हामीले नगरे, कसले गर्ने, हाम्रो इतिहास हामीले नलेखे कसले लेख्ने भन्ने मूल मर्मसहित आवाज विहिनहरुको आवाजलाई मिडियाको मूलधारमा समेटिनु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

तीन दिनसम्म काठमाडौंमा सञ्चालित कार्यशाला गोष्ठिका सहभागीहरुले यस्तो विषयमा जोड दिएका हुन् । विशेषगरी मिडियाले आवाज विहिनहरुको आवाजलाई प्रमुख स्थान दिनु पर्ने कार्यशाला गोष्ठिको उद्देश्य रहेको थियो ।

राष्ट्रिय आदिबासी जनजाति अपाङग महिला संघ–नेपाल (निडवान)को आयोजनामा भएको ३ दिने कार्यशाला गोष्ठीमा पहिचान गर्न वेवास्ता गरिएका आवाजहरु भन्ने मूल नाराका साथ आदिबासी जनजाति, अपाङगता भएका व्यक्ति र सीमान्तकृत समूहको आवाजलाई मिडियामा मूलप्रवाहीकरण गरिनु पर्नेमा व्यापक छलफल भएको थियो ।

उक्त गोष्ठिमा आदिबासी जनजाति अपाङग महिला संघ–नेपालका अध्यक्ष प्रतिमा गुरुङले आदिबासी जनजातिको सञ्चारमा पहुँच र समावेशीकरणमा आदिबासी अपाङगता भएका व्यक्तिहरुको आवाजहरुलाई मिडियामा प्रमुख स्थान दिनु पर्ने बताउनु भयो ।

कार्यशाला गोष्ठिमा बोल्दै अध्यक्ष गुरुङले आदिबासी जनजाति अपाङगता भएका व्यक्ति र सीमान्तकृत समूहका आवाजहरु मिडियाको मूलधारमा किन आउन सकेको छैन भनेर सहभागी पत्रकाहरुमाँझ प्रश्न गर्नु भएको थियो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहनु भएकी गुरुङले नेपालको आदिबासी जनजाति महिलाको आवाज, सञ्चार प्रभावकारी बनाउन र संयुक्त राष्ट्र संघको युएनड्रीपलाई नेपालमा कार्यन्वयन गर्न सहयोग पुराउने बताउँदै अपाङगता भएकाहरु मध्ये पनि आदिबासी अपाङगताको मुद्धाहरु पहिचान खुल्नेगरी मिडियामा आउनु पर्नेमा जोड दिनु भयो ।

इण्डिजिनियस टेलिभिजनका सम्पादक तथा वरिष्ठ पत्रकार कुमार यात्रुले मिडियामा भएको उपनिवेशीकरणलाई औपनिवेशीकरणबाट मुक्त हुन आदिबासी जनजाति पत्रकाहरु सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । वरिष्ठ पत्रकार यात्रुले कार्यशाला गोष्ठिमा कार्यपत्र प्रस्तुत गर्दै उपनिविशीकरणबाट मुक्त हुनु पर्नेमा जोड दिर्दै यूएन ड्रीपको धारा १६ मा आदिबासी जनजातिको सञ्चारमा पहुँचको कुरा कसरी सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले पूर्व जानकारी कसरी प्राप्त गर्ने, एफपीक अधिकारको प्रयोग कसरी गर्ने भन्ने कुरामा समेत उल्लेख गर्नु भएको थियो । मूलधारका सञ्चारमाध्यममा आदिबासी तथा अपाङता, महिला, मधेशी, दलित लगायतका विषयलाई अहिले पनि ओझेलमा पारेको बताउँदै यस्ता विषयमा स्यम आदिबासी जनजातिका पत्रकारहरुले खोज अनुसन्धान गर्दै आफ्ना मुद्धाहरु उठान गर्नुपर्नेमा जोड दिनु भयो । त्यति मात्र नभई वरिष्ठ पत्रकार यात्रुले आदिबासी जनजातिका प्रथाजनित परम्परागत मुद्धाहरु लेखनका रुपमा प्रयोगशाला लानु पर्ने कुरा उठाएर ओझेलमा पार्न खोजेको बताउँदै प्रथाजनित परम्परागत मूल्य मान्यताहरु प्रयोगशालामा प्रयोग नभई विश्वासमा टिकेकाले त्यस्ता तर्क, भनाईहरुलाई आदिबासी जनजाति पत्रकारहरुले विश्वास गर्न नहुने बताउनु भयो ।

कार्यशाला गोष्ठिका अर्का वक्ता कृष्ण गहतराजले अपाङगता भएका व्यक्तिहरुको पहिचान एकै प्रकारको नभएकाले विश्लेषण गरेर मात्र लेख्नु पर्ने बताउनु भयो । विश्व स्वास्थ्य संगठनको कार्यविधि, साझा अवधारणा मूल मर्मलाई टेकेर काम गर्नु पर्ने बताउँदै मिडिया पहिचानको महत्वपूर्ण माध्यम भएको हुँदा त्यसभित्रका पहुँच र विविधताका गहिराई खोज्नु पर्नेमा जोड दिनु भयो । कार्यशाला गोष्ठिमा बोल्दै गहतराजले अन्तरक्षेदिय पहिचान गरिएका ठाउँहरु वेवास्ता गरिएका आवाजहरुलाई मिडियाले खोजअनुसनन्धान गरी कलम चलाउनु पर्ने बताउँदै आदिबासी जनजाति र दलितभित्र पनि अपाङगता भएका व्यक्तिहरुको भावना र पहिचानलाई बुझ्न नसकिरहेको बताउनु भयो ।

अपाङता भएका व्यक्तिहरुको सवालमा समाचार सम्प्रेषणका क्रममा च्यारिटी, वेलफेर, दया जस्ता शब्दावलीको प्रयोगले अपाङगता व्यक्तिहरुमाथि अपहेलित हुने गरेको कार्यशाला गोष्ठिका वक्ता गहतराजको भनाई छ । अपाङगता पूर्व जुनिको पाप हो भनेर पन्छिने प्रवृतिले अपाङताहरुको आर्थिक, सांस्कृतिक, सामाजिक, रुपमा अगाडि बढ्न बाधक भएको समेत गहतराजले बताउनु भयो।

कार्यशाला गोष्ठिमा लेखक तथा अनुसन्धाता जेवी विश्वकर्माले दलित र सीमान्तकृत समूहको आवाज र मिडियामा प्रतिनिधित्व विषयमा बोल्दै मूलधारका मिडियाहरुले अहिले पनि आवाज विहिनहरुको आवाजलाई समेट्न नसकेको बताउनु भयो । देशमा आर्मूल परिवर्तन भएपनि राज्यदेखि पछि परेका सीमामन्तकृत समुदाय, महिला, दलित तथा उत्पीडित परेका व्यक्तिहरुको आवाजलाई मूलधारका मिडियाले वेवास्ता गरेको बताउँदै यस यस्ता विषयमा स्यंम पछाडि परेका समुदायहरुनै लाग्नु पर्ने उल्लेख गर्नु भयो । मूलधारका मिडियाले शक्तिसँग केन्द्रीत र राजनीतिक विषयलाई बढी महत्व दिने र दलित, सीमान्तकृत समुदाय तथा आदिबासी अपाङगताका सवाललाई पहिचान नगरेको बताउनु भयो ।

कार्यशाला गोष्ठिमा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेले पछिल्लो पटक मिडियाका धेरै समाचार स्रोतहरु आचार संहिताभन्दा बाहिर गएर सम्प्रेषण गरेको बताउनु भयो । यसरी आचार संहिताभन्दा बाहिर गएर लेखिएका समाचारप्रति समाजले हेर्ने दृष्टिकोण नराकात्मक रहेको काफ्लेको भनाई छ । उहाँले कार्यक्रममा बोल्दै ब्राहणवादी चिन्तन र पितृसत्तात्मक सोंच भन्दामाथि अझै नेपाली मिडिया उठ्न नसकेकोमा दुःख व्यक्त गर्नु भयो । मिडिया हावसहरुमा अहिले पनि महिला, सीमान्तकृत सहभागीताका सवालहरुमा सर्वेक्षण गर्दा महिला सम्पादक र आदिवासी सम्पादकहरु औंलामा गन्न सकिने र अल्पसंख्यक व्यक्तिहरुको समाचार नै सञ्चारमाध्यममा आउन नसक्नुको कारण पितृसत्तात्मक सोंचको कारण भएको स्पष्ट पार्नु भयो ।

त्यसैगरी उक्त कार्यशाला गोष्ठिमा क्रियाशील पत्रकार महिलाका अध्यक्ष तथा अन्नपूर्ण पोष्टका डेष्क सम्पादक रामकला खड्काले नेपालको सिमान्तकृत समूदायको आवाजहरु आउने कुरा अझै शंकाको घेरामै सीतिम रहेको बताउनु भयो । देशमा आमूलपरिवर्तन भइसक्दा पनि मूलधारको सञ्चारमाध्यममा अहिले पनि सीमान्तकृत समुदायको आवाज आउन नसक्नु इलिट वर्गको हालीमुहाली भएको खड्काको भनाई थियो । मूलधारका प्रायः सबै मिडियामा समाचार सम्पादन गर्ने ठाउँमा पुरुष सम्पादकहरुकै बाहुल्यता रहेको हुनाले सीमान्तकृत समुदायका आवाजहरु नसमेटिएको बताउँदै जति सक्दो चाँडो आवाज विहिनहरुको आवाजलाई समेटिने खालको मिडिया बनाउन राज्य, तथा स्यम पछाडि परेका समुदायहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो।

उक्त कार्यशाला गोष्ठिमा आदिबासी जनजाति पत्रकार संघका प्रथम अध्यक्ष खिम घले, आदिबासी जनजाति पत्रकार संघका पूर्व अध्यक्ष डण्ड गुरुङ, इण्डिजिनियस मिडिया फाउण्डेशनका अध्यक्ष देवकुमार सुनुवारले आदिबासी जनजाति अपाङगता भएका व्यक्ति र सीमान्तकृत समूहका आवाजहरु मिडियाको मूलधारमा आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै आदिबासी जनजाति पत्रकारहरु सक्रिय भएर लाग्नु पर्ने साथै आदिबासीहरुले सञ्चारमाध्यम र सञ्चारकर्मीहरुकालागि स्रोत साधानको व्यवस्था गर्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यशाला गोष्ठिमा विभिन्न सञ्चारमाध्यमबाट सञ्चारकर्मीहरु सहभागीता रहेको थियो । उक्त कार्यशाला गोष्ठि इण्डिजियस टेलिभिजन नेपालको सहयोग र अल्पसंख्याक अधिकार समूहहरुको संस्था (माइनोरीटी राइट्स् गु्रप्स्को आर्थिक सहयोगमा भएको हो ।फोटो–रोमन बुढामगर











