काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमार झाँक्री राष्ट्रिय सभाको उम्मेदवार बन्ने भएकी छन् ।
एमालेले झाँक्रीलाई लुम्बिनी प्रदेशको महिला क्लस्टरबाट उम्मेदवार बनाउने भएको हो । एकीकृत समाजवादीकी पुर्व नेतृ झाँक्री एमाले प्रवेश गरेपछि हालै सम्पन्न महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
झाँक्रीले गुल्मी-२ बाट प्रत्यक्ष निर्वाचन लड्ने चाहना राखेपनि सो क्षेत्रमा पार्टी उपाध्याक्ष गोकर्ण विष्टनै उम्मेदवार बन्ने भएपछि उनलाई राष्ट्रिय सभामा उम्मेदवार बनाइएको हो । अध्यक्ष केपी शर्मा ओलीले झाँक्रीलाई राष्ट्रिय सभामा जान आग्रह गरेपछि उनले आज दाङ पुगेर उम्मेदवारी दर्ता गर्ने तयारी गरेकी छन् ।
राष्ट्रिय सभाका १८ सिटका लागि माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । यस निर्वाचनमा एमाले, काँग्रेस, नेकपा र जसपा नेपालले तालमेल गरेर जाने बताए पनि अहिलेसम्म सहमति हुन नसकेको बुझिएको छ । यस अघि कांग्रेस र एमालेले ७-७ सिट लिने, त्यस्तै नेकपाले ३ र जसपाले एक सिट लिने गरि छलफल भएको बताइएको छ । चारै दलबीच अहिले पनि छलफल जारी रहेको छ ।