• फाल्गुन २३ २०८२, शनिबार

भेनेजुएलामा अमेरिकी हस्तक्षेपपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकासियो

पुष २१ २०८२, सोमबार

काठमाडाैं । अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा लिएपछि अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ।

भूराजनीतिक जोखिम बढ्ने आशङ्काका बिच लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा लागेपछि सोमबार एसियाली बजारमा सुनको भाउ १.८ प्रतिशतले बढेर प्रतिऔंस करिब ३ हजार २८२ डलर पुगेको छ। सोही समयमा चाँदीको मूल्य पनि ३.५ प्रतिशतले बढेको छ।

सन् २०२५ मा सुन र चाँदी दुवैले ऐतिहासिक रेकर्ड कायम गरेका थिए। सन् १९७९ पछिको सबैभन्दा उत्कृष्ट वृद्धि देखिँदै डिसेम्बर २०२५ मा सुनको भाउ प्रतिऔंस ४ हजार ५४९ डलर ७१ सेन्टको उच्चतम बिन्दुमा पुगेको थियो।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने अपेक्षा, बैंकहरूले गरेको ठुलो परिमाणको सुन खरिद र विश्वव्यापी आर्थिक अनिश्चितताले वर्षभरि नै सुनको मूल्यलाई टेवा पुऱ्याएको हो।

यता भेनेजुएलाको घटनाक्रमपछि तेल बजारमा भने ‘पर्ख र हेर’ को अवस्था देखिएको छ। सोमबार मध्याह्न नेपाली समयअनुसार ११ः४५ बजे ब्रेन्ट क्रुडको भाउ ०.७९ प्रतिशतले घटेर प्रतिब्यारेल ६० डलर २३ सेन्टमा कारोबार भएको छ।

विश्वको कुल तेल उत्पादनमा भेनेजुएलाको हिस्सा १ प्रतिशतभन्दा कम रहेको र त्यहाँको तेल पूर्वाधार जीर्ण अवस्थामा रहेकाले यस हस्तक्षेपले तेलको मूल्यमा तत्काल ठुलो प्रभाव नपर्ने विश्लेषकहरूको तर्क छ।

यद्यपि, राष्ट्रपति ट्रम्पले भेनेजुएलाको तेल अमेरिकाले चलाउने घोषणा गरेसँगै आगामी दिनमा ऊर्जा बजारमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा अन्योल कायमै छ।