इण्डोप्यासिफिक रणनीति सहयोगीसिद्ध हुने गरी अघि बढाएको थियो । मध्यपूर्व, दक्षिण एशिया र दक्षिणपूर्वी एशियाली क्षेत्र यो रणनीति कार्यान्वयनका कार्यक्षेत्र थिए र छन् पनि । तर अहिलेको विश्व अमेरिकाले सोचेको जस्तो छैन ।

लक्षित इण्डोप्यासिफिक रणनीति कार्यान्वयन गर्नुको सट्टा ट्रम्प ल्याटिन अमेरिकातिर किन मोडिनु पर्‍यो ? भेनेजुएलामा नै किन खनिनु पर्‍यो ? यसो हुनुमा विश्वमा भएका पछिल्ला परिवर्तनहरूले काम गरिरहेका छन् । शायद अमेरिकाको ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’को मिसन कार्यान्वयन अगावै पुनरावलोकनको चरणमा पुगिसकेको प्रतित हुन्छ ।

सुरूमा अमेरिका उत्तर तथा दक्षिणी अमेरिकी महादेशमा सापेक्ष मित्रता र भरोसाको सन्तुलन कायम राखेर ‘एशिया दहन’ गर्न इण्डो प्यासिफिक रणनीति तय गरी अघि बढेको थियो । सन् २०२५सम्म आइपुग्दा विश्वमा रूसी फौजी क्षमतामा अद्वितीय उन्नति, चीनको अकल्पनीय आर्थिक–सामरिक समृद्धि तथा भारत र ब्राजिलजस्ता देशहरूको अवश्यंभावी प्रगतिउन्मुख कदमले अमेरिकी एकल ध्रुवीय रणनीतिमा स्वभाविक ठूल्ठूला धक्का पुर्‍याउँदै आए ।

सन् १९९१ मा तात्कालिन सोभियत रूस १५ गणराज्यमा विभाजन भएपछि शीतयुद्धको अन्त्यसँगै एकछत्र राज कायम गर्दै आएको अमेरिकी एकल ध्रुवीय वर्चस्व त्यसैकारण पनि अबका दिनमा कायम छैन । तर अमेरिकाको भने सन् २००८–०१० तिर विश्वमा ‘जहाँ पनि’ ‘जे गरे पनि’ वाहीवाही पाएको ‘एकल बादशाह’को बानी हटेको छैन ।

सन् २०१५ पछिका दिनमा रूस, चीन, भारत, ब्राजिल तथा अन्य देशहरू पनि सैन्य, शस्त्रअस्त्र, जनसङ्ख्या, प्राकृतिक संसाधन उपयोग, विज्ञान प्रविधि तथा उद्योगधन्दाका हिसाबले निकै अघि बढेर आए । हालका दिनसम्म आइपुग्दा त अमेरिका ‘डिक्लाइनिङ फेज’मा पुगिसकेको आभाष हुन थालिसकेको छ । अमेरिकी दबदबा कतै पनि स्वीकार्य छैन ।

यस्तो अबस्थामा ‘निभ्न लागेको दियोको अन्तिम उज्यालो’ भन्ने नेपाली उखान झैं अमेरिका भएभरको शक्ति, बुद्धि र ताकत लगाएर आफूलाई जे गर्दा फाइदा हुन्छ, त्यही गर्न थालिसकेको छ । आफ्नो एकल दबदबा छँदा तेस्रो विश्व युद्धको ‘ब्याटल लाइन’ दक्षिण तथा दक्षिणपूर्वी एशियामा ‘इण्डोप्यासिफिक स्ट्राटेजी’ अन्तर्गत हुत्याउँदै ल्याइ पुर्‍याउन सफल अमेरिका अन्ततः दक्षिण अमेरिकामा ‘ब्याक’ हुन बाध्य भएको छ ।

शनिवार भेनेजुएलाको राजधानी काराकासमाथि मध्यरातमा गरिएको ‘डेल्टा फौजी हमला’ र राष्ट्रपति मादुरोको अपहरणले अमेरिकाको ‘रिट्रिट’ वा पछि हटाइ स्पष्टरूपमा उजागर गरेको छ । अमेरिका ‘इण्डो प्यासिफिक’ क्षेत्रमा लड्न आउँदा विकासक्रमसँगै वैश्विक प्रतिस्पर्धी चीन र रूसको उत्तर तथा दक्षिण अमेरिकासम्म बलियो पहुँच भइसक्नुले पनि अमेरिकालाई आफ्नै नजिक ‘रिट्रिट’ हुन बाध्य बनाएको देखिन्छ ।

एशियालाई तेस्रो विश्व युद्धको थलो बनाउने अमेरिकी मनशाय विश्व शक्तिकेन्द्रका स्वार्थ, पहुँच र शक्ति सन्तुलनका कारण अदलीबदलीको अवस्थामा छ । इण्डोप्यासिफिक रणनीति कार्यान्वयनमा बाधक देखिएका अमेरिकी प्रतिस्पर्धी भारत र चीनसँग नजिकैबाट सिङ्गौरी खेल्दै ताइवान, बाङ्गलादेश, नेपाल र भारतको ‘चिकन नेक’सम्म आइपुगेको अमेरिका अब आफ्नै महादेशको वरिपरिका छिमेकी देशमाथि आक्रामक र क्रुर बनेर पोखिन फर्किसकेको छ । यो बाध्यात्मक अमेरिकी ‘ग्रेट रिट्रिट’को अभिव्यक्ति हो ।

रूस–युक्रेन युद्धमा प्रत्यक्ष नमुछिएर चीनसँग व्यापार युद्ध गर्न अघि बढिरहेको अमेरिका अबका दिनमा युक्रेनको जिम्मा नेटोलाई छोडिदिएर भेनेजुएलामाथि आक्रमण गर्दै ल्याटिन अमेरिकातिर सोझिएको छ । यतिबेला चीन र रूसले अमेरिका भौगोलिक दुरीका हिसाबले केही धेरै टाढा पुगेको महसुस गरे पनि चीन–रूस–भेनेजुएला ‘त्रिमैत्री’ माथि अमेरिकी आक्रमणले पेचिलो वैश्विक तनाव भने सिर्जना गरेको छ ।

रूसले युक्रेनमाथि हमला गर्दा यसका विरूद्ध नेटो सङ्गठनको अगुवाइ नगरी शान्ति वार्ताको कुरा गर्ने अमेरिकाले भेनेजुएलामाथि आक्रमण गर्दा रूस चीनको सहयोगी नबन्ने अपेक्षा राखेको देखिन्छ । तथापि रसियाले भेनेजुएलामाथि अमेरिकी आक्रमणको विरोध भने गरिसकेको छ । चीनले त यो विषयलाई भिटो राष्ट्रका हिसाबले संयुक्त राष्ट्र सङ्घको स्थायी समितिसम्म पुर्‍याउने देखिन्छ ।

भेनेजुएलामाथि अमेरिकी आक्रमण त्यहाँ रहेको अथाह तेलखानीमाथि कब्जा जमाउनकै लागि हो । हालसम्म भेनेजुएला तेलखानीको धेरै ठूलो हिस्सा चीनले सञ्चालन गर्दै आएको छ । यस सन्दर्भमा भेनेजुएलामाथि अमेरिकी फौजी आक्रमणको आन्तरिक उद्देश्य चीनसँगको ह्वाइट हाउसको व्यापार युद्धकै अभिव्यक्ति हो ।

स्वरूपमा देख्दा यो क्रुर फौजी आक्रमण देखिए पनि आन्तरिक उद्देश्य भनेको भेनेजुएला कब्जा गरी त्यहाँको अथाह तेल भण्डारमाथि अमेरिकी हालीमुहाली कायम गर्नु हो । यसो गरेर चिनियाँ अर्थतन्त्र र उद्योगधन्दा धराशायी बनाउन सकिनेमा ट्रम्प विश्वस्त देखिन्छन् । ट्रम्पको आशय चीनसँग लड्ने भन्दा पनि अकल्पनीय रूपमा उकालो चढिरहेको चिनियाँ अर्थतन्त्रलाई धराशायी पारेर सिध्याउने कुरामा अमेरिकी सफलता निहित रहेको देखिन्छ ।

कुरा जे भए पनि ‘भेनेजुएला समस्या’ आज आएर मात्र सिर्जना हुन पुगेको होइन । पहिल्यैदेखि थियो । तर पहिलेका दिनहरूमा अमेरिका भेनेजुएलामाथि अतिक्रमण गरेर अमेरिकी भूमिमा सिमित हुन चाहँदैनथ्यो । तर परिस्थितिले कोल्टो फेरेपछि अतिमहाशक्ति अमेरिकाको यात्रा आफ्नै घरआँगनतिर सर्न पुगेको छ ।

त्यसैले पनि हुनसक्छ, ट्रम्प निकै ठूलो ‘रिट्रिट’सहित आफ्नै महादेशको वरिपरि साँघुरिन पुगेका छन् । यो ‘पछि फर्काइ’ ट्रम्पका लागि निकै महङ्गो साबित हुनेछ । पहिलो त उनी आफ्नै मानिसबाट पनि घेरिने छन् । आफ्नै भूगोलमा उनको रणनीति कैद हुन जानेछ । देशभित्रै र सिनेटमा पनि विरोधको सामना गर्नु पर्नेछ ।

यसले अमेरिकाको प्रजातान्त्रिक मूल्य, मान्यता र वैश्विक राजनीतिक छबी थप धुमिल बनाउने छ । अमेरिकी महादेश र युरोपीय जनमानसबाट ट्रम्प थप एक्लिने अवस्था सिर्जना हुँदै गएको छ । यस बिचमा उदाउँदो महाशक्ति चीन भेनेजुएलाको मामलालाई लिएर उत्तेजित रूपमा प्रस्तुत भएन भने अमेरिकी आन्तरिक राजनीतिक अन्तरविरोधले तीब्रता लिँदै जाने र ट्रम्पले महाअभियोगको सामना गर्नु पर्ने अवस्था पनि निम्तन सक्छ ।