काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निड्वान) ले ‘आदिवासी अपाङ्गता भएका व्यक्ति र मिडिया बिउपनिवेशीकरण’ विषयमा तीन दिने अन्तरक्रियात्मक कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । आज भएको पहिलो दिनको कार्यक्रम हो ।
आदिवासी जनजाति समुदायका लागि काम गर्दै आएका वरिष्ठ पत्रकार, सम्पादक तथा सञ्चारकर्मीहरूको उपस्थितिमा आदिवासी समुदायभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, ज्ञान र कथालाई मिडियामा समेट्नुपर्ने तथा अपाङ्गता भएका व्यक्तिलाई अन्य सरह अवसर दिनुपर्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा ४ दर्जन बढीको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै निड्वानका सल्लाहकार कृष्ण गहतराजले अपाङ्गता एउटा अवस्था मात्र भएको उल्लेख गर्दै अपाङ्गताभित्र रहेको विविधतालाई खोजी गर्नुपर्ने बताए ।
उनले अपांगता भएकाहरुको अस्तित्वको संरक्षणका लागि आदिवासी मिडियाले अहिले नै मिडियामा विश्वसनीयता कायम गर्दै सुरुवात गर्नुपर्ने धारणा राखे । साथै, अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त वातावरण निर्माण गर्नुपर्ने र अपांगता भएकाहरुको इतिहास आफूले नै लेख्नुपर्ने आवश्यकता औँल्याए ।
त्यसैगरी, इन्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी कार्यक्रम निर्माता तथा सञ्चारकर्मी कुमार यात्रु तामाङले मिडियामा जरा गाडेर बसेका उपनिवेशवादी सोच, भाषा, शक्ति संरचना र प्रतिनिधित्वका विषयमा आजको दिनमा गम्भीर छलफल आवश्यक रहेको बताए ।
उनले मिडियाले आफ्नो फ्रेमिङ परिवर्तन गर्नुपर्ने र अपाङ्गता भएका आदिवासी जनजातिका विषयवस्तुलाई ‘अव्जेक्ट’ होइन ‘सब्जेक्ट’का रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
नेपाली मिडियामा तपाईंले गरिरहनुभएको अभ्यास के छ हामी हाम्रो रिपोर्टिङलाई कसरी विऔपनिवेशीकरण गर्न सक्छौँ ? यसका लागि कसले के गर्नुपर्छ ?,सञ्चारकर्मीहरूले के भूमिका खेल्न सक्छौं ? अपाङ्गता भएका आदिवासी, आदिवासी महिला, युवा तथा किशोरीका लागि मिडियाको कस्तो एजेन्डा हुनुपर्छ ?,आदिवासी मुद्दा र सवाललाई अब आदिवासी सरोकारमा अब के गनुपर्ला ?, जस्ता प्रश्नहरूमा केन्द्रित रहेर सामूहिक छलफल गरिएको थियो ।
यी प्रश्नहरूमा आधारित रहेर सञ्चारकर्मी डण्ड गुरुङ, खिम घले तथा सम्पादक विष्णु तामाङले आ–आफ्ना धारणा राखेका थिए ।
उनीहरूले शारीरिक रूपमा सहभागिता जनाउँदै आफ्नै सीप विकास गर्दै अगाडी बढ्नुपर्ने र आफ्ना मुद्दालाई आदिवासी मिडियामार्फत् समाचारका रूपमा प्रकाशन गरेपछि मुख्यधारका मिडियाले पनि कभर गर्न सक्ने बताए ।
कार्यक्रमको अन्त्यमा इन्डिजिनियस टेलिभिजनका सञ्चारकर्मी देव सुनुवारले मानव जीवन सञ्चार बिना अपूरो हुने उल्लेख गर्दै आफ्नै आदिवासी जनजातिभित्र लुकेर रहेका विषयवस्तुलाई मिडियामा सामग्रीका रूपमा प्रस्तुत गर्दै अघि बढ्नुपर्ने धारणा राखे । साथै, अध्ययन तथा अनुसन्धानका क्रममा पनि आदिवासी जनजातिका समस्या, ज्ञान, सीप र प्रतिभालाई विषयवस्तु बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।
अन्त्यमा निड्वान संस्थाका संस्थापक प्रतिमा गुरुङले उक्त अन्तरक्रियात्मक कार्यक्रम पुस १२ र १३ गते पनि सञ्चालन हुने जानकारी दिँदै यस्ता छलफललाई विषयगत रूपमा पुनः सञ्चारकर्मीहरूसँग निरन्तर अगाडि बढाउने प्रतिबद्धतासहित कार्यक्रम समापन गरेकी थिइन् ।